back
CTIZAN AD

‘साहित्यको मूल उद्देश्य आनन्दको अनुभूति र समाजलाई दिशाबोध गर्नु हो’

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

2K 

shares

कवि केशव ज्ञवाली बिक्रम सम्बत (२०२०) मा रुरु गाउँपालीका गुल्मीमा जन्मेका हुन् । घरमै अक्षारम्भ गरेका ज्ञावलीले स्नातकोत्तर सम्मको औपचारिक शिक्षा हासिल गरि स्व अध्ययनबाट बिशिस्ट श्रेणी हासिल गरेका हुन् ।

गुल्मीको किसान परिवारमा जन्मेर त्यहाँको हावापानी उकाली ओराली गर्दै हुर्केका ज्ञावलीले कर्मथलो भने काभ्रेपलान्चोक जिल्लाको बनेपालाई बनाएका हुन् । शिक्षण प्राध्यापन सेवामा संलग्न ज्ञवाली माबी प्रथम श्रेणीका शिक्षक हुन् । बिद्यालयका विभिन्न स्मारिकाहरुको सम्पादन समेत गर्दै आएका ज्ञवाली बिक्रम सम्बत २०३९ देखि भिन्न भिन्न पत्रिकामा फुटकर कविताहरु प्रकाशित हुँदै आएका छन् । विभिन्न साहित्यिक संस्था एबम पूर्वबिद्यार्थीबाट सम्मानित ज्ञवाली पछिल्लो समय साहित्यको कान्छो विधा साइनोको बिकास प्रबर्द्धनका अगुवा अभियन्ताका रुपमा सक्रिय रहेका छन् । उनै साइनो अभियन्ता ज्ञवालीसँग संसारन्युजको लागि बालकुमार क्षेत्रीले गरेको कुराकानी ।

केमा व्यस्त हनुहुन्छ ?
खासै व्यस्त छैन । अहिले विश्व कोरोनाको कहरमा छ । नेपाली समाज पनि यसबाट अछुतो छैन । एउटा असहज परिस्थिति हामी सबैले भोगिरहेको अवस्था हो । केही अध्ययन, लेखन र परिवारसँग समय बिताउने क्रममै दिनहरू बितिरहेका छन् ।

यो लक डाउनको समयलाई के कसरी सदुपयोग गर्दै हुनुहुन्छ अनि हामीलाई के सल्लाह दिनुहुन्छ ?

मैले यो बन्दाबन्दीको समयलाई खासै सदुपयोग गर्न सकेको छैन । ४–५ वटा कविता, ‘साइनो कसरी लेख्ने ? यसका मानक र सिर्जनकला’ शीर्षकको एउटा सैद्धान्तिक लेख लेखेँ । फाट्टफुट्ट साइनोहरू पनि लेखिरहेको छु । यसबिच साहित्यकार रामप्रसाद ज्ञवालीको ‘तेस्रो आँखाको आलोचना’ सरसर्ती अध्ययन गरेँ । यो विचारोत्तेजक समालोचनाहरूको संग्रह हो । म गद्य कविताहरू लेख्ने भएकाले ‘रसका दृष्टिले नेपाली गद्य कविताहरूको अध्ययन तथा विश्लेषण’ लेख उपयोगी र महत्वपूर्ण लाग्यो । रामचन्द्र वर्माको ‘अच्छी हिन्दी’ सरसर्ती हेरेँ । हिन्दीको पुस्तक भए पनि भाषिक सिर्जनात्मक पक्षसंग सम्बन्धित विषय यसमा रहेका छन् ।

सर, आफनो पेसासँगै साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ । यो व्यवस्थापन के कसरी सम्भव भएको छ ?
पेसा र साहित्य सिर्जना बिच समयको तालमेल र इच्छा शक्ति प्रमुख हो । पेसाबाट बचेको समयलाई सिर्जनात्मक कार्यमा उपयोग गर्ने प्रयत्न गर्छु । संवेगहरू प्रबल रूपमा अनुभूति हुँदा कुनै पनि बेला कविता सिर्जना गर्ने प्रयत्न गर्छु ।

दैनिक काम र सिर्जनात्मक कार्यका लागि समय व्यवस्थापन के कसरी मिलाउनुभएको छ ?
मैले दैनिक घरायसी कामहरूको खासै चिन्ता लिनुपर्दैन । भैपरिआउने विशेष अवस्थाबाहेक जीवन संगिनी मीनाले नै गर्छिन् । छोराछोरीले पनि सहयोग गर्छन् । परिवारको साथ र सहयोग भएको हुनाले समय व्यवस्थापनमा खासै अप्ठ्यारो छैन ।

पछिल्लो समय नेपाली साहित्यको कान्छो विधा ‘साइनो’ प्रवर्द्धनमा देखिनुभएको छ ,के पाउनुभयो साइनोमा त्यस्तो आकर्षण ?
मेरो खास रुचिको विधा गद्य कविता हो । पछिल्लो समय ’साइनो’ संग पनि जोडिएको छु । खुसी लागेको छ । साहित्यकार छायादत्त न्यौपाने ’बगर’ को ’फेसबुक वाल’ मा सर्वप्रथम साइनो पढ्ने अवसर मिल्यो । आफ्ना केही जिज्ञासा र साइनो सम्बन्धी आधारभूत संरचना, मानक लगायत विषयमा हामी दुबैको सहमति भएपछि साइनो सिर्जना यात्रामा सामेल भएको थिएँ । यसका आफ्नै संरचना र मानकहरूमध्ये साइनोका स्वतन्त्र तीन गुच्छा, तिनको स्वतन्त्र अर्थ र समुच्चमा एउटै सिङ्गो गहन भाव बोध साइनोको सिर्जनात्मक प्रमुख आकर्षण हो मेरा निम्ति । यही मौलिक वैशिष्ट्यले नै साइनो अरु कविता भन्दा फरक स्वादको मौलिक कविता बन्न पुगेको छ ।

साइनो बारे यहाँले लामो लेख लेख्नुभएको छ, साइनोका दोस्रो सर्जक हुनुहुन्छ । साइनोको संरचना र यसका आवश्यक तत्त्वबारे स्पष्ट पारीदिनुहोस् न ?
साइनो सम्बन्धी केही लामा–छोटा लेखहरू लेखेको छु । विशेषतः सात,आठ र नौ अक्षरका तीन हरफ (गुच्छा), तिनको स्वतन्त्र अर्थ र समुच्चमा एउटै सिङ्गो भाव साइनोका आधारभूत महत्त्वपूर्ण संरचनात्मक मानक हुन् । गुच्छा र अर्थको अनेकतामा भावको एकत्व साइनोको संरचनात्मक मौलिकता हो । साइनो कविता भएको हुनाले भाव तत्व, शैली तत्व र लय तत्व नै यसका प्रमुख तत्व हुन् । अभिधा, लक्षणा र व्यञ्जना तीनै शब्द शक्तिको प्रयोग गरी नौवटै रसमा साइनो सिर्जना सकिन्छ । प्रतीक, बिम्ब र अलङ्कारको प्रयोगले भाव गहनता, पद–लालित्य र भाव सम्प्रेषणीयतालाई प्रभावकारी बनाउन सघाउँछन् ।

चौबिस अक्षरमा पूरै भाव, त्यसमाथि गुच्छाहरू स्वतन्त्र हुनुपर्ने यस्तो विधाले सिर्जनाको संरचनालाई जटिल बनाएन र ?
कुनै पनि खोज अनुसन्धान र सिर्जना सहजै गर्न सकि हालिन्छ भन्ने सोच्नु कति उपयुक्त होला ? यसका लागि प्रतिभा, रुचि, अध्ययन र अभ्यासको खाँचो हुन्छ । बाह्य र आभ्यन्तर दृष्टिले अन्य कविता भन्दा नयाँ शैलीको सिर्जना भएकाले केही जटिल लागेको हुन सक्छ । स्वतन्त्र गुच्छा, स्वतन्त्र अर्थ र समुच्चमा एउटै सिङ्गो भावले नै साइनो अरू कविताभन्दा फरक, स्वादिलो र लोकप्रिय बन्न पुगेको हो भन्ने तथ्यलाई पनि बिर्सनुहुँदैन ।

साहित्यका अरु विधाबाट भन्न नसकिने के छ र साइनोबाटै भन्नुपर्ने ?

साहित्यको मूल उद्देश्य आनन्दको अनुभूति र समाजलाई दिशाबोध गर्नु हो । अन्य विधाबाट पनि विचार व्यक्त गर्न सकिन्छ । प्रस्तुति र रचनाको प्रकार(शैली)को कुरा हो । गुच्छा र अर्थको अनेकतामा भावको एकत्व साइनोको अभिव्यक्तिगत मौलिक शैली हो ।

साइनोको बहस भएकै छैन भन्ने र यति छिटो समयमा धैरै माध्यमबाट विमर्शजन्य सामग्री आएका छन् । अध्यन गरौँ भन्ने दुबै भनाइ के कति सान्दर्भिक लाग्छन् ?
प्रश्न र जिज्ञासा उठ्नु स्वभाविक हो । सैद्धान्तिक बहस भएकै छैन भन्नु न्याय संगत हुँदैन । विभिन्न लेख, मन्तव्य र ’साइनो चौपारी’मा साइनोका विविध पक्षबारे विमर्श र बहस हुँदै आएको छ। व्यापक बहसको थप आवश्यकतालाई भने अस्विकार गर्न सकिदैँन

भर्खरको बालक, साइनो लेखनमा धेरै स्रष्टाहरू देखापरेका छन् । नयाँ नयाँ भएकाले यसलाई सकारात्मक मान्नुपर्ने देखिन्छ । गुणस्तर कायम राखेर साइनोको साख बचाउन के गर्नुपर्ला ?
नयाँ उपविधा भएकाले सर्जकको सहभागिता, साइनो सिर्जना र गुणस्तरीय ताका लागि पनि धेरै स्रष्टाहरूको संलग्नताको महत्वलाई अस्वीकार गर्न सकिदैँन तर गुणस्तर नै प्रमुख हो, संङ्ख्या होइन । साइनोको मानक कायम राख्दै हृदयमा स्पर्श गर्दै मस्तिष्कमा झन्कार उत्पन्न गर्ने प्रभावशाली साइनो नै लोकप्रिय र स्तरीय हुन सक्छ । स्तरीयता प्रतिभा, अभ्यास र अनुभवबाट प्राप्त हुने कुरा पनि हो । भावको गम्भीरता, प्रस्तुतिको चमत्कार, शैलीको रोमाञ्चकता र प्रभावशाली सिर्जनात्मकताद्वारा साइनोको साख बचाउन सकिन्छ जस्तो लाग्छ ।

साइनो लहडमा उम्रेको खहरे ‘न भूतो न भविष्यति’ भनेर ठट्टा गर्नेहरू हनुहुन्छ । उहाँलाई के सुझाब दिनुहुन्छ ?
कुनै काम र सिर्जना कहिले योजनाबद्ध, कहिले अनायास र स्वतस्फूर्त रूपमा हुन्छन् । साइनो स्वतस्फूर्त सिर्जना हो भन्ने कुरा यसका प्रणेताले प्रस्ट पारिसक्नुभएको छ । साइनो सिर्जना यात्राको एकवर्ष नपुग्दै धेरै सर्जकको संलग्नता देखिनु, यसले विभिन्न क्षेत्रमा स्थान पाउनु साइनोकार विष्णु पादुकाको ’साइनो’ कृति प्रकाशित हुनु ’साइनो सारथि’ साइनो संग्रह र ‘निरूको साइनो’ कृति प्रकाशनको तयारीमा रहनु आदि तथ्यहरूले साइनोको लोकप्रियता र उज्यालो भविष्यलाई सङ्केत गर्छन् । उहाँहरूलाई सुझाब भन्दा पनि, साइनोको सिर्जनात्मक मौलिकता, लोकप्रियता र प्रभावकारितालाई गम्भीरतापूर्वक नियालेर गुण दोषका आधारमा मूल्याङ्कन गरिनुपर्छ भन्ने मेरो धारणा छ । पूर्वाग्रहग्रस्त मानसिकताले होइन । भाव गहन र शैली सौन्दर्यले युक्त प्रभावशाली साइनो सिर्जना गरी साइनोलाई समृद्ध तुल्याउनु नै ’ठट्टाको’ गतिलो जवाफ हो जस्तो लाग्छ ।

संरचना, कपिकल्प दृष्टिले सुन्दर साइनो लेख्नका लागि सर्जकले ध्यान दिनुपर्ने कुराहरू के के हुन् । साइनो भाव प्रकाशनको सुन्दर भाषिक कला हो । यसका मानकहरूको सौन्दर्यबोध, जीवन र जगत्का यथातथ्यको भावानुभूतिहरूलाई कल्पना शक्ति र भाषिक सौन्दर्यले सिँगारेर बेजोड साइनो सिर्जना हुन सक्छ । । नयाँ नयाँ प्रतीक र बिम्ब र अलङ्कारले साइनोमा निखार ल्याउन सघाउँछन् । अध्ययन र अभ्यास पनि सहयोगी हुन्छन् ।

साइनोलाई विशेष गरी ‘हाइकु’ कै समकक्षी मान्नेहरू हुनुहुन्छ । उहाँहरूको चित्त कसरी बुझाउन सकिन्छ ?

सरसर्ती हेर्दा तीन हरफ, थोरै अक्षर समूह, संक्षिप्तता जस्ता कुरालाई देखेर तुलना गरिएको हुन सक्छ । समालोचकीय दृष्टिले तुलनात्मक अध्ययन–विश्लेषण गर्न नसकिने होइन तर यी दुबैमा तात्विक भिन्नताहरू छन् । साइनो नेपाली मन– माटोमा जन्मिएको सिर्जना हो । हाइकु जापानबाट आएको स्थापित विधा हो । हाइकु ५, ७, ५ को संरचनामा लेखिन्छ भने साइनो ७, ८,९ को संरचनामा लेखिन्छ । साइनोमा स्वतन्त्र अर्थवान् गुच्छा र समुच्चमा एउटै सिङ्गो भाव हुन्छ । शब्द गुच्छा, अर्थ र समुच्चमा भावको एकत्व जस्ता तत्त्वले साइनो हाइकु भन्दा फरक मौलिक शैलीको कविता हो भन्ने चिनारी दिन्छन्

साइनोप्रेमी स्रष्टाहरूबिच आवश्यक छलफल भई यसको मूल्यबोधमा एकमत हुन नसकिएको त होइन ? यस्तो आशङ्का कम गर्न हामी अभियन्ताहरूको भूमिका कस्तो हुनुपर्ला र अहिले भइरहेका काममा सुधार गर्नुपर्ने के के देख्नुहुन्छ ?
साइनोको मर्म सम्बन्धी जानकारीको अभावमा पनि यस्तो समस्या देखिएको हुन सक्छ । कसैलाई तितोपिरो लाग्न सक्छ, यो उपविधा नयाँ भएकाले यसलाई जतातिर पनि तन्काउन र ढल्काउन सकिन्छ भन्ने ठानेर व्यक्तिगत महत्वाकाङ्क्षा राख्नाले पनि समस्या आएको हुन सक्छ । भइरहेका प्रयत्नहरू सकारात्मक नै छन् । प्रत्यक्ष अन्र्तक्रिया, साइनो सम्बन्धी गोष्ठीहरू आवश्यक देखिन्छन् । साइनोका मौलिक विशिष्टतालाई पहिचान गरी साइनो सिर्जना गर्नाले एकरूपता कायम हुन सक्छ ।

अन्त्यमा मैले सोध्न छुटाएको र यहाँलाई केही छ कि ?
सन्तान जन्मेपछि पालन पोषण गर्नु, हुर्काउनु ठूलो जिम्मेवारी हो । उल्लेख गर्नुपर्ने नामहरू धेरै छन् एकमुष्टमा भन्नुपर्दा सबैको सिर्जनात्मक प्रयत्नले साइनो यति छिट्टै लोकप्रिय र बिस्तारित हुन सकेको हो साइनोको भविष्य उज्वल छ । साइनोको प्रचार प्रसारमा तपाईंको अग्रणी भूमिका रहेको छ । यो उत्साह-जाँगर रहिरहोस् ।

अन्त्यमा अन्तर्वार्तामार्फत् मेरा विचारहरू राख्ने अवसर दिनुभएकोमा तपाईं र तपाईंको टिमलाई विशेष धन्यवाद दिन चाहन्छु । अस्तु ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार २०:३० मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...