शनिबारको दिन भएकोले
सिम्पानी र चरिघ्याङका पाखाहरुलाई
आज अफिस जानु परेको छैन ।
अल्छे पाखाहरुलाई ओछ्यानमै छोडेर
मन एका बिहानै मन्दिरको बाटो
हिमालको काख तिर घुम्न निस्क्यो
मनसँगै मनको बगैंचाबाट
एक थुंगा सुनखरी फूल
मन्दिर जान साथ लाग्यो ।
फूल अछेता भक्तालु र देउताको
युगौं पुरानो साईनो हुँदो हो ।
गौरिशंकर हिमाल तिर
शिबजिले पार्बतिलाई काखमा राखेर
हामी तिरै हेरेको बेला
चम्पुजाको बेञ्चमा अढेस लागेर
छेवैमा बसेकी सुनखरी
मलाई हेरेर मुस्कुराउँदा
सँधै बाँचिरहुँ झै लाग्दो रहेछ ।
मन्दिर जाने बाटोको दाँया बाँया
दुना-बोगती-टपरी भरी भरी
नरिवल-अछेता-रक्षाबन्धन डोरासँग
सुन्दरी फूलहरु लस्करै पर्खिरहेका
हुंदा रहेछन् ।
मेरो मन सँग सँगै हिंडेकी सुनखरीलाई देखेर
टपरीमा बाटो हेरेर बसेका जाही-जुहि-मखमलीहरु
डाहाले भुतुक्क भए ।
आमाले बिहानै उठेर
शैलुङ-देउराली-मञ्जुश्री डाँडाहरु
धोएर सुकाई सकिछिन ।
सुनखरी बिहान अलि अल्छी छे
घाम उदाएर
एक हल मेलो जोतिसक्ने बेला
बल्ल उठेर आँखा मिच्दै मन्दिर पुग्दा
भिमेश्वर महादेवले
कुरि -कुरि गरेर जिस्क्याए पछि
ऊ लाजले म तिर फर्केर खितिती हाँसी ।
आशिर्वाद मागेर भिमेश्वरसँग
त्रिपुरासुन्दरी माईलाई ढोगे पछि
मन भर्खरै घर फर्किएको छ ।
मुडे-खरिढुङ्गा-डाङ्डुङ्गे डाँडाहरु
घाममा पिठ्यूं सुकाएर
चिया सुर्कांउदै गफ गर्दैछन
माथी आकाश तिर
लियोनार्दो दा भिन्ची
बादलका रङहरु पोतेर
आफ्नी प्यारी मोनालिसाबनाउँदै छन् ।
एक प्लेट कोरोना फ्राई ब्रेकफास्ट गरेर
मन बिस्तारामा पल्टिरा’छ
सुनखरी एतिबेला के गर्दै होली ?
वि.सं.२०७६ चैत १५ शनिवार ०९:४७ मा प्रकाशित






























