२७ जेठ, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोनाबाट पार लगाउन नसक्ने भन्दै आक्रोश पोखेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले अब यो सरकारले कोरोना महामारीबाट पार नलगाउने हुनाले अब कांग्रेसले सहयोग गर्छौ भनेर नबस्ने र प्रश्न गर्ने अनि उत्तर माग्ने र सरकारलाई जवाफदेही बनाएर छाड्ने बताए ।
‘कांग्रेशले मात्र होइन धेरैले सरकारलाई यो गर भनेर सुझाव दियौं, तर न हाम्रो सुन्यो न अदालतको सुन्यो न प्रेसको सुन्यो न नागरिकको सुन्यो, ’ थापाले भने,‘ कसैको सुनेन । नसुन्दै गर्दा आज हाम्रो नियन्त्रणमा रहँदा रहँदै पनि आज हाम्रो यो अवस्था आयो । यो त्यसै भएको होइन, यसको दोष कस्को ? कानुनले रोकेको हो ? ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? के अदालतले रोकेको हो ? कस्ले रोकेको हो ? यो रोकेको केवल सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको हो ।’
नेता थापाले सरकारको असक्षमता र अर्कमण्यताको कारणले गर्दा आज यो अवस्था व्यहोर्नु परेको आरोप लगाउँदै कांग्रेस केन्द्रीय समितिको बैठकले अब यो सरकारले कोरोनाबाट पार लगाउन सक्तैन भन्ने निष्कर्ष निकालेको समेत बताए ।
उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको भनेको १० अर्ब खर्च कहाँ भयो त्यसको त्यसको उत्तर कांग्रेसलाई चाहिने समेत बताए ।
‘पाँचवटा पिसीआर मसिन किन्ने, २५ हजार वटा किट किनेर १० अर्बको हिसाब किताव देखाउनु पर्दैन ? हामीलाई एक एक कुराको हिसाब किताब चाहिन्छ,’ नेता थापाले भने, ‘यस्तो राष्ट्रिय विपत्तिका बेला भ्रष्टाचारमा लिप्त हुने ? यो निर्लज्जताको पराकाष्ठा हो । हामीलाई हिसाब चाहिन्छ ।’
उनले प्रधानमन्त्रीले क्वरोन्टिनमा १ लाख ६६ हजार मान्छे बस्छन् भनेर भन्ने गरेको बताउँदै भने, ‘ यो क्वारेन्टिन होकी मान्छे मार्ने क्याम्प हो, कांग्रेसलाई यसको जवाफ चाहिन्छ । भारतबाट आएका नागरिकमा यस्तो व्यवहार गर्ने ?’
https://www.facebook.com/sansarnewsnepal/videos/884904085338596/?t=10
वि.सं.२०७७ जेठ २७ मंगलवार १४:२८ मा प्रकाशित






























