आफ्नो भूमी दुवै छिमेकी विरुद्ध प्रयोग गर्न दिन्नौँ भनेर आफु माथि परेर बार्ता गर्न सक्थ्यौँ, तर मन्त्री प्रधानमन्त्री बन्न राजदुतावास धाउने हाम्रा नेताहरुसँग त्यो नैतिक साहस कताबाट आओस् ? आफु सत्ता बाहिर हुँदा भारत विरुद्ध बोल्ने, जनता भड्काउने अनि सत्तारोहणसँगै सबै कुरा भुल्ने सबै नेताहरुको नियति नै बन्यो । हामी नेपाली जनता भने सधैँ यी नेताहरुको राष्ट्रवादी भावनाले भारतलाई कालो देखेरेअरु रङ्ग हेर्न बिर्स्यौँ ।
हिंसाको विजारोपण अङ्ग्रेजहरुको अघोषित धरोहर नै हो । (Divide and Rule) विभाजन पछि शाषणर शोषण गर्न सजिलो हुन्छ। भारत र पाकिस्तान बीचको सम्बन्ध जस्तै, द्वन्द प्रतिपादन गर्ने सिद्धान्तको परिणाम इजरायल र प्यालेस्टाइन बीचको सम्बन्धमा देख्न सकिन्छ ।
छोटकरीमा इतिहास:
– प्रथम विश्वयुद्धमा आफुलाई सहयोग गरे बापत छूट्टै यहुदी राज्य स्थापनाको लागि सहयोग गर्ने ब्रिटिशहरुको जायनिस्टहरुलाई प्रस्ताव (Zionist: यहुदी धर्म मात्रै नभइ निश्चित भूमीमा बसोबास गर्ने राष्ट्रियता भएको विश्वास राख्नेहरु) । यही प्रस्तावको निरन्तरता स्वरुप सन् १९१७ मा, बहुसङ्ख्यक मुस्लिम जनसङ्ख्या भएको प्यालेस्टाइनमा ९ प्रतिशत मात्र रहेका यहुदीहरुको राज्य रहन दिने बाल्फर घोषणा।१९३५ मा यहुदी जनसङ्ख्याको अनुपात तेब्बर भएर २७ प्रतिशत पुग्यो।
-दोस्रो विश्वयुद्धताका नाजी शासित क्षेत्रमा यहुदीहरु लक्षित हिंसाले बिकराल रुप लियो, फलतः प्यालेस्टिनि भुमीमा यहुदी अध्यागमन आकासियो। विश्वयुद्धको समाप्तिसँगै तीव्र जनसङ्ख्या अनुपातको परिवर्तनले दुई समुदायबीच द्वन्द बढ्यो । यो समस्याको समाधान आफुले गर्न नसक्ने भनी बेलायतले समस्या नवगठित सयुंक्त राष्ट्रसंघलाई बुझायो ।
– सन् १९४८ मा संयुक्त राष्ट्रसंघले यहुदी र मुस्लिमको लागि छुट्टै राज्य हुने प्रस्ताव अघि सार्यो । जायनिस्टहरुले सहर्ष स्वीकारेर इजरायल स्थापनाको घोषणा गरे । मुस्लिम प्यालेस्टिनिहरुलाई यो स्वीकार भएन । मुस्लिम बन्दुहरुलाई सहयोग गर्ने निहुँमा इजिप्ट, जोर्डन लगायत अरब लिगका देशहरुले इजरायलमाथि आक्रमण गरे । इजरायल विजयी भयो; संयुक्त राष्ट्रसंघले तोकेको सीमा भन्दा धेरै भुमी इजरायलमा गाभियो । इजिप्ट र जोर्डनले पनि गाजा र वेस्ट ब्यान्कमा कब्जा गरे । प्यालेस्टिनिहरु भुमीबिहिन शरणार्थी भए ।
-त्यसपछि पनि विभिन्न सशस्त्र युद्ध र निरस्त्र झडपका श्रृङ्खला कायमै छ। केही भुमी फिर्ता पाए पनि, आम प्यालेस्टिनिले कहिल्यै शान्ति र सुख देख्न पाएको छैनन्। ठिक विपरित इजरायल भने एक विकसित र शक्तिसाली राष्ट्रको रुपमा स्थापित छ ।

अल्छी एकाङ्गी सोच
स्वभावैले हामी मानवअलिकति बढी सोच्न अल्छी गर्छौँ । सतही कारण भन्दा एक तहमात्रै पनि गहिराईमा सोच्दैनौँ । हाम्रो यही सोच्न अल्छी गर्ने बानीको फाइदा लिन राजनीतिज्ञहरु खप्पिस छ्न । राजनीतिज्ञहरुले यो रङ्गिन विश्वलाई आफ्नो ब्ल्याक एन्ड व्हाइट लेन्सबाट यसरी बयान गर्छन, हामी अरु रङ्ग हेर्नै बिर्सन्छौँ !
हामीलाई धर्ममा, जातिमा विभाजित गर्नराजनीतिज्ञहरु त्यसै सफल भएका हैनन्।पुँजीवाद राम्रो कि साम्यवाद भनेर हुने मन्थनमा पनि यही एकाङ्गी दृष्टिकोण मज्जाले हेर्न पाइन्छ । “भ्रष्टचारीलाई मृत्युदण्डै चाहिँ दिनु हुँदैन” भनेर भन्दा, “यो त भ्रष्टाचार समर्थक पो रहेछ” भनेर गरीने व्याख्या यही अल्छी सोच र धूर्त राजनीतिज्ञहरुबाट थोपरिएको एकाङ्गी दृष्टिकोणको उपज हो ।
Daniel Kahneman को Thinking fast and slow भन्ने किताबमा, गैर राजनीतिक क्षेत्रमा सोच्न अल्छी गर्ने बानीको राम्रोसँग चिरफार गरिएको छ।
इतिहासको विमर्श: अर्को पक्षलाई कालो देखाउने दुस्चक्र
नाजीहरुले जर्मन जनतालाई जर्मनीको दुखको श्रोत सबै यहुदी भएको देखाए, जायनिस्टहरुले सारा क्रिष्ट्चियन र मुस्लिमहरु यहुदीको विरुद्ध भएको देखाए, प्यालेस्टिनि नेताहरुले सबै यहुदी हराम भएका र यिनीहरुलाई संसारबाटै निमिट्यान्न पार्नु पर्ने बताए । यथार्थमा “केही” बाट “सबै”को दुरी ठुलो भए पनि हाम्रो अल्छी दिमागमा भने त्यो दुरी पार गर्न कसैको सङ्केतमात्रै काफी छ । विशेसतः घृणा फैलाउन सजिलो, भ्रातृत्व फिजाउन अलि गाह्रो हुन्छ। यी धूर्त राजनीतिज्ञहरुले, केही नराम्रा यहुदीहरुको कुकर्म, केहीदुष्ट मुस्लीमका घृणा, र केही यहुदीका अतिवादी सोचलाई क्रमशः सबै यहुदी र सबै मुस्लिममा सामान्यीकरण(generalize) गरेर समाजमा द्वेषको राजनीति स्थापना गर्न सफल भए । हामी बनाम तिनीहरु (us vs them) नै दुवै पक्षको मुख्य नीति भयो ।
इजरायली र प्यालेस्टिनि नेताहरुले आफ्नोलागि जनताको लागि राम्रो गर्न नखोजेका पक्कै हैनन ।फरक यत्ति हो, प्यालेस्टिनि नेताहरु हरेक चालमा इजरायली नेता भन्दा एक दाउ पछि परे ।१९१७ मा ब्रिटिशहरुलाई वक्तव्य बाजी गराउने, १९४७ अमेरिकालाई आफ्नो पक्षमा परिणत गराउनेदेखि १९६७ मा लगभग सम्पुर्ण प्यालेस्टाइन आफ्नो बनाउने कार्यमा इजरायली नेतृत्व सफल भयो । प्यालेस्टिनि नेतृत्व भने घरी अरब लिगको चङ्गुलमा परेर घरी अन्तराष्ट्रिय सम्बन्ध सुधार गर्न नसकेर चालमाथ खाँदै गयो ।
१९१७ देखि उप्रान्तको समय पटक पटक पराजित हुँदा पनि प्यालेस्टिनिहरुले चलखेल र प्रोपागान्डाको राजनीति बुझ्न सकेनन । केही अतिवादीहरुको भड्कावमा आएर हिंसात्मक बाटो रोज्दै गरे, अनि इजरायलीको पासोमा पटक पटक आफैँफाल हाले । इजरायली जनता रसंसारलाई प्यालेस्टिनिले गर्ने “हिंसा” देखाउन इजरायली नेतृत्वलाई खुराक दिइरहे। “हामी बनाम तिनीहरु” को लागि मलजल गर्ने, इजरायलीप्रति हिंसाको बाहना भएको छ; प्यालेस्टिनि “हिंसा” ।
इजरायली नेतृत्वले भने आफुलाई राजनैतिक दाउपेच र प्रोपागान्डामा अब्बल साबित गराए । अस्तित्वमै नरहेको स्थानमा राष्ट्रको कल्पना देखि चारै तिर अरब राष्ट्रहरुसँग युद्ध लडेर स्थापित आफ्नो राष्ट्रलाई कालान्तरमा समृद्धमात्रै हैन सशक्त पनि बनाउन सफल भए; इजरायली सेना संसारकै बलियो सेना मध्ये पर्दछ । इजरायलले आफुलाई शक्तिशाली बनाउन जे जसो गर्यो त्यस्को निर्क्योल भविष्यले गर्ने छ । तर, प्यालेस्टिनिहरुको राजनैतिक सुझबुझको कमी र आक्रोशमा निर्णय गर्ने बानीको फाइदा चाहिँ इजरायलले भरमग्दुर उठाएको छ ।
भारतीय सामरिक स्वार्थ र भावुक नेपाली जनता
चीनमाथि भारतको संशय दुनियाँबाट लुकेको छैन । त्यसमाथि लिपुलेखकको बाटो हिमालय छेडेर भारत पस्न सजिलो मध्येको पास हो। त्यस्तोमा कालापानी र वरपरका क्षेत्रमा भारतको सामरिक स्वार्थ हुनु एकदम स्वभाविक हो । तर नेपालमा नेताहरुले भने कहिले भारतीय सामरिक स्वार्थलाई सम्बोधन गर्ने प्रयास पनि गरेनन् ।
आफ्नो भूमी दुवै छिमेकी विरुद्ध प्रयोग गर्न दिन्नौँ भनेर आफु माथि परेर बार्ता गर्न सक्थ्यौँ(negotiating from position of strength)। तर मन्त्री प्रधानमन्त्री बन्न राजदुतावास धाउने हाम्रा नेताहरुसँग त्यो नैतिक साहस कताबाट आओस् ? आफु सत्ता बाहिर हुँदा भारत विरुद्ध बोल्ने, जनता भड्काउने अनि सत्तारोहणसँगै सबै कुरा भुल्ने सबै नेताहरुको नियति नै बन्यो । हामी नेपाली जनता भने सधैँ यी नेताहरुको राष्ट्रवादी भावनाले भारतलाई कालो देखेरेअरु रङ्ग हेर्न बिर्स्यौँ ।
सायद आजित भएर अथवा मोदीको अतिराष्ट्रवादबाट प्रभावित भएर २०१५ यता भारतको नेपाल प्रतिको रवैया भने ब्यापक परिवर्तन भएको छ । नाकाबन्दीमा नेपाली जनताको शक्ति बनेको राष्ट्रप्रेमलाई नै सायद मोदी सरकार यसपाली आफ्नो पक्षमा प्रयोग गर्दैछ । केही अगाडी मात्र भारतीय सेनापतिले नेपाली विरोध चीनबाट प्रायोजित हुन सक्ने बताएका थिए । यसले नेपाली तथा भारतीय संचार माध्यममा धेरै चर्चा पायो, अनि भारतमा जाग्दो डरलाग्दो कथनमा प्रकाश पार्यो । कथन होः नेपालीहरु कम्युनिस्ट पार्टीको नेत्रित्वमा चीन परस्त भइसके, त्यसैले भारत विरुद्ध षड्यन्त्र गर्दै छन ।
सत्य भन्दा कथनले हाम्रो अल्छी सोचाइँमा कसरी प्रभाव पार्छ भनेर हेर्न, हाम्रा मधेसी दाजुभाइहरुले गर्नु भएको आन्दोलन नै काफी छ । राष्ट्रवादी नेताको कथन थियो मधेसीहरु भारत परस्त भए, उसकै इशारामा आन्दोलन गर्दै छ्न्। जब मधेसी साथीहरु त्यो गलत कथनबाट उद्वेलित भएर आफ्नो आक्रोष पोख्न थाले, हामी पहाडेहरुले उहाँहरुको आक्रोशमा भारतप्रतिको लगाव देख्न थाल्यौँ । परिणाम; खोक्रो राष्ट्रवाद हाम्रो आँखा अगाडी छर्लङ्गै छ । अहिले नेपालीहरुले अन्तराष्ट्रिय फोरमहरु र सामाजिक संजालमा जस्तो आक्रोषित अभिव्यक्ति हाल्दै छ्न्, भारतीय जनताको दृष्टिकोणबाट हेर्ने हो भने उसको सरकारको कथन साँचो देखिन्छ ।
अबको निकासः
आफ्नो अगाडी चरम कठिनाइको सामना गरेर कसरी उठ्ने इजरायलबाट सिकौँ । आफुसँग भएको शक्तिको सही प्रयोग गरौँ । भारतीय जनतासँग नागरिक स्तरमा जुन मित्रता छ, त्यो नै हाम्रो सबैभन्दा शक्तिशाली हतियार हो ।
बुद्धको देशको हामी, घृणा कतैबाट नि न निकालौँ । हाम्रो आक्रोषलाई आफ्नो अतिराष्ट्रवादको इन्धन बनाउन तम्तयार शत्रु चिनौँ। भारतीय जनताको मन जितौँ, दुश्मन त्यसै पराजित हुन्छ । मन जित्न सजिलो छैन, भारतीय साथीहरुलाई फरक कथन सुनाइएको छ । त्यो कथन चिरेर आफ्नो आवाज पुर्र्याउनु छ । अरु कुनै विकल्प छैन । सत्य मात्रै हैन कथन पनि महत्वपूर्ण हुन्छ भनेर बुझ्न जरुरी छ । जो पीडित छ उसैलाई पीडकको रुपमा कसरी चित्रण गर्न सकिन्छ भनेर प्यालेस्टाइन इजरायल द्वन्दबाट सिकौँ ।
खोक्रो राष्ट्रवादी चिनौँ, कहिले भोट नहालौँ ।
वि.सं.२०७७ जेठ ४ आइतवार ११:५५ मा प्रकाशित






























