१
दुःख पिर चिन्ता कुनै कुरा, अब म लेख्दै लेख्दिन
तिम्रो अनि छिमेकीको कुरा, अब म लेख्दै लेख्दिन
कहिले त, आफ्नाको कुरा पनि त मान्नु पर्यो नि मित्र
नभएको बाहेक भएको कुरा, अब म लेख्दै लेख्दिन
२
मन मेरो बेईमान, पराईलाई पनि आफ्नै ठान्छ नि
दिल मै डेरा जमाएर, उनैलाई पो आफ्नो मान्छ नि
बन्द छातीमा कहाँ बाट छिर्यो यो मायाँ भन्ने चिज ?
बल्छीमा फंसेको माछालाई झैं बेलाबेला तान्छ नि
३
जिन्दगी को महत्व तिम्रो हाम्रो,“सास“ रहे सम्म न हो
तिम्रो मेरो सम्बन्धको कहानी, “खास“ रहे सम्म न हो
जलवायु जस्तै परिवर्तित हुने जमाना हेर ! भर कहाँ छ
माया मोह जताउने स्वार्थ हेरी , “आश“ रहे सम्म न हो
४
भेट हुन्थ्यो नजर झुक्थ्यो, कयौं दिन बिते त्यसै ’गनिएन’
लाएथ्यें मायाँ एकछत्र, भन्नपर्ने कुरा मुख फोडी ’भनिएन’
अन्तरयामी न म हुन सकें, न तिमीले बुझ्न सक्यौ प्रिय !
बर्षौं पछि आएथ्यो पत्र, भिजायो आँसुले पढनै ‘सकिएन’
५
लोकतन्त्रमा आफू बाहेक, ‘लोकै’ देख्दैन मेरो सरकार !
आफू खाई डकार्छ जनता, ‘भोकै’ देख्दैन मेरो सरकार !
नशाले चुर छ, कुखुरे बैंस छ, प्रहर्षण भएको छ दुनिया
भोका नाङ्गा दुःखी र गरीब, ‘रोकै’ देख्दैन मेरो सरकार !
वि.सं.२०७७ वैशाख २७ शनिवार १०:०७ मा प्रकाशित