अचम्मित भएँ साँच्चै-प्रकृति नै डराउदा
दैवले नै अत्याचार-गर्दै आज फसाउदा
बाढी पैरो कतै सुन्छु-गयो सारा विनाश भै
जाडो मौसमको अन्त्य-हुनै मान्दैन ए ! अझै ।।
अनिष्ट भो भनी सारा-आत्तिई जग्मगाउछन्
साँच्चै संसारको दृश्य-एकैनास बताउँछन्
भागौँ छैन कुनै बाटो-कोरोनाले जतातता
आँखा अघाडिको पर्दा-देखेर तर्सिएँ मता ।।
खोस्रिएको धरा फेरि-बाँझो जस्तै बनाउला
ढुङ्गा आकाशका झार्दै-खेती नष्ट गराउला
विकासको दियो बल्दा-आयो कोही निभाउन
ठूलो सानो सबै उस्तै-थाल्यो सारा मिलाउन ।।
खै देवी देवता पुज्दा-कुनै शान्ति भएन त
ढ्याङ्ग्रो ठोकेर तर्साए-छोडी कतै गएन त
खोर खोर भनी हाल्यो-पिँजडामा सरासर
संसारमा डुल्यो आफू-दौडिएर खराखर ।।
सुन्दा सुन्दै रुवावासी-दुख्यो छाती कठैबरी !
मध्यरात खुल्यो निन्द्रा-याद झल्किन्छ झल्झली
धैर्य गरौँ अझै थोरै-भागी जान्छ कि यो अब
जो जो बसे घरै भित्र-रहे जीवनमा सब ।।
छन्दः अनुष्टुप
वि.सं.२०७७ वैशाख २७ शनिवार ०९:५७ मा प्रकाशित




























