७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसी सम्झौता संसदको कार्यसूचीमा राख्न आग्रह गरेका छन् । एमसीसी पारित गर्नुपर्ने अन्तिम मिति नजिकिदै गर्दा ओलीले टेबुल गर्न सभामुखलाई आग्रह गरेका हुन् । एमसीसी यहि फागुन १२ गतेभित्र पारित गरिसक्नुपर्ने छ ।
प्रधानमन्त्रीले सभामुखलाई एमसीसीबारेमा के गरिरहनु भएको छ ? भनेर सोधेका थिए । प्रधानमन्त्रीले एमसीसी सधनमा टेबुल गर्दै गरौं, कार्यदलको सुझाव आउँदै गर्छ भन्दा जवाफमा सभामुख सापकोटाले ‘सल्लाह गरेर तयारी गर्छ’ भनेको स्रोतको दाबी छ । सापकोटाले एमसीसीबारे अध्ययन गर्नका लागि बनाएको कार्यदलको सुझाव आएपछि सधनमा टेबुल गर्दा सकारात्मक सन्देश जाने भएकोले विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
यता एमसीसीबारे बहस जारी रहँदा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले यसमा कुनै संशोधन गर्न नसकिने बताउँदै आएका छन् । कार्यदलले भने संसोधन विना पास गर्न नमिल्ने संकेत गरिरहेका छन् । यसअर्थ एमसीसीले यो हप्ताभरी प्रधानमन्त्री ओलीलाई तनाव दिने निश्चित छ ।
प्रधानमन्त्री ओलीले एमसीसी जसरी पनि पास गर्ने पक्षमा छन् । नेकपा नेताहरु भने एमसीसीलाई लिएर ३ धारमा बाँडिएका छन् । एउटा पक्ष एमसीसी जसरी पनि पास गर्नुपर्छ भन्नेमा छन् भने अर्काथरी पास गर्नै नहुने बताउदै आएका छन् । संसोधनसहित पारित गर्नुपर्ने मत राख्नेहरु पनि छन् ।
तर अमेरिकी राजदूत बेरीले संसोधनको संभावना नरहेको बताउँदै आएकोले एमसीसी विना संसोधन पारित हुने सम्भावना बढेको छ ।
वि.सं.२०७६ फागुन ७ बुधवार १४:४६ मा प्रकाशित






























