१६ चैत, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकका ऋणिहरुका लागि सहुलियतको घोषणा गरेको छ ।
बैंकको आइतबारको निर्णय अनुसार कोरोनाले अर्थतन्त्रमा पुर्याएको असर र त्यसले व्यवसायी तथा अन्य क्षेत्रमा पनि समस्या परेकाले चैत्र महिनामा बैंकका ऋणिहरुले बुझाउने व्याज असार मसान्तसम्म बुझाउन सक्नेछन् । यदि कसैसँग पैसा मौज्दात छ र उसले चैतको व्याज तिर्न चाहान्छ भने उसलाई १० प्रतिशत व्याज छुट दिइने पनि बताइएको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणखर भट्टका अनुसार ऋणिले बैसाख, जेठमा भने पहिलेको जस्तै नियमित व्याज तिर्नुपर्ने छ मात्र चैत महिना लकडानका कारण व्यवसायी मारमा परेको हुनाले चैत महिनाको व्याज असार मसान्तसम्म बुझाउन सक्नेछन् ।
प्रवक्ता भट्टले त्यसका लागि बैंकले बाणिज्य बैंकहरुमा आइतबारै परिपत्र जारी गरेको बताएका छन् ।
बैंकले सिंगो अर्थतन्त्रमा परेको असरका कारण असहज अवस्थालाई सहजीकरण गर्न यस्तो निर्णय गरेको बताएको छ ।
वि.सं.२०७६ चैत १६ आइतवार २०:३६ मा प्रकाशित



























