१२ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संविधान संशोधन, मन्त्रिमण्डल पुनर्गठन र समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।
शनिबार बसेको सचिवालय बैठकले संविधान संशोधन गर्नका लागि वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल संयोजक रहेको कार्यदल बनाएको थियो । सोही विषयमा नेकपाभित्र र बाहिर विवाद चर्किएको छ । राष्ट्रियसभा सदस्यलाई समेत प्रधानमन्त्री बन्ने बाटो खुलाउनको लागि मात्र संविधान संशोधन गर्दा विवाद चर्किने देखिएपछि ओली र प्रचण्डबीच मधेशबादी दलले उठाएका एजेण्डालाई पनि संशोधनमा समेट्ने सहमति भएको छ ।
त्यसैगरी ओली र प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनबारे पनि छलफल भएको बालुवाटार स्रोतको दाबी छ । दुई अध्यक्षबीच तत्काल खाली रहेका २ मन्त्रालय सञ्चार र शहरी विकासमा तत्काल मन्त्री नियुक्त गर्ने र दोस्रो चरणमा कार्यसम्पादन कमजोर रहेका मन्त्रीहरुलाई विदाई गरेर नयाँ मन्त्री नियुक्त गर्ने विषयमा सहमति भएको छ ।
बालुवाटार स्रोतका अनुसार सञ्चारमा पूर्व एमाले र शहरी विकासमा पूर्व माओवादी नेतालाई पठाउने तयारी भएको छ । सञ्चारमा डा बेदुराम भूषाल र खगराज अधिकारीको चचा छ भने शहरी विकासमा पम्फा भूषाल, हरिवोल गजुरेल र देवेन्द्र पौडेलको नाम चर्चामा छ ।
प्रधानमन्त्री ओलीले यसअघि मंसिर १५ मा ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए । सरकारका कामलाई प्रभावकारी बनाउन पछिल्लो चरणमा उनले नियुक्त गरेका बाहेक केही मन्त्री हेरेफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएका छन् । ओली र प्रचण्डबीच फागुनभित्रै मन्त्रिमण्डल हेरफेर गर्ने सहमति पनि भएको छ ।
वि.सं.२०७६ फागुन १२ सोमवार १२:०२ मा प्रकाशित






























