#मजदूर
जो जून जस्तो रोटी कमाउन
हिडेको हो सुदुर
जो रहरको फलैँचा बुन्दै
सपनाको इन्द्रेणी बटुल्न हिडेको हो सुदुर ।
#मजदुर
उ त भोकको तिर्खा मात्र बुझ्छ
उ षड्यन्त्र गर्न जान्दैन
उसका चप्पलविहिन खुट्टाहरु
मृत्युको हस्ताक्षर पत्रमा
आफ्नो नाउँ लेखेर
घरको संघार काटेपछि त
देशले भात खान्छ ।
#मजदुर
कारपरेटहरुको
बडे बडे अट्टालिका
पूल, सडकभरि
पसिना र रगत चुहाउँछ
अनि
देश डम्म अघाउँछ ।
#मजदुर
जब कलान्त भएर साँझमा
फुस्स निदाउँछ भुइँमा
आँखाभित्र सपनामा
उसले छाडी आएको परिवारको
भोको अनुहार र पीडा देख्छ
र उ झसङ्ग ब्युँझन्छ ।
#मजदुर
प्रत्येक दिन
युद्ध बोकेर बाहिर निस्कन्छ
अनि मृत्युलाई कुनै गल्छेडीतिर झुक्याई राखेर
डेरा फर्कन्छ
मृत्युसित उ कहिले डराएन ।
देशले
माथि आकाशबाट…..
होइन….
उड्दै गरेको हेलीकाप्टरबाट
उसको मुखमा फूलहरु बर्साउँछ
र भन्छ-थप्पडी बजाउँ ।
देशले
बन्द डाकेपछि
देशले उसको हात खुट्टा
र च्यापुमा ताला लाएपछि
अभावको पोखरीमा
उ झ्वाम्म डुबेको छ
अनिन्दो रातहरुको
अईँठनले
उ रोगी बनेको छ
उ बहुलाएको छ
अब हजार माइल टाडामा
उसको घरले रासन पायो पाएन..??
हजार माइल हिडेर भए पनि
परिवार भेट्न पुग्छु भन्छ !!
#मजदुर
जसको
जिन्दगीको पृष्ठहरुमा
हारहरुको बेहिसाब कथा छ
तर हरेक अभावमा
किन सिकन्दर जस्तै उ हाँसीदिन्छ..??
सानी
बुनु
भुन्टेको अनुहार सम्झिन्दै
रेलगाडी कुरीरहेछ उ
उसको
मनभरि विद्रोहको
गीत बजीरहेछ ।
देशको कुनामा कुनामा थुनिएका
लाचर र असहाय बनेको
यी ३ मजदुरहरु
सरकारको फरमान विरुद्ध खाली खुट्टा हिडेको हो
आफ्नो चप्पलहरु र जुत्ताहरु
मोटर गाडी हेलीकोप्टरमा
मास्क लाएर चढी आउने
राजनेताहरुलाई दिएपछि त हो
त्यसको साटो रेलगाडी आईपुगेको
जिन्दगीको प्लेटफार्ममा ।
नाङ्गो देशको नाङ्गो गीत
गाइरहेछ # मजदुरहरु
आफै नाङ्गिएर
देशको नग्नता ढाक्दैछ
# मजदुरहरु ।
# श्रमको ईश्वर
पहिलोपल्ट घुटना टेकेर
बारम्बार चुमी रहेछ
उ चडने रेलगाडी
अब उ ढुक्क छ
अब उ घर पुग्छ ।
एउटा आइला जस्तै आँधी कतै बाटोतिर आउँदैछ
त्यसले तहस नहस पार्ने हो कि
# मजदुरहरुको सपना ..???
# मजदुरहरु घर पुगोस्
र
देश बाँचिरहोस् ।
(समाजिक संजालमा जब यो फोटो देखे निकै बेर सोच्न बाध्य बने, यी मजदुरहरुको पीडा र संघर्ष सम्झे । बडी भावुक र संवेदनशील भए त्यसपछि यो कविता लेखे )

वि.सं.२०७७ जेठ १० शनिवार ०९:३० मा प्रकाशित






























