
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।
अध्यक्षद्वयबीच केहि दिनदेखि भईरहेको ‘वान टु वान’ संवादले निकास निकाल्न नसकेपछि नेता नेपालसहितको त्रिपक्षी संवाद सुरु भएको हो । नेताहरुबीचको संवाद प्रधानमन्त्री निवास बालुवाटारमा साढे ११ देखि सुरु छ ।
त्रिपक्षीय वार्ता सुरु भएसँगै नेकपाभित्र विवादले देखिएको गतिरोध अन्त्य हुने आशा पलाएको छ । नेकपाका केहि नेताले बैठकले विवाद समाधान गर्ने आशा पनि देखाएका छन् ।
यसअघि विवाद समाधानकै लागि मंगलबार र बुधबार अध्यक्षद्वयबीच छलफल भएको थियो । बुधबारको बैठकमा पार्टी महासचिव विष्णु पौडेल र जनार्दन शर्माको पनि उपस्थिति थियो ।
सत्तारुढ नेकपाभित्र विवाद चर्किएसँगै स्थायी कमिटी बैठक साउन २ सम्मको लागि स्थगित छ । विवाद बढ्दा शीर्ष नेताहरु बैठक नै रोकेर छलफलमा जुटेका थिए ।
गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएसँगै विवाद उत्कर्षमा पुगेको थियो । नेकपाभित्रका प्रचण्ड–माधव समुहका ३० स्थायी समिति सदस्यले प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेका थिए ।
सम्बन्धित समाचार
ओली र प्रचण्डबीच तीन घण्टा लामो छलफल, निस्किएन समाधान