११ असार, काठमाडौँ । नेपालमा आज कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि हुनेमा स्याङजा आँधिखोला १ का ५५ वर्षीय पुरुष रहेका छन् ।
मधुमेह तथा श्वास प्रस्वासको समस्या भएका उनलाई फेवासिटी अस्पताल पोखरामा उपचारका लागि लगिएको थियो । त्यहाँ कोरोना पोजेटिभ देखिएपछि असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उनको बुधबार (असार १० गते) राति ११ः३५ मा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै महालक्ष्मी नगरपालिका -५ ललितपुरका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
पाँचमहिना अघि मानब अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका उनको कोखा दुखेका कारण पुनः सोहि अस्पतालमा उपचार गराउन गएका थिए । अस्पतालले भर्ना हुन भनेपछि नर्भिकमा भर्ना भएर उपचार गरेका उनलाई कोरोना परीक्षणका क्रममा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रिफर गरेर उपचार गरिएको थियो ।
उनको आज (विहिबार, असार ११ गते) बिहान ५ बजे पाटन अस्पतालको आइसीयुमा भेन्टिलेटरमा राखेर उपचार हुँदा हुँदै मृत्यु भएको हो । आज पुष्टि भएका २ सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।