६ माघ, काठमाडौं । प्रतिनिधिसभा सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। संघीय संसद् सचिवालयले सोमवार सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार माघ ७ गते सभामुख पदका लागि दलहरुले प्रस्ताव गर्नुपर्नेछ । सोही दिन अपहराह्न साढे २ बजे दर्ता क्रम अनुसार उम्मेदवारको नामवली प्रकाशन हुनेछ ।
माघ १२ गते दलहरूले प्रस्ताव गरेका उम्मेदवारका विषयमा निर्वाचन हुनेछ। एक उम्मेदवारको मात्र प्रस्ताव भएमा निर्विरोध सभामुख चयन भएको मानिनेछ।
जेष्ठ सदस्यको हैसियतले राजपाका नेता महन्थ ठाकुरले प्रतिनिधिसभामा सभामुखको जिम्मेवारी सम्हाल्दै सभामुखको निर्वाचनको मिति घोषणा गरेका थिए। सभामुखको कार्यतालिका सार्वजनिक गर्न उनले संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएपछि सचिवालय कार्यतालिका सार्वजनिक गरेको हो ।
नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ । यता नेपाली कांग्रेसले पुष्पा भुसाललाई सभामुखको उम्मेदवार बनाउने चर्चा छ ।

वि.सं.२०७६ माघ ६ सोमवार १७:०९ मा प्रकाशित






























