क्याम्पस पढ्ने साथी थियौ हामी, मधुसूदन लाल दास कर्ण कायस्थ र म । धेरैपछि विराटनगरमा भेट भो । जनकपुर आईज न ! जानकी माताको दर्शन गराउछु । मेरो घर पनि लान्छु । गाउँमा छ, एकरात उतै बस्ने । मिठाई खानुपर्छ, मोज गर्नुपर्छ । सितामडी जाने, कच्छा बनियान किन्ने । गम्छा चलाउदै छस कि टावेलमा उक्लिस ? नत्र भने गम्छा पनि किन्लास् । तलाई त तेरो भाउजुले खटमिट अचार पनि दिन्छ । खुब खान्थिस् नि पहिले हो त्यो, एक बट्टा लैजालास् । आम खालास खुब सँग । तेरो झापाको घर खुव मन परेको छ मलाई, धेरै राम्रो ।
मैले कहि बोल्नै नपाई धरै कुरा गर्याे उस्ले, आमा बुबा लगायत सबैको खबर सोध्यो । मैले उस्लाई राकेरै भने-सबै राम्रो छ, सबैलाई राम्रो छ । म आंपको सिजनमा आउछु नि ल ! मैले भने । खुसी भयो । हामी आ-आफ्नु गन्तब्यतर्फ लाग्यौं ।
फोन गर्याे एक दिन । भन्यो -मेरो सरूवा भयो जनकपुर मै ! ‘कोलेनिका’ जनकपुर । त आईज ल, कहिले आउछस ? आंपको सिजन यै हो । चाडै आईज । मालदह आँप त आषाढबाट सकिन्छ बुझिस् । कलकतियामा फेला पर्लास् नि ! मैले भने -आउने दिन फिक्स गरेर फोन गर्छु ल ! ‘२-४ दिन अगाडिनै भन्नू म तयारी गर्छु ‘ भनेर ढुक्क भए झै गर्याे उस्ले ।
प्रचण्ड गर्मी थियो जनकपुरमा । शुक्रबार पुगेको थिए । उ एयरपोर्ट पुगेको थियो मलाई लिनलाई । मेरो ब्याग समाउदै भन्यो-साले, प्लेन चडने भइस् ? बसमा आको भा हुदैनथ्यो ? अब हेर्न रिक्साले पनि २०० भन्छ भाडा । ‘होईन अफिसको काम पनि छ त्यसैले’-भने मैले ।
रिक्साबाट बसपार्क गयौ । भाडा तिर्न पर्स मात्र के निकालेथे हातै उज्यायो पिटन् लाई ! भन्यो -‘फुर्ती गर्छस् ? म कहाँ आउदा तैले भाडा तिर्ने ? ‘ खुब रिसायो !
बस चडेर औरही आयौं । बाटै भरि मालदह आपको महक आईरह्यो । घरपरिवार, जागिर, खेती, पढाई र राजनीतिका कुरा भए बसमा ।
‘त पनि मधेस कै होस् त ! कत्ति गर्मी मानेको ? कि तेरो रूमाल देखाको ?’ मैले पटक–पटक पसिना पुस्दा जिस्क्याँयो उस्ले । ‘गम्छा बोक्नु पर्छ, सजिलो हुन्छ’ –सुझायो उस्ले ।
औरहि बस पार्कबाट उस्को घर ९० मिनेट हिडियो । ‘मलाई मेरो ब्याग चै बोक्न दे न मधु, लाज भो क्या तैले बोक्दा’-भने तर मानेन् । माटोबाट नै आंप र उखुको मन्द-मन्द महक आईरहेको थियो ।
‘तेरो त गाउँ नै सुगन्धित र छ यार, कस्तो मिठो महक’ खुसीले उद्वेलित हुँदै भने । तर, यस्मा मेहेनत धेरै छ यार जवाफ फर्कायो ।
घर पुगियो । आँगनमा आँपको रूखको छहारीमा डोरीको खाटमा वस्यौं हामी । गर्मी र थकान बराबर भो । पसिना पुछदै गर्दा भाउजुले लोटामा पानी दिनु भो । पैले मलाई पिउन भन्नू भो, पछि उसले पियो, किलकिले हल्लाउँदै, बजाउदै र भन्यो -‘यसरी पी न, के चिया पिए जसरी पिएको’ । मैले आज्ञा स्विकार्दै मुन्टो हल्लाए ।
टायलले छाएको पुरानै घर रहेछ । तर एकदमै होचो, लामो पाखा, होचो ढोका । ढोकामाथि छानामा एउटा बोर्ड देखियो । छेउमा गएर पढे । लेखेको थियो ‘मधुसूदन लाल दास कर्ण कायस्थ’
रजिस्टर्ड अडिटर’
(नेपाल अधिराज्यभर स्वतन्त्र लेखा परिक्षण गर्न पाउने) ।
भित्र – बाहिर
मैले भने-‘हैट ! छानामाथि के को भित्र -बाहिर !’
हैन यार घर बनाउन सकेकै छैन अनि कहाँ राख्नु त ? उस्ले मुस्कुराउदै सहज उत्तर दियो ।
वि.सं.२०७६ चैत १५ शनिवार ०९:४३ मा प्रकाशित






























