२१ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । बुधबार बिहान साढे १० बजेदेखि शुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् ।
भाञ्जी समीक्षा संग्रौलाको शरीरबाट निकालिएको देब्रे मिर्गौला ओलीको शरीरमा प्रत्यारोपणपछि काम गर्न थालेको एक चिकित्सकले बताए।
नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रधानमन्त्रीले पिशाव पनि फेरेको चिकित्सकले जानकारी दिए । अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको बताइएको छ । अबको केहीबेरमा प्रत्यारोपणको सबै काम सकिने चिकित्सकले बताए ।
टाँका लगाइसकेपछि डेढ दुईघण्टामा होस आउने छ । अस्पतालले साढे चार बजे पत्रकार सम्मेल गरेर विस्तृत जानकारी गराउने जनाएको छ ।
१२ वर्षअघि भारतमा पहिलो पटक ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । यससँगै ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलासहित तीन मिर्गौला थिए । आज मिर्गौला प्रत्यारोपण गरिएसँगै उनको शरीरमा चार वटा मिर्गौला रहेका छन् ।
वि.सं.२०७६ फागुन २१ बुधवार १५:१४ मा प्रकाशित






























