१
पीडामा छ देश आज संत्रासले घेरेको छ
दुश्मनले चारै दिशा तिरबाट बेरेको छ
उठ्नुपर्छ जुट्नुपछ बलिदान्को बेला भयो
प्रकृतिले पनि आफ्नो रूप अर्कै फेरेकोछ ।
२
तिम्रो छाती दुश्मनको बाटो भयो आमा
सधै भरि दुखि रहने खाटो भयो आमा
देशको लागि प्राण दिने बलभद्र छैनन् अब
पुर्खाको गौरव गाथा माटो भयो आमा ।
३
दिन रात भिज्छ्न आँखा कति आँसु पिउँ
मृत्युसंग लड्दै लड्दै कस्तो जीवन जिउँ
कैँची बनि काटी रहन्छ सम्झनाले सधैं
च्यातिरहन्छ छाती सधै कुन सियोले सिउँ ।
४
फूललाई पनि काँडाको त्रास हुँदोरहेछ
सम्बन्धलाई सुरक्षाको आश हुँदोरहेछ
पत्ताले पनि टोड्ने मुटु पत्थर बनाउनुछ
छाती भित्रै पीडाको निवास हुँदो रहेछ ।।
५
कहिल्यै साथी भएन तक्दिर पनि
टुक्रिएन यो यादको जन्जिर पनि
कति गाढा बनेर बसेछ छातीमा
आँसुले धोएँ गएन तस्बिर पनि ।
वि.सं.२०७७ जेठ १० शनिवार ०९:३१ मा प्रकाशित






























