तमतमाउँदो परिवेश सिरानी हालेर
डङरङ्ग पल्टेको छ शहर
हतारोले बेरेको छैन पाइला
उछिनापाछिनले घचेटेको छैन मन
कुनै समय
सेकेण्डलाई तौलेर करोडमा
नापेर अणुलाई लाखमा
सासै रोकेर
पद र प्रतिष्ठाको लहरोमा झुत्तिने
उसको उत्कण्ठामा
एकाएक ब्रेक लागेको छ
अरूको निद हराउने होडमा
टुप्पी कस्ने ऊ
आज आफै
एक झप्को नभेटी
बनिरहेछ बगरको माछा
केवल
त्रसित नयन उचालेर
खटप्वालबाट निर्जन सडक नियाल्नु
विज्ञानको मोहमा लठ्ठिदै कुल्चेको
मानवता सम्झि पछुताउनु
दौलतको अहमले किचिमिची पारेको
करूणा कल्पेर भुट्भुटिनु
यस्तो दिनचर्यामा ढालेर आफूलाई
आजभोलि शहर
सभ्यताको अर्थ खोज्न
शब्दकोश उदिनिरहेछ…
वि.सं.२०७६ चैत २९ शनिवार ०९:२७ मा प्रकाशित






























