समान थिए अभावहरु
हिउँ जस्तो-कञ्चन थियो मन ।
तिमी मट्टीतेल दिन्थ्यौ
म नुन दिन्थें ।
तिमी कोदोरोप्न आउँथ्यौ
म धान रोप्न आउँथे ।
ऐँचोपैँचो पर्म गर्थ्यौं
र पो
जीवन चलेको थियो ।
म तिम्रा आँसु पुछिदिन्थें
तिमी मेरा आँसु पुछिदिन्थ्यौ
अनि पो सुखदुःख छिचोल्दै
मन फुरुङ्ग रमाएको थियो ।
*
कोही रोपाहार बन्थ्यौँ-कोही बाउसे
असारे गीतको भाकामा
हामी नाँच्थ्यौं-प्रकृति रमाउँथ्यो
र पो
सिर्जनामा बसन्त मुस्कुराउँथ्यो ।
एउटा मादल घन्काउथ्यो
अर्को खैँजडी बजाउथ्यो
र पो
जीवनका रहरहरु मयूर बनेर नाँच्थे ।
*
कस्ले दफन गर्यो होला
ती लोभलाग्दा सुन्दर चलनहरु
इतिहासको पत्रैपत्रमा।
कस्ले उत्खनन गर्ला हँ !!
जीवन्त ती मौलिक परम्पराहरु।
रुँदैछन्-अतीतको अनन्त पत्रमा
मेलापातका प्रेमिल दोहोरीहरु ।
बन्दैछन्-कथाका घटना
बालन रोदी
चण्डीनाँच र धाननाँचका थिरकनहरु ।
*
संग्रहालयको कोठरीमा कोचिएका
बिनायो मुर्चुङ्गा मुरलीका
कर्ण्प्रिय धुनहरु
अब कस्ले सुनाउला
हाम्रा भाविसन्ततिलाई ।
नौमती र पञ्चेबाजाका
सागरका लहर जस्ता आवाजहरु
कहानी बनेर अस्ताउँदैछन् ।
*
आफ्नू चमकदार इन्द्रेणी अस्तित्वको
सुन्दर सपाट अनुहारलाई
आफ्नैं हातले …
भद्धारङ्गको पोतेरीमा-पोतो चोब्दै
पोतिरहेको छ …घोलिहेको छ…..
हिउँमा फरक रङ्ग
म बाँचेको कुरुप समय ।
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:४६ मा प्रकाशित





























