नेपालसँग भारतको वार्ता हुन नसक्ने कुनै कारण रहेन छ भन्ने कुरा यसरी असहज परिस्थितिमा चीन र भारतको वार्ता भएबाट पनि स्पष्ट हुन्छ । तर भारतको नेतृत्व र उसको प्रचार सञ्जालले भने नेपालको अर्घेलो देखाएर नेपालले वार्ता गर्न चाहेको छैन, यो चीनको उक्साहटमा लागेर भारतलाई आँखा देखाउन थालेको छ भन्ने अत्यन्तै अनर्गल प्रचार गर्दै नेपाललाई मनोबैज्ञानिक दबाब निरन्तर दिइरहेको छ र दशकौंदेखि भारतीय पक्षले ठाडै मिचेको सीमालाई आफ्नै हो भन्ने भान पार्न खोजिरहेको छ ।
गएको २४ जून मंगलबारका दिन भारत, रुस र चीनका बिदेशमन्त्रीहरुका बीच भर्चुअल बैठक सम्पन्न भयो । शायद अरु बेला भएको भए यस्ता बैठकलाई सामान्य नै मानिने थियो । किन पनि भने यो बैठक हुने समय यद्यपि पहिलादेखि नै निर्धारित थियो । तर पछिल्लो परिबेश – चीन र भारत बीच भएको सीमा भिडन्त पछि सम्पन्न भएको बैठक हुनाले यो अकारण एउटा निकै चर्चित घटना जस्तो बन्न पुग्यो । हुन पनि त्यो बैठकभन्दा केही दिन अगाडि दुइ देशको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकमा दुइ देशका जुन स्थानीय सैनिक टुकुडीका बीच १५ जून २०२० मा भएको ह्रिंसक झडपमा परेर एक सैकिक अधिकारी समेत २० जना भारतीय सेनाको मृत्यु भयो । त्यसपछिको यो पहिलो पटक सम्पन्न भएको बैठक थियो । यो झडप सीमा क्षेत्रमा ४५ बर्ष पछिको खतरनाक झडप हो भनेर भारतीयहरु ज्ञाताहरु नै औंल्याउँदछन् । त्यसैले पनि यो पछिल्लो बैठकलाई कौतूहलका साथ लिइएको थियो । यद्यपि त्रि–देशीय यो बैठकमा दुइ पक्षीय समस्याहरु उठाइने बिषय थिएन, केवल त्रिपक्षीय समस्याहरुको बारेमा छलफल हुने कुरा थियो । त्यसै पनि दुइटा ठूला शक्तिशाली देशहरुमा कुनै मतभेद या विवाद उत्पन्न हुँदाखेरी त्यसलाई सुल्झाउने सबैभन्दा राम्रो उपाय त दुईपक्षीय वार्ता नै हो भन्ने कुरामा कसैको बिमति छैन र हुँदैन पनि । कत्रा कत्रा चूनौतिपूर्ण समस्याको समाधान त्यसरी बार्ताद्वारा नै हुँदै आएको छ ।
वर्तमान सन्दर्भमा सबैभन्दा राम्रो कुरा यही हो कि दुइ पक्षीय सीमामा भएको दुर्भाग्यपूर्ण परस्पर सैनिक झडप पछि पनि झडपकारी दुई देशका बीच सम्वाद सम्पन्न भएको छ र जारी छ । बेग्ला बेग्लै स्तरमा यस्तो बातचित निरन्तर चलिरहेको छ । स्पष्टै छ, सीमानाको सैनिक झडपमा चीनबाट आफुमाथि ठूलो आघात परेको भारतीय नेतृत्वले महसुश गरेको देखिन्छ । अनि यो स्थितिमा पनि बातचितमा विभिन्न स्तरमा परस्पर कुराकानी चलिरहनु दुबै देशको कूटनीतिको एउटा मूलपाटो र बाटो नै हो । तर पछिल्लो समय एकातिर भारतले चीनका ५९ इण्टरनेट एप्सहरुमाथि प्रतिबन्ध लगाएर ठूलो हो हल्ला मच्चाइरहेको छ भने अर्काेतर्फ लद्दाखको लेहमा गएर भारतीय प्रधानमन्त्री मोदीले ‘विस्तारबाद’ को समय गइसक्यो भनेर जुन उक्साहटपूर्ण भाषण दिए त्यसले तिक्तता पुनः बढाउने स्थिति बनेको देखिदैछ । यद्यपि साच्चै चाह्यो भने कोभिड–१९ को विश्वब्यापी महामारी चलिरहेको संबेदनशील स्थितिमा पनि झडप र वार्ता दुवै हुन सक्ने रहेछ भन्ने यसले प्रष्ट पारेको छ ।
अनि यहींनेर औंल्याउन र प्रष्ट पार्न चाहेको कुरा के पनि भने नेपालसँग भारतको वार्ता हुन नसक्ने कुनै कारण रहेन छ भन्ने कुरा यसरी असहज परिस्थितिमा चीन र भारतको वार्ता भएबाट पनि स्पष्ट हुन्छ । तर भारतको नेतृत्व र उसको प्रचार सञ्जालले भने नेपालको अर्घेलो देखाएर नेपालले वार्ता गर्न चाहेको छैन, यो चीनको उक्साहटमा लागेर भारतलाई आँखा देखाउन थालेको छ भन्ने अत्यन्तै अनर्गल प्रचार गर्दै नेपाललाई मनोबैज्ञानिक दबाब निरन्तर दिइरहेको छ र दशकौंदेखि भारतीय पक्षले ठाडै मिचेको सीमालाई आफ्नै हो भन्ने भान पार्न खोजिरहेको छ । आफूभन्दा ठूला शक्तिशाली राष्ट्रहरुसँग असमान्य परिस्थितिमा पनि जुनसुकै बेला वार्ता गर्न तयार हुने तर साना र कमजोर राष्ट्रहरुसँग भने बिबाद र समस्यालाई निरन्तर जारी राखेर बार्तामा बस्न समेत आनकानी गर्ने र हैकम चलाउने किसिमले प्रस्तुत हुने भारतीय सत्ता–प्रतिष्ठानको बृटिश–कालीन गलत मानसिकता र मान्यता रहँदै आएको देखिन्छ । त्यसले गर्दा बिगत ६ दशकभन्दा बढी समयदेखि नेपालको भूमिमा फौजी अखडा खडा गरेर बसेको भारत नेपालमाथि मेरो मोहीयानी नै लागिसक्यो भन्ने जसरी कुरा गर्न थालेको छ । त्यसैले उसले नयाँ राजनीतिक–प्रशासनिक नक्शा बनाउँदा त्यो मिचेको जमिन आफ्नै देशको भूभाग मानेर नक्शा बनायो । जबकि हरेक बस्तुगत ऐतिहासिक सन्धि सम्झौता र पूरक सम्झौताहरु, तिरोभरो तिरेका कागज, मतदाता नामाबली, कर तिरेका भरपाई आदि कागजातहरु र नदी जलाधारको स्थिति, पौराणिक वर्णन आदि अनेक प्रमाणहरुले त्यो भूमि इतिहासकालदेखि नै नेपालको थियो र हो भन्ने कुरा बाहेक अरु कुनै तथ्य प्रमाणित र स्थापित हुने कुनै आधार नै छैन ।
अहिले चीनसँग चलिरहेको भारतको वार्ताका बारेमा स्वयम् भारत पनि मान्दछ कि चीनसँगको वार्ताको यो एउटा मोर्चा हो । तर यसका अतिरिक्त अरु विभिन्न यस्तै खाले मोर्चाहरु पनि उसका अगाडि उपस्थित छन् र ती मोर्चाले उसलाई अप्ठ्यारो पारिरहेका पनि छन् । ती मोर्चामध्ये एउटा ‘ओआईसी’ अर्थात् अर्गनाइजेशन अफ इस्लामिक को–अपरेशनको मोर्चा पनि हो । त्यसको झुकाव कश्मिरको मामिलामा भारतको तुलनामा पाकिस्तानतर्फ केही बढी नै रहेको छ । तर पनि भारतले कयौं मुस्लिम देशहरुसँगको मैत्रीपूर्ण सम्बन्धका कारण तिनको पनि साथ र सहयोगमा के सुनिश्चित गर्न चाहेको देखिन्छ भने यस मञ्चको उपयोग भारतको हितमा गर्न सकियोस् या कम्तिमा भारतका विरुद्ध जानबाट बचाउन सकियोस् र सम्वादको शिलिसिला त्यसतर्फ पनि नटुटोस् ।
यस सम्बन्धमा हालै त्यो ओआईसीको एउटा समितिले पाकिस्तानको आग्रहमा एउटा संकटकालीन बैठक मात्र बोलाएन त्यसभन्दा अगाडि बढेर त्यो बैठकमा अनुच्छेद ३७० का सन्दर्भमा भारतको दृष्टिकोणका विरुद्ध वास्तवमा भारतलाई नै झस्काउने गरी अत्यन्तै कडा प्रस्ताव पनि पारित गर्न पुग्यो । यसले पनि भारत चिन्तित भएको हुनुपर्दछ ।
अर्कोतर्फ भारतलाई हरेक मञ्चहरुमा आफ्नो मित्र भन्ने गरेको अमेरिकाले भारतका प्रतिकूल उठाएका कदहरुप्रति भने भारतले पटक पटक असन्तुष्टी र गुनासोहरु पोख्ने गरेको र ती कदमहरु भारतको हितलाई प्रभावित तुल्याउने र भारतको बिपरीत छन् भन्ने कुरा उठाउने र बिरोध पनि गर्ने गर्दै आएको छ । उदारहरणका लागि अमेरिकाका पछिल्ला निर्णयहरुमा अमेरिकाले एच १ बी भिसामा भारतका लागि एक बर्षको रोक लगाइदिएको कुरा औंल्याउन सकिन्छ । त्यसमा भारतीय सफ्टवेयर कम्पनीहरुलाई ठूलो नोक्सानी पुग्ने कुरा छ । भारतसँगका सम्बन्धका तानाबानामा यी सबै बिषयहरुको पृष्ठभूमि निश्चय पनि बेग्ला बेग्लै छन् र ती सबैमध्ये खाशगरी कुनैमा पनि स्थिति सुधार्न सकिने र या सुध्रन नसक्ने अबस्था रहेको होस् या सुधारको बाटो बन्द रहेको होस् ।
भारतले के पनि बुझेको र महसुस गरेको कुरामा कुनै सन्देह रहँदैन भने यी सबै मोर्चामा भारतले समस्या सुल्झाउन बाटो निकै कठिन बाटो छ । भारतले बुझेको छ कि चीनसँगको कूटनीतिक मोर्चामा पनि भारतले त्यतिबेला मात्र सफलता पाउने छ जब बाँकी मोर्चाहरुमा उसले परस्परमा स्थिति अनुकूल बनाउन सफल हुन्छ । अन्यथा जतासुकै जुधेर, पेलेर र समस्यालाई समाधानहीन राखेर चल्न खोज्दा चौतर्फीरुपमा असफलता हात लाग्ने कुरा पनि भारतीय नेतृत्वले राम्रोसँग बुझेको हुनुु पर्दछ । नेपालको सम्वन्धमा पनि भारतले यो कुरालाई नबुझेका छैन । तर बृटिशकालीन मानसिकताको गलत परम्परालाई च्यापेर हिड्दा निर्दोष नेपाललाई पनि दोषी चश्माले हेरेर ब्यबहार गर्ने गरेको छ, जुन नेपाल र बास्तवमा भारत दुबै देशको निम्ति अमान्य र अस्वीकार्य कुरा हुनुपर्ने हो । किनभने नेपाल र भारतको राज्य स्तरको सम्वन्धभन्दा धेरै पहिलादेखि जनताले बनाएको पुरानो ऐतिहासिक सम्वन्धको जगमा खडा भएका देशहरु हुन् भन्ने कुरा पनि यस सन्दर्भमा बिर्सन मिल्दैन ।
वि.सं.२०७७ असार २३ मंगलवार ११:०४ मा प्रकाशित




























