back
CTIZAN AD

लघुकथा: परीक्षण

वि.सं.२०७६ चैत २९ शनिवार

681 

shares

हर्कबहादुर अवकाशप्राप्त सिपाही, जसले आफ्नो एउटै मात्र छोरा हीरालाई धेरै दुःख गरेर डाक्टर बनायो, हीराजस्तै तुल्यायो । स्वदेशमा उचित अवसर नपाउँदा छोरा हीरा अमेरिका विदेशियो ।

मनको दुःख मनमैं लुकाएर हर्कबहादुर संसारिक हर्षमा रम्ने गथ्र्यो । प्राणप्यारी श्रीमती पोहरसाल बित्दा पनि दैवको लीला भनी मन थामेकै थियो । तर, आज उसको मन किन हो किन अधीर भएको छ । आमाको बरखी सकेर छोरा–बुहारी आजै दिउसोको फ्लाइटका अमेरिका उड्दैछन् । उता कोठामा छोरा–बुहारीको विदाइमा ईष्टमित्र, साथीभाईको जमघट बढ्दैछ, यता हर्कबहादुर आफ्नो कोठामा केवल एक्लै आफूमैं गमिरहेछ ।

दराजको भित्री खण्डबाट जीवनभरको कमाई, घर जग्गाको लालपूर्जा, पेन्सन–पट्टा, बैंक खाताका चेकबुक–पासबुक, महत्वपूर्ण कागज–पत्रहरू निकालेर हर्कबहादुर ओल्टाई–पल्टाई गर्दैछ ।

कोठाको भित्तामा फूलमालाले सजिएकी उनकी पत्नीले सदाझैं हर्कबहादुरलाई हेर्दै मुस्कुराउँदै थिइन् । नमस्कार गदै भित्ताबाट तस्बीर झिकेर दुबै हातमा लियो, तस्बीरमा चुम्दै भक्कानियो । दुबै आँखाका डिलबाट टिल्पिलाउँदै बहन लागेका मोतीका दानालाई हातका औंलाले पुछ्दै आफूलाई सम्हाल्यो । हातको तस्बीर पुनः भित्तामैं सजायो ।
‘सम्बन्ध त मेरा यी दुई आँखा र दुई हातको जस्तै होस्, आँखामा टल्कने हीरामोतीलाई पहिला यीनै हातले चुम्न सकोस्, हातमा केही हुँदा पहिला यीनै आँखाले हेर्न सकोस् ।’ आँखा अगाडिका आफ्ना खुल्ला हात हेर्दै हर्कबहादुर कल्पिँदै थियो ।

कल्पनाको संसारमा कल्पँदै गर्दा उसले दराजबाट पुरानो एकजोर जङ्गीपोशाक झिकेर लगायो । शान्तिसेनामा विदेशी भूमिको सीमा रक्षार्थ लड्दा बहादुरीका साथ पाएको तक्मालाई पुनः छातीमा सजाउँदै दराजको ऐनामा आफूलाई नियाल्यो ।

उसका असीमित महत्वाकांक्षाले हर सीमाहरू नाघिसकेछन् । मनका हर्षोल्लासहरू पनि आफैंमा ओइलाइसकेछन् । चौडादार, दर्बिलो छातीलाई दुई कुमले धकेल्दै खुम्च्याइसकेछन् । तनक्क उभिएर लामो सास तान्दै खुम्चेको छाती फुलाउन खोज्यो । शरीरमा पहिलेको जस्तो बल थिएन । एकाएक दम आउला जस्तो भयो, मुटुमा धड्कन बढ्यो । जङ्गी पोशाक फुकालेर ह्याङ्गरमा टाँग्यो र सिरान माथिको किलामा अढ्यायो । खुइ्यय सुस्केरा हाल्दै सोफामा थुचक्क बस्दै आफैंमा टोलाउन थाल्यो । टोलाउँदै उसका आँखा श्रीमतीको तस्बीरमा पुग्यो, उनीसँग अलिकति खुसीको भीख माग्यो र मनमनै गमेर ऊ पुनः आफैमा हर्ष विभोर भयो ।

त्यसैबेला झिटीगुन्टा कसेर विदा माग्न भनी बाबुको कोठामा छोरा–बुहारीको प्रवेश भयो ।
‘बुबा हजुर, दर्शन ! हामीलाई राताटीका लगाएर विदा दिइस्योेस् । बाहिर कार पनि आइसक्यो । बाह्रबजेको फ्लाइट, तीनघण्टा अगाडि नै एयरपोर्ट पुग्नुपर्छ ।’ बुहारीले एकै सासमा विदा मागिन् ।

‘बुबा ! यी सबै औषधिहरू एक वर्षका लागि भनेर ल्याएको छु । हजुरको होलबडी चेकअपको रिपोर्ट पनि ठिकै छ । अर्कोसाल आएर म हजुरलाई पनि उतै लैजाउँला । हजुर पीर नमानिस्योस् । हामीसँग जहिले पनि कुरा गर्न मिल्ने, मैंले चलाउने गरेको यो आइफोन अव हजुर नै चलाइस्योस् ।’ बाबुको हातमा आइफोन थमाउँदै छोरा हीराले शीर निहु¥याउँदैै विदा माग्यो ।

हर्कबहादुरको बोली फुटेन । ऊ भित्रको जङ्गीमन जङ्गिँदै थियो, ‘सावधान हर्कबहादुर ! तेरो आशे त्यान्द्रोमा अल्झेको अधमरो आशमाथि तेरो छोरा हीराले कुटिल जालपासा फाल्दैछ । सावधान !‘

तत्काल ऊ भित्र पग्लेको मनले सम्झाउँदै भन्यो, ‘हर्कबहादुर ! आखिर हीरा तेरै मुटुको स्पन्दन हो, तेरै आँखाको नानी हो, हीरा नै तेरो संसार हो ।’

बिस्तारै हर्कबहादुरले आफूलाई सम्हाल्यो । छोरालाई अङ्गालोमा लियो । उसको अनुहारमा हेर्दै मधुरो स्वरमा बोल्यो, ‘बाबू हीरा ! मेरा यी दुबै आँखामा तिमीले आज राम्ररी नियालेर हेर त, अब मेरो दिशा, पिसाव र रगतको परीक्षण हैन, यी आँखाबाट बहने आँसुको परीक्षण गर्न मन लागेको छ मलाई । धरै दुःख–कष्ट सहेर तिमीलाई आज डाक्टरसम्म बनाएँ । तिम्रो डाक्टरी विद्याले मेरो आँसुको परीक्षणमा के–के देख्न सक्ला ? अझ धेरै पढेर, राम्रोसँग सिकेर चाँडै फर्कनू है बाबू ।’

विदाइको क्षण बाबु–छोरा दुबैको आँखाबाट आँसु बहँदै थियो । बाबु–छोरा दुबैलाई बुहारी चूपचाप नियाल्दै थिइन् ।

कोठामा सन्नाटा छाएको क्षण बाहिर प्याँ–प्याँ गर्दै कारले हर्न बजायो । ‘हतार भइसक्यो, छिटो गरौं न ।’, ड्राइभर चिच्याउँदै थियो ।

maheshkumarwagley@gmail.com

कागेश्वरी मनहरा नपा-५, थली,

वि.सं.२०७६ चैत २९ शनिवार १०:५१ मा प्रकाशित

सुसेली: राजा दशरथ

सुसेली: राजा दशरथ

माधवप्रसाद रिजाल ( माधवानन्द ) वीरगञ्ज रधु कुलमा ‌जन्मे थे...

गजल

गजल

मिलनकुमार ढुङ्‍गाना, झापा गधा धोएर गाई हो नभन्नू म मात्रै...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम सुखी छैन मेरो कतै जिन्दगानी सुने हुन्छ...

गजल

गजल

एलपी पराजुली, कपन , काठमाडौं चल्दै छ आँधी इच्छाहरूको हरदम...

पराजुलीको ‘बखान’ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

पराजुलीको ‘बखान’ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

स्याङ्जा । युवा लेखक, पत्रकार वसन्त पराजुलीको ‘बखान’ उपन्यासमाथि स्याङ्जाको...

“स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रिया सम्पन्न

“स्रष्टा : राज्यसत्ताको स्थायी प्रतिपक्ष” विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । चौथो राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ...