ए सहर तिमीले
किन यसरी
मान्छेको आयु घटाइरहेछौ
कतै रोगको नाममा
तीर चलाइरहेछौ
कतै भोकको नाममा
विष पिलाइरहेछौ
कतै शोकको नाममा
चिता जलाईरहेछौ
तिमीले
दिन प्रतिदिन
घरबारबिहिन मान्छे
रोग,शोक र भोकको
नाममा निलिरहेछौ
निरन्तर निलि नै रहेछौ….
तिमीले त ठूलठूला महलभित्र
जंगली जनावर पो पालिरहेछौ
ती गगनचुम्बी भव्य महलहरूमा
नरभक्षी गीद्द पालिरहेछौ
जंगली अजिंगार पालिरहेछौ
परजीवी किर्ना पालिरहेछौ
तिमीले शान ठानेको
सेतो दरबारभित्र
कालो मसान पालिरहेछौ
मान्छेको खुन र पसिनाले
पोसिएका ती मसानहरूले
मान्छेलाई नै
सन्चले बाँच्न त दिएनन् दिएनन्
मर्न पनि दिएनन्
कालगतिले देह त्याग्न गर्न पनि दिएनन्
सिंगै निलिरहेछन्
जिउँदै निलिरहेछन्
मान्छे मात्रै निलेका छैनन्
सारा तराई, पहाड र हिमाल निलिरहेछन्
मिलिजुली सिंगो देश निलिरहेछन्
दनदनी बलिरहेको आगोमा जबरजस्ती
धकेलिएको छ देश
त्यो आगो भोकमारीको किन नहोस्
त्यो आगो रोगव्याधीको किन नहोस्
झुपडीहरूमा आगो सल्काई
जिउँदै जलेर मर्न बाध्य पारिएको छ
मान्छेमाथि मान्छेको लास गाडिएको छ
ए सहर तिमी कसरी हेर्न सक्छौ
रमिते भएर यो दृश्य
कसरी साथ दिन सक्छौ
ती पथभ्रष्टहरूलाई
कसरी काँध दिन सक्छौ
ती मतिभ्रष्टहरूलाई
आफ्नै पौरखमा
बाँच्न चाहनेहरूको
दिनदिनै दाह संस्कार गरेर
रगत चुस्ने परजीवी पालिरहेछौ
थाहा छैन किन तिमीले
तिमीले सिंगो देश निल्ने
अजिंगार पालिरहेछौ
ए सहर किन तिमीले
मान्छे निलेर
मसान पालिरहेछौ
मान्छे निलेर
मसान पालिरहेछौ ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार १७:०७ मा प्रकाशित






























