आज रामे र सुन्तली दुवैका आँखा काँचैछन । रातभरि सिरक तानातान् गर्नुपरेको थियो ।
दार्जिलिंगको जाडो, लजवालाले सानो चौडाईको सिरक दिएछ, पहिले पत्तै भएन, लौ हजुरहरू यहाँ सुत्नोस् है भनिराखेर उ गै हाल्यो । सिधासाधा मान्छे सुतेपछि सिरक ओडदा दुईजनाकै ढाड छोपिएन ।
घरी रामे आछुछु भन्छ र सुन्तलीलाई रित्तैपारेर पोको पर्छ, घरि यो बुढोपनि कस्तो स्वार्थी हौ ? तिमीलाई पनि जाडो हुन्छ होला सम्म पनि नभनी सबै सिरक एक्लै पो ओडेर सुत्छ त हौ ? भन्दै सुन्तली आफूतिर सिरक खोसेर पोकोपर्छे । निदाउन आँटेको रामे मुरमुरिन्छ । यसरी नै दुवैको आँखा नलाई रात बित्यो ।
उठेर दुबैजना बाटालागे । रामेले र सुन्तलीले मन-मनमा एउटै कुरा खेलाई रहेका हुन्छन् तर दुवैलाई हामी एउटै कुरा सोचिरहेका छौं भन्ने थाहै थिएन । कुरा उनीहरूको विवाह भएकै सालको हो । लगभग पन्ध्रबर्ष भयो होला यस्तै जाडो महिना थियो । ससुराली जाँदा यसरी नै बाटोमा बास बसेको लजमा त्यो बेलापनि यस्तै सिरकमा फेला परेका थिए तर त्यो बेला रामेले सुन्तलीलाई डडाल्नु छाम्दै आमम् तिमी त हिउ भएछौ भन्दै आफु नांगिएर उसलाई सिरकले छोपिदिन्थ्यो अनि सुन्तलीले फेरि रामेको ढाड छामेर हेर त राम-राम राम हिउँभन्दा नि चिसो भएछ लु ओढ भन्दै रामेलाई सिरकले छोपेर आफु नांगै हुन्थी ।
तर आज दुवैजनाले आ-आफ्नो ज्यानको मायाँगर्दै लड्डि गरेर निदाएका थिएनन् । उसबेला एकले अर्कालाई कसरी माया गरिनथ्यो ? तर आज हामी नै हौं फेरि किन हामी बिचमा यत्रोठुलो परिवर्तन ? दुवैजना मनमनमा यहीकुरो गोडिरहेका थिए रै पनि दुवैजना एक अर्काको मनभित्रको कुरोसित भने अनभिज्ञ नै थिए ।
वि.सं.२०७६ माघ ४ शनिवार ११:२९ मा प्रकाशित






























