३ फागुन, काठमाण्डौं । नेपाली सेनाका उच्चतहका अधिकारीहरुले राजीनामा दिने क्रम बढेको छ । सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा ४९ जना उच्च अधिकारीहरुले राजिनमा दिएका हुन् ।
रक्षा मन्त्रायलका अनुसार छोटो समयमा यतिधेरै सैनिक उच्च पदाधिकारीहरुको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक भएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।
राजिनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, प्रमुख सेनानी, महासेनानी, सहायकरथी देखि उपरथीसम्म रहेका छन् । प्राविधिक उपरथी सुधीर राईले केही समयअघि मात्र राजीनामा दिएका थिए । यस्तै, केही महासेनानीसहित अन्य अधिकृत तहका अधिकारीहरुले समेत राजीनामा गरेका छन् ।
तथ्यांक अनुसार साउनमा ४, भदौ र असोजमा १\१, कात्तिकमा १७, मंसिरमा १६, पुसमा १० जना सेनाका उच्च अधिकारीहरुले राजीनामा दिएका हुन् । अधिकतरले घरायसी कामलाई राजीनामा दिनुको कारण उल्लेख गरेका छन् । तर स्रोतका अनुसार प्रधानसेनापति पुर्णचन्द्र थापाले थालेको कदममाथि असन्तुष्ट जनाउँदै राजिनामा दिन थालेका हुन् ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने संगठनमा माथि जाने बाटो सकिएकाले अवकाशपछि अन्य ठाउँमा जागिर नपाउने हुनाले उनीहरुबाट राजिनामा आएको दावी गरे ।
वि.सं.२०७६ फागुन ३ शनिवार ०८:१६ मा प्रकाशित






























