चोट बहुत पाउँदा भन्थे
खुकुरीको चोट अच्चानोलाई के थाहा ?
भाव त विरह कै हो
व्यथा त अच्चानो कै हो
तर खै !
के गर्न सक्यो र अच्चानोले
चोईटिनु सिवाय, खिईनु सिवाय
हान्नेले हानिरह्यो ।
खुकुरीले मात्र हैन
बाम्फोकले हान्यो, खुर्पाले हान्यो
ठूलाले त हान्यो, हान्यो
हुँदाहुँदा कर्दले हान्यो
खुर्मीले हान्यो
देन त कति थियो नि
बिचरा अच्चानोको ।
हाड टुक्रायो मासु टुक्रायो
पौष्टिक दिलायो
अनेक रस पिलायो
कसैले बुझेन कि ?
व्यथा अच्चानोको
बिर्सन त बिर्सदैंन अच्चानोले
सयौं धारिला चोटहरुको व्यथा
टुक्रिएका आफ्ना जीवनकथा ।
तर गर्न के सक्छ र ?
टुक्रिरहन्छ चोईटिरहन्छ
खिईन्छ पोलिन्छ
अस्तित्व खरानी हुन्छ
सखुवा,चिलाउने भए
खप्थ्यो अलि धेरै समय ।
निर्जीव अच्चानो
धेरै चोट खाएको देख्दा
कहावत बन्यो सजीव व्यवहारहरुमा
आत्मा अनि अच्चानो
समानार्थी ठानी
बने कैयौं सिद्धान्त
तर कसैले बुझेनन् कि ?
व्यथा अच्चानोको ।
खुकुरीको धार दोब्राईदिने गरि
अच्चानो बन्नुपर्छ
अच्चानो त फलामकै हुनुपर्छ
न चोट न घातले टुक्राउन सक्छ
अच्चानो म,
प्यारले चोईट्यायो,व्यवहारले हुँडल्यो
आफ्नाले बजार्यो, नाताले पछार्यो
सबको अच्चानो,
हानिरहे, अच्चानिरहें ।
चोईटिएका कथा लेख्दै
टुक्रिएका व्यथा पोख्दै
हिडें, झनै अच्चानिएँ
उप्रान्त कुनै पल
चोईटिन्न,खिईन्न,टुक्रिन्न
अब हान्दा कोमल ठानी
पत्थर बनिसक्छु,फलाम भईसक्छु
चोईटिन्न भावी प्रहारहरुमा
किनकी भुलिसकेको हुनेछु
व्यथा अच्चानोको ।
सूर्योदय न.पा. ७ गोगने
वि.सं.२०७६ माघ २५ शनिवार ०९:५६ मा प्रकाशित





























