स्पर्श सम्म पनि वर्जित गरिएका
निस्प्राण देहहरू
शवदाह गृहभित्र
वारिस भएर पनि
बेवारिस जस्तै
क्रममा खाँदिएका छन् ।
शवदाह गृहको परिसर
शून्य प्रायः छ
र,
आफन्तका आँसुले
भिजेको छैन पनि घाटको माटो ।
विरहले छ्टपटिएका
रोदन गुँजिएका छैनन्
न मलामीका चार काँध
न क्रियापुत्रका उदास मुहार ।
न कुनै आमाको क्रन्दन
न कुनै आधा आकाशको बेहोशी
न कुनै पुरुष आँसुको उपस्थिति
न कुनै छोराको उदिग्न मन
न कुनै छोरीको भावावेश चिच्याहट ।
न साथी न आफन्त
अन्तिम विदाईको यो क्षण
कस्तो गुमनाम विसर्जन
कस्तो एकान्त यात्रा
न कुनै टिलोको उपस्थिति
न बुर्कीको कुनै किस्ति
न अबिर न फूलमाला
न दुई गज मलमल ।
कस्तो तयारी यो महामारीको
महाप्रस्थान समाजको
बिना जलान्जली, बिना दागबत्ती
खरानी बनाइ रहेछ यो समयले
लासको पहाड ।
कल्पना नै सहि
एउटा दारुण चित्रको यो
तर बन्न सक्छ यहि समय
कुनैपनि समयमा
साक्षी सामुहिक अन्त्येष्टिको ।
वि.सं.२०७६ चैत २९ शनिवार ०८:५६ मा प्रकाशित






























