शिरिषाको नाकको डीलमा एउटा ठूलो कालोकोठी थियो । शिरिषा जहिले पनि ऐना अघि उभिएपछि निराश र उदास हुन्थी । उसले कालोकोठी उसको सुन्दरतामा कलङ्क ठान्ने गरेकी थिई । ऊ लामो समयदेखि त्यो नाकको डीलको कालोकोठी हटाउने उपायको खोजीमा थिई । नभन्दै एकदिन उसले एफएम रेडियोमा मुसा,कोठी हटाउने विज्ञापन सुनी । ऊ विज्ञापन सुनेर आशाबादी भई र आमाचाँहिलाई लिएर वैद्यकोमा पुगी । वैद्यले पन्ध्रसय रुपैयाँ लिएर उसको कोठीमा खोई के भतभती पोल्ने औषधि लगाइदियो र बाँकी औषधि दिनको दुई टाइम लगाउनु भनी शिरिषालाई घर पठाइदियो ।
नभन्दै औषधि लगाएको केही दिन नबित्दै उसको त्यो नाकको डीलको कालोकोठी झरेको थियो । उसले त्यो दिन घण्टौसम्म ऐना अघि उभिएर आफ्नो अनुहार हेरेकी थिई र मुस्कुराएकी थिई । छोरीको खुसीमा ममीबुवा पनि सामेल भएका थिए ।
एकदिन शिरिषाले मोबाइलमा एउटा मेसेज देखी ‘ बधाई छ शिरिषाजी ! तपाईलाई डिभी परेको छ । ’ मेसेजमा लेखिएको थियो । मेसेज पढेपछि शिरिषा खुसीले बुर्लुक्क उफ्रिएकी थिई । उसको फेशबुक वालमा बधाई सन्देशको ओइरो लागेको थियो ।
त्यसपछि बाँकी प्रक्रिया शुरु भएको थियो । शिरिषाकी ममीलाई चैं छोरीलाई डिभी परेको कुरा टोल छिमेकमा सुनाउन भ्याइनभ्याई थियो ।
चरणवद्ध रुपमा शुरु भएको प्रक्रिया अनुरुप एकदिन शिरिषा बुवाममीसहित काठमाडौंस्थित दूतावास पुगी । त्यहाँ उसलाई एकजना विदेशी अधिकारीले राहदानी मागेका थिए । शिरिषालाई त्यसपछि त्यस अधिकारीले एकदुईवटा प्रश्न अंग्रेजीमा सोधेका थिए जसको जवाफ शिरिषाले पनि फटाफट दिएकी थिई । त्यसपछि त्यस विदेशी हाकिमले पासपोर्टमा टाँसेको शिरिषाको फोटोलाई निकै बेर नियालेर हेरेका थिए ।
उनले कहिले पासपोर्टमा त कहिले शिरिषाको अनुहारमा पटक–पटक हेरेका थिए र अन्तमा नाक खुम्च्याउँदै भनेका थिए “ आइ एम सरी !” यति भनी उनी कुर्सीबाट उठेर अन्यत्र लागे । त्यस विदेशी अधिकारीले ‘आई एम सरी ’ भन्दै पासपोर्ट फर्काइदिएपछि शिरिषा छाँगोबाट खसे सरह भएकी थिई । उसलाई खलखली पसिना आएको थियो । किन ?… कसरी ?…. भनी प्रश्न गर्ने अवस्था थिएन । बाहिर खुसीको समाचार सुन्न पर्खेर बसेका बुबाममी छोरी अँध्यारो अनुहार पारेर फर्केकी देखेपछि शंशकित बनेका थिए । शिरिषा केही नबोली एकाएक ममीचाँहिको काखमा घोप्टो परेर घुघु गर्दै निकैबेरसम्म रोई रही । ०००
निजगढ, बारा, हाल-ललितपुर, काठमाडौं
वि.सं.२०७७ वैशाख ६ शनिवार ११:५९ मा प्रकाशित






























