३ फागुन, काठमाण्डौं । गत भदौ २५ मा समानुपातिक सांसद विमला विश्वकर्माले प्रतिनिधसभाको शून्य समयमा बोल्ने कुरा टिपोट गरेकी थिइन् । बोल्दाबोल्दै समय सकियो । जति बोलिन्, त्यसबाट उनले के बोल्न खोजेकी थिइन् भन्ने अनुमान मात्र गर्न सकिन्छ ।
भदौ ५ मा प्रतिनिधिसभाको शून्य समयमै सांसद कुमारी मेचे नोट हेरेर बोल्न थालेकी थिइन् । सुरुमै अलमलिइन् । अकमकिदै बोल्दा समय र विषयवस्तुमा ध्यान दिन सकिनन् । बोलि नसक्दै समय सकियो ।
साउन २५ मा सांसद पूर्णकुमारी सुवेदीले पनि शून्य समयमा बोल्दा बोल्दै समय सकिएको थियो ।
यस्ता घटनालाई लिएर महिला सांसदले बोल्न नजानेको र राज्यका समानुपातिक समावेशी प्रणाली प्रभावकारी नभएको सामाजिक सन्जालमा टिका टिप्पणी भए । सांसद् सुजाता परियाले सांसद भवनमा ‘एसी’ नचलेको बारे बोल्दा आफ्नै सुख सुविधाका विषयमा मात्र बोलेको भनि आलोचना भयो । कतिपय सांसदले त निर्धक्क र स्पष्टसँग आफ्ना भनाइ राख्न अझै नसकेको पनि शनिबारको कान्तिपुर दैनिकमा समाचार छ ।
यसै विषयमा सांसदमा कुरा राख्नु अगाडि धेरैपल्ट पढ्ने गरेको कुमारी मेचे बताउँछिन् । भदौ ५ मा साथीको सहयोगमा हतारहतार टिपोट गरेको कुरा पढ्दा अलमलिएको उनी बताउँछिन् ।
त्यस्तै सांसद विमला विश्वकर्माले पनि अरुबेला फेहरिस्त सुनाउने बानी परेकाले संसद्मा सीमित समयमा कुरा बताउन खोज्दा मूल विषय ओझेल परेको बताउँछिन् भने सांसद् लक्ष्मी कुमारी चौधरीले बेला–बेला प्रशिक्षण दिए संसद्मा खुलेर बोल्न सकिन्छ कि भन्ने धारणा राख्छिन् । त्यसो नहुँदा जति समय पाए पनि धकाउनु पर्ने उनी बताउँछिन् ।
त्यसैगरी सांसद सुजाता परियारले आफुहरुले चाहिने कुरा नै उठाइरहेको बताउँदै सामाजिक सन्जालमा त्यसलाई उडाउने हिसाबले प्रचार गरिएको बताउँछिन् ।
वि.सं.२०७६ फागुन ३ शनिवार ०८:३६ मा प्रकाशित






























