यथार्थमा यहाँ योजना कम र प्रचार बढि छ । सहकार्यको सवालमा पनि नेपालमा एककिसिमको अकर्मण्यता छ । सहायता माग्दा पनि व्यालेन्स गर्नु पर्ने ‘साना देशहरुको लक्षण’ ले नेपाल आक्रान्त छ । कोभिड १९ महामारीको सामना गर्न स्वास्थ्य सामग्रीको माग गर्न सिधै चीनलाई चिठि लेख्ने ताकत र सामर्थ्य सरकार सँग छैन । बराबर सामग्री माग गरिएका जुम्ल्याहा चिठ्ठी उत्तर र दक्षिण दुवैतिर पठाउनु पर्ने मनोविज्ञानमा छ नेपाल । अनि मात्रै उत्तरबाट सहायता सामग्री नेपालमा झरेका छन । महाशक्ति अमेरिका त चीन, रुस लगायतवाट सामग्री सहायता लिईरहेछ भने हामी अझै हिच्किचाउन पर्ने अवस्थामा छौं । अब पनि स्वास्थ्य सामग्रीको व्यापक जो हो गर्नु पर्ने छ । कूटनीतिक माध्यमबाट तत्काल पहल गरि विश्वास जित्न ढिला गर्नु हुँदैन ।
सन् २०२० को प्रारम्भसंगै कोरोना भाईरसले संकट दिनानुदिन गहिरो हुँदै गएको छ । आधुनिक मानव सभ्यताले कहिल्यै भोेग्न नपरेको सबैजसो अन्तर्राष्ट्रिय उडानहरुमा लागिपरेका प्रतिवन्ध र संसारभर एकैपटक जसो लागेको लकडाउन र आफ्नै वासस्थानमा बन्दी जीवन र अट्ठहासपुर्ण दैनिकी मानवजातीमा आईलागेको सबैभन्दा ठुलो विपत्तिको द्योतक हो । संसार महामारीको चपेटामा छ र प्राकृतिक चुनौती सामना गर्न जुटेको छ । खासमा चिकित्सा विद्या, अनुसन्धाता र आधुनीक विज्ञानको विरासतलाई चुनौती दिएको कोभिड – १९ नामक महामारीले क्रमशः राजनीति, सुरक्षा, अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रणाली र समग्र मानव जीविशिषालाई प्रभाव पारेको छ । जब चुनौती सामना गर्ने एउटै प्रष्ट उपाय उपलब्ध हुन्न तब चुनौती सामना गर्न वस्तुसँगत बैज्ञानिक चिन्तन मनन र विकल्पहरु मात्रै हैन अनेकानेक नन्दिभृङ्गि, बहुरुपि, सनसनीहरुले पनि वजार तताँउन प्रयत्न गर्छन । अज गज्जव त के भने सरकार प्रमुख देखि जिम्मेवार तहमा वसेका अरु कतिपय पनि किंकर्तव्यविमुढ हुँदा अकर्मण्यता मौलाएको छ । संकटापन्न संसारभरबाट सम्प्रेषित समाचारले त्यस्तै दर्शाउँछन । मानव सभ्यताको लामो कालखण्डमा दुर्लभ आईलाग्ने यस्ता महामारीको प्रतक्ष्य साक्षात्कार गर्ने एउटा मनुष्यको हैसियतले प्राकृतिक विपत्तिमा संययता, बैज्ञानिकता र खोजतर्फ मानव समुदायलाई अभिप्रेरित गर्नु कर्तव्य र जिम्मेवारी दुबै हो । मनोवल उच्च राखेर सम्भावित उपचारको विकल्पमा अहोरात्र खटेका संसारभरका बैज्ञानिकहरु अशाका श्रोत हुन । श्वास थुनेर मानिसहरु औषधी वा खोप आविश्कारको पर्खाइमा पर्खालभित्र कैद छन ।
यो मानवजाती माथि आईलागेको विपद हो । तैपनि सामनामा एकरुपता र ऐक्यबद्धताको सट्टामा वैश्विक राजनीति समेत देखापर्नु निन्दनीय र उदेकलाग्दो छ । जब महामारीले चीनलाई मुख्य चपेटामा लपेट्यो त्यो समयमा संसारभरवाट प्रतिक्रियाहरु जे आए ती त्यति परिपक्व हैन रहेछन, संकट गहिरिदैं जाँदा आमरुपमा धारणाहरु बदलिँदो छन । दोश्रो विश्वयुद्धपछि दुई केन्द्र मध्ये एक र शीतयुद्ध पछिको एकल महाशक्तिका रुपमा आफुलाई स्थापित गरेको शक्तिशाली राज्य अमेरिका र उसका राष्ट्रपति माननीय डोनाल्ड ट्रम्पले जे जसरी यो महामारी बारे प्रतिक्रिया दिए, हँसि मजाकमा उडाउन खोजे, चिनको खिसि ट्युरि गरेको आरोप सत्य नजिक भएको लाग्यो । विश्व महाशक्तिका प्रमुख लिडरमा शोभनीय परिपक्वता देखिएन भन्ने प्रशस्त आवाजहरु उठे । व्यवाहारतः ट्रम्पका अभिब्यक्ति एक किसिमको अहम वा फुर्तिका अंश मात्रै हुन भन्नेहरु थुप्रै देखिए । जब कोभिड– १९ नामको साँच्चिकै बाघले मुलतः युरोप र प्रतक्ष्यतः अमेरिकालाई पनि तान्न शुरु गर्यो तब युरोप र अमेरिकाको तयारी अनि ‘फुर्ति’ दयनीय अवस्थामा देखिन थाल्यो । जब अमेरिकाको हवाईग्राउण्मा १००० थान चीनिया भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री विश्वले देख्यो र सुन्यो तब अमेरिकाको तयारी दयनीय अवस्थामा रहेको कुरा एक्स्पोज भयो । एकहप्ता भित्र आफ्ना नागरिकहरु अमेरिकाबाट फिर्ता लग्न सबै देशलाई अनुरोध गर्दै अन्यथा ती मुलुकका नागरिकलाई भीजा नदिने राष्ट्रपति ट्रम्पको ऐलानले अहिलेसम्मकै जटिल अवस्थाको चित्रण गर्छ । त्यसैगरि विश्व स्वास्थ्य संगठनलाई दिईरहेको आर्थिक सहयोग स्थगित गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले जटिलतामा अर्को राजनीतिक जटिलता पनि थपिदिएका छन ।
अप्रिल १५ सम्ममा सार्वजनिक तथ्यांकहरुमा कोभिड १९ बाट सबैभन्दा वढि आक्रान्त अमेरिका छ । चुनावी प्रतिष्पर्धा र कोभिड १९ को महामारी सामनाको चुनौतिविचमा अस्थिर र तरल विचारहरु सम्प्रेषण गरेको भन्दै अमेरिकाभित्र र बाहिरवाट अब अमेरिकाले वर्तमान संसारको नवीन उदारबादी रुलिङ नेतृत्व गुमाउन सक्ने चेतावनीसमेत राष्ट्रपति ट्रम्पलाई दिएका खवरहरुले सामाजिक संजाल भरिएका छन । वास्तविकतामा अमेरिका संसारभरको महामारीबाट एकातिर र अर्कोतिर आन्तरिक राजनीतिको चपेटामा परेको छ । दोश्रो विश्वयुद्धपछि एकछत्र जस्तै शक्तिकेन्द्रमा रहेको अमेरिकाको ताज यसपालि बच्छ कि बच्दैन शंकाको घेरामा छ ।
आधुनिक समाजको भुस्वर्गको परिकल्पना गर्दै युरोप र अमेरिका मा वसोवासकालागि मरिहत्ते गर्ने मानवसमुदायको मनोवैज्ञानिकता संकटमा छ । के आधुनिक संसारको भुस्वर्ग युरोप र अमेरिका हो त ? प्रश्नहरु उठेका छन । साम्राज्यवादीहरु र प्रतिक्रियावादीहरु केवल कागजी बाघमात्रै हुन (ईम्पेरिज्म एण्ड अल रियाक्सनरिज आर पेपर टाईगर्स) भन्दै सन् १९५७ मा चीन कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङले एक अन्तर्वार्तामा उल्लेख गरेको प्रसंग पनि जवरजस्त यादमा आएको स्थिति छ । संकट चुलिदैं जाँदा युरोपका कतिपय सरकार प्रमुख र मन्त्रीहरुले ‘दुःखको समयमा हामीलाई सहयोग गर्ने चीन मात्रै भयो’ भनेर चीनप्रति सद्भाव र अनुग्रह सम्प्रेषण गरेका समाचारहरु पनि सार्वजनिक भए । ईयुमा आवद्ध र शीतयुद्धको समयदेखि नै अमेरिकी गठवन्धनमा समावेश देशहरूले समेत अमेरिकातिर भन्दा चीनतर्फ आशा मिश्रित नजरले हेर्नू पर्ने परिस्थिति देखियो । यी समग्र परिवेशलाई नियाल्दा कतै विश्व शक्ति सन्तुलनमा नै परिवर्तन आउने त हैन ? सम्मका अडकलवाजीहरु गरिएको छ । अझ पछिल्लो समय अमेरिकाको न्युयोर्कका गभर्नरले ट्रम्प राष्ट्रपति हुन राजा होईनन भन्ने भनाइ सार्वजनिक गरेसँगै अमेरिका वैश्विक समस्या समाधानमा नेतृत्व गर्नु त कता हो कता आन्तरिक चुनौती व्यवस्थापन गर्न समेत हम्मेहम्मे अवस्थामा छ भन्ने देखिन्छ ।
आधुनिक स्वास्थ्य प्रणालीले बैज्ञानिक चिकित्सकिय उपाय पत्तालगाउन नसकेको वर्तमान परिवेश महामारीको उर्भर भूमि हो । मानिसहरूको भौतिक दुरिलाई कायम राख्ने, घरमा नै स्ववन्दि भै रहने र सबै सार्वजनिक समुहजन्य कामहरुलाई ठप्प पार्दै वन्दावन्दि (लकडाउन) कायम गर्ने अल्पकालीन उपाय अवलम्बन गर्न संसारभरका राज्यहरु बाध्य छन । यहि उपाय ठानिएको छ र उपचारको सर्वसम्मत विधि, औषधि र खोप पत्ता लागेको छैन । पृथ्वी मा मात्रै नभई मंगलग्रहमा समेत वस्तिबसाउने विकल्पमा खोजरत आधुनिक विज्ञानलाई ठुलो चुनौती आईलागेको छ । ‘जो जीता अहो सिकन्दर’ भने झै यो महामारीको औषधि आविश्कार गर्नेले नै विज्ञान र प्रविधि अनि वैश्विक राजको पनि नेतृत्व गर्ने निश्चित छ ।
वर्तमान संकट समाधानमा मुलतः चीनले नेतृत्व लिएको छ । रोगको कारक भाईरसको पहिचान देखि संक्रमण फैलिन नदिन सामाजिक दुरि र लकडाउन उसैका उपायहरु हुन । शुरुमा चीनले गरेजस्तो गर्नु पर्छ भन्ने छैन भन्दै संकटको घनत्वलाई कम आँकलन गर्नेहरु पनि थिए । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति लगायत कतिपयले लकडाउन नगर्ने र अमेरिका ‘बन्द गर्नका लागि स्थापित मुलुक हैन’ भनिरहँदा उनको ढाडसलाई संसारले त पत्यायन पत्याएन स्वयं अमेरिकी राज्यका प्रमुखहरुले समेत पत्याउन सकेनन र अत्यावश्यक बाहेकका आवत जावतमा प्रतिवन्ध लगाई सकेका छन । डोनाल्ड ट्रम्पले आफुले माक्स नलगाउने उदघोष गरेकै पर्सिपल्ट फस्ट लेडि मेलिना ट्रम्पनै मास्क लगाएर सार्वजनिक भईन । राष्ट्रपति पदमा उनका प्रतिस्पर्धी ठानिएको जोइ विडनले माक्सलगाउनु पर्ने प्रतिक्रिया दिएका छन । मलेरियाको औषधि कोभिडमा उपयोगि हुने भन्दै ट्रम्पले दिएको अभिव्यक्ति लाई अमेरिकी बैज्ञानिकहरुले नै अस्विकार गरिदिए । यी समग्र परिवेशले ‘ग्लोवल सुपरपावर’ को अकर्मण्यता र निरिहता देखाई रहँदा ‘ग्लोवल अडर’ मा परिवर्तनको आशंका गर्नेहरुको मतलाई पल्ला भारि बनाउनेछ । गाम्भिर्यता, जिम्मेवारी, भरोषा र विश्वसनीयता वैश्विक नेतृत्वमा हुनुपर्ने गुण हुन । जसले आर्जन गर्छ नेतृत्वमा आउँछ, जसले गुमाउँछ नेतृत्वबाट ओझेल पर्छ ।
भुमण्डलिकरणको यश युगमा विश्व परिवेशको वाछिटा एशिया, दक्षिण एशिया र नेपालमा नपर्ने कुरै भएन । चीनमा पहिलोपटक देखिएको समस्यालाई चीनको मात्रै समस्या देख्नु वाह्य संसारको मुख्य कमजोरी रह्यो । जतिवेला चीनले हुवानमा लकडाउनको कहर झेल्दै थियो त्यतिबेला पश्चिमा मिडियाहरु चीनको अर्थतन्त्र धाराशाहि भएकोमा ‘खुच्चिङ’को शैलिमा समाचार पस्कदैं थिए । नेपालको मुलधारकै मिडियामा पनि त्यहि शैलिमा समाचार र दृष्टिकोण सार्वजनिक गर्दा नेपालका लागि चीनका राजदुत हाउ याङछिले प्रेस विज्ञप्ति नै निकालेर आपत्ती जनाएको पनि नजिर छ । हत्पत्ती नवोल्ने चीनले त्यो स्तरको विज्ञप्ति दिंदा तरङ्ग मात्रै पैदा भएन नेपाली मिडिया भित्रको अपरिपक्वता पोखियो । कम्तिमा नेपाल सरकारले परिपक्व निर्णय गर्यो र १ लाख थान मास्क सहायता स्वरुप चीन सरकारलाई हस्तान्तरण गर्यो । नेपाल सरकारको साह्रै परिपक्व काम थियो त्यो । भारतमा पनि कतिपय मिडियाहरु कोभिडको महामारीलाई खेलाँचि गर्दै अतिरञ्जना पुर्ण र अपरिपक्व समाचारहरु पस्किएका थिए । यो छिमेकमा आगो लाग्दा रमिते बन्ने र आफुमा डडेलो सल्कनसक्छ भन्ने कुराको हेक्का नभाको बहुलठ्ठिपन हो ।
महामारीले चीन, युरोप, अमेरिका हुँदै क्रमशः एशिया, दक्षिण एशिया, भारत, नेपाल सम्म धावा बोल्न थाल्यो अनि मात्र यी मुलुकहरु पनि चीनकै पदचिन्ह पछ्याउन बाध्य परिरहेको अवस्था छ । व्यापक जनघनत्व रहेको दक्षिण एशिया मात्र हैन १२५ करोड जनसंख्या रहेको भारत, करीव ३ करोड जनसंख्या रहेको नेपालमा समेत अमेरिका, युरोप, जापान, दक्षिण कोरिया, चीन आदि देशहरुमा रहेको जस्तो स्वास्थ्य प्रबन्धहरु छैनन। सामान्य अवस्थामा नेपालमा भन्दा ९८ गुणा बढि प्रतिव्यक्ति स्वास्थ्य सेवा खर्च गरिरहेको स्विजरल्याण्डमा समेत कोरोना थेग्न हम्मेहम्मे परेको अनुभवबाट नेपालजस्तो मुलुकमा महामारी फैलियो भने थेग्न गाह्रो हुने र स्थिति भयावह हुने निश्चित छ । बस्तुपरक विकल्प पत्ता नलाग्दा सम्म र महामारी नियन्त्रणमा आएको विश्वासिलो आधार नवन्दा सम्म स्वगृहबन्दि र मानवसँग भौतिकदुरि कायम गर्नु नै उत्तम उपाय हो । यस्तोमा सामाजिक, राजनीतिक, धार्मिक, साँस्कृतिक सहिष्णुता र एकता अपरिहार्य हुन्छ । यद्यपि कतिपय भारतका मिडियामा धार्मिक असहिष्णुता पस्कने माध्यमका रुपमा महामारीलाई उपयोग गरेको देखिन्छ । संकटलाई भ्रष्टाचार गर्ने अवसरमा लिएको र कमाउ माध्यमका रुपमा नेपाली सरकार र अधिकारीहरुले उपयोग गरिरहेका भन्दै समाचार सार्वजनिक हुनु, यस्तो समाचार बन्ने ग्राउन्ड पैदा गर्नु सबै नेपालीको लागि लज्जाको विषय हुन ।
यदाकदा भारत र नेपालमा ईम्युनिटि पावर वढि छ कोरोनाले छुन्न भन्ने तर्कहरु पनि उठेको पाईन्छ । यहाँका भान्साहरुमा अदुवा, बेसार, दालचिनी, जिरा, पुदिना, मह, कागती, खुर्सानी आदि मसलाहरु अभिन्न अंश मानिन्छन । यीनिहरुको कारणले केहिहदसम्म सेल्फ ईम्युनिटि बढेको हुनपनि सक्छ । तर विज्ञानसम्मत पुष्टि नभै भरपर्नु हुन्न र सकिन्न । सरकारले समयमै लकडाउन गरेकाले र सुव्यवस्थित योजना बनाएकाले डराउनु पर्दैन भन्नेहरु पनि छन । समयमै लकडाउन गरेको साँचो र सहि हो । तर लकडाउनबाट नागरिकमा र खासगरी दैनिक ज्यालादारीमा जीवन जो हो गर्नेहरुको स्थिति भयावह हुनेछ । यसतर्फ प्रचारमुखि भन्दा पनि बस्तुवादि योजना बनाउनु पर्छ । यथार्थमा यहाँ योजना कम र प्रचार बढि छ । सहकार्यको सवालमा पनि नेपालमा एककिसिमको अकर्मण्यता छ । सहायता माग्दा पनि व्यालेन्स गर्नु पर्ने ‘साना देशहरुको लक्षण’ ले नेपाल आक्रान्त छ । कोभिड १९ महामारीको सामना गर्न स्वास्थ्य सामग्रीको माग गर्न सिधै चीनलाई चिठि लेख्ने ताकत र सामर्थ्य सरकार सँग छैन । बराबर सामग्री माग गरिएका जुम्ल्याहा चिठ्ठी उत्तर र दक्षिण दुवैतिर पठाउनु पर्ने मनोविज्ञानमा छ नेपाल । अनि मात्रै उत्तरबाट सहायता सामग्री नेपालमा झरेका छन । महाशक्ति अमेरिका त चीन, रुस लगायतवाट सामग्री सहायता लिईरहेछ भने हामी अझै हिच्किचाउन पर्ने अवस्थामा छौं । अब पनि स्वास्थ्य सामग्रीको व्यापक जो हो गर्नु पर्ने छ । कूटनीतिक माध्यमबाट तत्काल पहल गरि विश्वास जित्न ढिला गर्नु हुँदैन ।
महामारी पिडितलाई अमेरिकामा ३ महिनासम्मको तलवि बिदा दिने घोषणा गरिएको छ । युरोप स्वास्थ्य विमामा चिरपरिचित छ । सामाजिक सुरक्षाका दृष्टिले युरोपलगायतका विकसित देशहरु समृद्ध छन । महामारीको वाहेक भोकमरिको चपेटामा ती परेका छैनन । विकासशील र अल्पविकसित देशमा भोकमरिको समेत समस्या थपिने देखिन्छ । चीनले सम्पुर्ण उपचारखर्च सरकारी तवरबाट ब्यहोर्ने, कर्मचारीहरुलाई तलवि विदा दिने, उद्योगहरुलाई करछुट र व्याजदर घटाउने लगायतका सुविधा दिएको छ । भारतमा पनि सरकारले त्यस्तै खालका घोषणा गरेको छ । उदाहरणका लागि दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले रासनकार्ड बाट रासनलिने नागरिकहरूलाई ५० प्रतिशत थप रासन दिने, सामाजिक सुरक्षा भत्तालिने अपांगता भएका र जेष्ठ नागरिकलाई एक महिनाको पेन्सन १०० प्रतिशत थप गरिदिने, भाडामा बस्नेहरुका लागि ३ महिनासम्मको घरभाडा तिरिदिने लगाएतका घोषणा गरेका छन । यद्यपि भारतमा रहेको ठुलो जनसंख्या र भ्रष्टाचारको चपेटामा जीवन अरु कष्टकर हुने देखिन्छ । दोश्रोपटक मे ३ सम्म भारत सरकारले लकडाउन थपेपछि घर जान माग गर्दै मुम्बई मा हजारौंको प्रदर्शन र प्रहरीको लाठीचार्ज समेतको घटना नियाल्दा हाम्रो छिमेकी मुलुक महामारी पिडितको लिस्टमा एक नम्बरमा आईपुग्दैछ भनी आँकलन गर्न थालिएको छ ।
नेपालमा संकटको वास्तविक चपेटामा प्रवेश भैसकेको छैन । अमेरिका, युरोप देखि गल्फ देशहरुले आफ्ना नागरिकहरु लैजान नेपाल सरकारलाई आव्हान गरेका समाचारहरु सार्वजनिक भएका छन । गफ, फुई, फुर्ति र हस्यौलिलाई छोडने हो भने वैदेशिक रोजगारमा गएका र एकैपटक फर्कने अवस्थामा हजारौं नागरिक नेपाल छिर्ने हो भने उनिहरुलाई क्वारेन्टाइनमा राख्ने र औषधोपचार गर्ने संयन्त्र, संरचना र हैसियत नेपालसँग छैन । यस्तोमा संयुक्त राष्ट्रसँघ, धेरै हदसम्म कोरोना महामारीको सामना गरिसकेको उत्तर छिमेकी लगायतसँग सहायताकालागि अपिल गर्ने र कूटनीतिक पहल लिनेकाम ढिलो गर्नु हुँदैन । नेपालको तयारी र घोषणाहरु निम्छरिलो अवस्थामा छन । नेपालमा भएका यी केही घोषणाहरु सन्निकट महामारी सामनाका लागि फुच्चे लाग्दछ । महामारि कन्ट्रोलमा रहे त समस्या नहोला अन्यथा नेपाल भोकमरि र महामारीको दोहोरो चेपमा पर्ने खतरामा छ । समाजवादी यात्राको दुहाई दिंदै करिव दुई तीहाई नजिकको बहुमतसाथ सत्तासिन नेकपाको सरकारले नेपालमा सरकारको दायित्व पर्ने गरि त्यस्तो कुनै मननीय घोषणा गरेको छैन ।
सरकारका केही मुख्य पहल र घोषणाहरु हेरौं । जस्तैः स्थानीय सरकारमार्फत राहतका प्याकेट वितरण, सरकारि कर्मचारीहरुको तलव कटौती, निजि कम्पनीहरुलाई तलव नरोक्न निर्देशन, निजि शिक्षणसँस्थालाई एक महिनाको शुल्क छुट दिन निर्देशन, घरवेटिहरुलाई एक महिनाको घरभाडा नलिन आग्रह, ऋणिहरुलाई किस्तातिर्ने समय थपिदिन बैंकहरुलाई आग्रह, निशुल्कः सेवादिन निजि स्वास्थ्य संस्थाहरुलाई आग्रह र उपचार कोषमा सहयोगरचन्दा दिन आम नागरिकहरुलाई आग्रह आदि नेपाल सरकारका पहल कदमि हुन । नेकपाको सरकारले महामारीको सामना गर्ने काममा आफ्नो थप दायित्व पुरै पन्छाएको छ । लकडाउनका कारणले विकासनिर्माण तर्फको बजेट फ्रिज हुने अवस्थाको आँकलन गरि आर्थिक राहतको प्याकेज सरकारबाट घोषणा हुनु अनिवार्य छ । आन्तरिक श्रोत परिचालनमा वजेटलाई पुनस्योजना गर्नु पहिलो काम हो । १५५ मात्रै बजेट खर्च भएको अवस्थामा वाँकि वजेट राहत र स्वास्थ्य व्यवस्थापन मा नै केन्द्रित गर्न किन ढिला ? आन्तिरिक श्रोतले मात्रै पुग्दैन भन्ने तथ्य घाम जस्तै छर्लङ्ग छ । त्यसकारण कूटनीतिक पहलकदमि मार्फत मुलतः संयुक्त राष्ट्रसंघ, चीन र अन्य मुलुकहरुसँग सहयोग माग्न ढिला नगरौं । सहयोगको जो हो तयारी स्वरुप हो । अशांकित संकट नेपालमा प्रवेश नगरेको अवस्थामा चाहिँ हामीलाई प्राप्तहुन अश्वाासित सहयोग सबैभन्दा वढि प्रताडित मुलुकलाई प्रदान गर्ने प्रतिवद्धता गरौं । तबमात्र हामी नेपालीले पनि संकट सामनामा आफ्नो हैसियत अनुसारको पहलकदमी लिएको ठहर्नेछ । धन्यवाद ।
वि.सं.२०७७ वैशाख ४ बिहीवार ११:५० मा प्रकाशित





























