
११ चैत, काठमाण्डौं । चितवनको कोरोना विशेष अस्पतालमा एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
९ चैतमा कोरोना अस्पताल भरतपुरमा ल्याईएका ती युवालाई कोरोना भाइरसको आशंकामा भर्ना गरेर उपचार सुरु गरिएको थियो । त्यहाँ आएको डेढ दिन मै आज (मंगलबार) बिहान ७ बजेतिर उनको मृत्यु भएको हो । उनको स्वाव टेष्टको लागि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा पठाइएको छ ।
उनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो वा अन्य कारणले भन्ने कुरा रिर्पोट नआइकन भन्न नसकिएको अस्पतालका प्रमुख डाक्टर भोजराज अधिकारीले संसारन्युजलाई जानकारी दिएका छन् ।
‘उहाँ पहिलेदेखि नै बिरामी हुनुुहुन्थ्यो । किड्नीमा समस्या रहेको थियो । कोरोना भाइरस संक्रमण भएर हो वा अन्य कारणले भन्ने रिर्पोट नआइ थाहा हुँदैन,’ उनले भने, ‘स्वाव टेष्टका लागि टेकु पठाएका छौं रिर्पोट बेलुका सम्म आइपुग्छ होला ।’
वीरगन्जका ३० वर्षीय ती युवा चितवन मेडिकल कलेजबाट रिफर गरेर त्यहाँ पठाइएको पनि डाक्टर अधिकारीले बताएका छन् ।
वि.सं.२०७६ चैत ११ मंगलवार १२:५० मा प्रकाशित