
२४ जेठ, काठमाण्डौं । नेपालमा आज २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पुष्टि भएकामा डोल्पा र धनगढीका २ जना रहेका छन् ।
सेति प्रादेशिक अस्पतालमा किड्नीको डाइलोसिस गराउन आएकी धनगढी ४ की ५५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।
जेठ २३ गते सेति अस्पतालमा डाइलोसिसका लागि आएकी उनको शुक्रबारै दिउसो १२ बजे डाइलोसिसको क्रममै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणको कुनैपनि लक्षण नदेखिएको उनको अस्पतालको प्रयोगशालामै गरिएको पिसीआर परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
त्यस्तै डोल्पाको जगदुल्लाका ५८ वर्षीय पुरुषको पनि जेठ २१ गते रातको २ बजे मृत्यु भएको छ । उनी सुर्खेतबाट जेठ १६ गते डोल्पा गएका थिए । १८ गते डोल्पाको क्वारेन्टाइनमा बसेका उनको २१ गते मृत्यु भएको हो । उनमा दमको समस्या भएको बताइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनको श्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट उनको मृत्यु भएसँगै उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली डोल्पा जान लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
जेठ २१ र २३ गते धनगढी र डोल्पाका २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
file photo