
घाम जून आँखाभरि बोकेर
नाकढुङ्गाबाट धुवाँ र धुलोको
बाक्लो बादल छिचोल्दै
म राजधानिको कालो आकाशमा
फैलने कोशिश गर्छु
रङ्गिन सपनाहरु टाँस्छु
मैलो बादलका भित्ता भरि
मेरा अबोध स्निग्ध परेवी
सपनाका सुन्दर स्केचहरु
जून झैँ बादलमा हराउछन्
धुलो टक्टक्याउँदै थाक्छन्
एक पोका ताराहरु
पोलिष्टर कमिजको गोजिभरि राखेर
भानुभक्तको कान्तिपुरिमा
उत्साहित पाइला टेक्छु
एक बित्ता उज्यालो
आँखाको परेलीमा अडाएर
उठ्छु एकाबिहानै
र थाल्छु नियात्रा मुर्छित सपनाको
मेरा ती रङ्गिन ताराहरु
मैले थाहा नपाइ खै कता खस्छन्
त्यो एक बित्ता उज्यालो
साँझको रातो घामसंगै डढ्छन् खाग हुन्छन्
मेरा सपनाका घाम जून
मेरो आँखालाई छक्याउँदै
छितिजतिर ओर्लन्छन्
अनि बिस्तारै टाढिन्छन् मबाट
म उता एक्लै हिडदा नि
पटक्क डर हुन्नथ्यो
आज एता बाटो भरि मान्छे हुँदा नि
डरले डेरा जमाउँछ बेस्कन
फकाउँदै फकाउँदै मलाई नङ्ग्याउछन्
यहाँका झिलिमिली बत्तिहरु
अनि कब्जा गर्छन् मेरा सर्वाङ्ग
मेरा एक मुठ्ठी जूनकिरी रहरहरु
धरहराबाट हाम फालेको थुप्रै भयो
गरेको थिएँ मैले हारगुहार
नसकेर
मनका परालहरु दुईचार त्यान्द्रा बटुलेर
मन नमान्दा नमान्दै त्यहिनेर
आफ्नै हातले दाहसंसकार गरेको थिएँ
बिचरा रगताम्य मेरा जूनकिरीहरु
मलाई थाहा छ
अब म बिजुलि बत्तीको उज्यालोमा
यहाँ जुनकिरी खोज्न सक्तिन
अब म घरहरुको थुप्रोहरुमा
घाम जून उमार्न सक्तिन
स्वार्थका कालो आकाशमा
भागिरहने ताराहरु छर्न सक्तिन ।
सबै घाम जून अनि एक अन्जुलि
ताराहरु एतै हराएर
अनि दूर सपनाहरु एतै बुझाएर
फर्किदैछु उतैतिर
जहाँ मलाई मन पराउने
मेरा आफ्नै कलिला घाम जून अनि ताराहरु
मेरै बाटो हेरिरहन्छन् हर साँझ विहान !!
वि.सं.२०७७ साउन ३ शनिवार ०९:१६ मा प्रकाशित






























