रचना : दिपकप्रसाद न्याैपाने [ वाचन : दिपा भट्टराई ]
कोरोना अति कष्टकारक भयो बढ्दै छ आगो भई
सारा विश्व विषाणुकै वश भयो बल्दै छ डढ्दै छ नि
एक्लो यो परदेशमा छु अहिले आधार को भेट्छु र ?
प्यारो राष्ट्रत्यहीँ छ आश्रय दिने, फर्कन्छु बाँचे घर ।१।
कालो काल कराल भीषण नयाँ आकारमा देखियो
बाँच्नै पो अब कष्ट भो, कति छिटो संसार ढाक्तै छ यो
ढोका बन्द भए म छु कहरमा खानु यहाँ के छ र ?
प्यारो बास त्यतै छ, जीवन दिने फर्कन्छु बाँचे घर ।२।
मेरा बान्धब, इष्टमित्रहरूको आधार मात्रै भए
मेरो स्वच्छ हिमालका सलिलका थोप्पाहरू बर्सिए
प्राणै धान्न म सक्छु, छैन तर क्यै आक्रान्तमा छु तर
प्यारा इष्ट र मित्र बान्धब त्यतै, फर्कन्छु बाँचे घर ।३।
भोका छौँ कति, रुग्ण छौँ र कति छौँ बेचैन सन्त्रासमा
फेर्दै छौँ कति सास अन्तिम यहाँ एक्लै निराधारमा
पानी मात्र भए पनि नजिकमा प्युँथेँ दिने को छ र ?
आमाबाबु उतै, उतै छ ममता फर्कन्छु बाँचे घर ।४।
मर्दै छौँ, तर ज्ञान, बुद्धि र कला संज्ञान मर्दैन कि
बाँच्ला मानवता डटी प्रकृतिमा विज्ञान हार्दैन कि
होला मृत्यु यहीँ, अकिञ्चन भईकस्को गरूँ खै भर ?
हे विज्ञान बना न औषधि छिटो फर्कन्छु बाँचे घर ।५।
फाइल तस्विर
वि.सं.२०७७ वैशाख ७ आइतवार १६:४१ मा प्रकाशित






























