१ साउन, काठमाण्डौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको दोश्रोपटक गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
मंगलबार दोश्रोपटक गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण पोजेटिभ पाइएको हो । ६५ वर्षीय राष्ट्रपति वोल्सोनारो अहिले आफ्नै घरको क्वारेन्टिनमा बसिरहेका छन् । उनले भिडियो कन्फ्रेन्समार्फत् आफ्नो काम गरिरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
ब्राजिलमा हालसम्म १९ लाख ७० हजार ९०९ संक्रमित भएका छन् भने ७५ हजार ५२३ जनाको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमणबाट इरानमा १४० स्वास्थ्यकर्मीको मृत्यु
इरानमा कोरोना संक्रमणबाट १४० स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले बुधबार दिएको जानकारी अनुसार संक्रमणका कारण हालसम्म इरानका १४० स्वास्थ्यकर्मीको ज्यान गएको छ भने ५ हजार डाक्टर र नर्स संक्रमित भएका छन् ।
उनले ती सबै डाक्टर तथा नर्सहरुको मनोबल बढाउन उनीहरुलाई सम्मान दिनुपर्ने तथा सबैले कोरोना संक्रमण रोकथामका लागि जारी गरिएको नियमको पालना गर्नुपर्ने समेत अनुरोध गरेका छन् ।
इरानमा हालसम्म २ लाख ६४ हजार ५६१ जना संक्रमित भएका छन् भने १३ हजार ४१० जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन १ बिहीवार १३:३२ मा प्रकाशित






























