
१.
यी फूलहरुमा तिमी मुस्कुराए झै लाग्छ
बिहानी किरणमा तिमी उदाए झै लाग्छ
फुलबारीमा गुनगुनाउने भँमरा बनेर प्रिया,
कताकता तिमी ले नै जिस्काए झै लाग्छ ।
२.
मैले जादाँ पनि मुटूमा तिम्रै नाम केरेर जानपरोस्
ताकि बाटो हिड्ने सबै बटुवाले हेरेर जानपरोस्
तिम्रो दशधारा दुधको गुन तिर्न नसके पनि आमा,
घाटसम्म जाँदा तिम्रै पछ्यौरीले बेरेर जानपरोस् ।
३.
चोक होस् या त गल्ली हेरिसक्नु छैन
जताततै हल्ली खल्ली हेरिसक्नु छैन ।
बाउ मुग्लान हुंदा आमा पोईल हिडेपछी,
बालबच्चाको बिचल्ली हेरिसक्नु छैन ।
४.
कोही नभेटेरै छुट्टिए कोही भेटेर छुट्टिए,
छुट्टिनेहरू बिच सफरमा पुगेर छुट्टिए ।
प्रेमगर्दा दिलले सोचेर प्रेम गर्नेहरू पनि,
आखिर छुट्टिदा मस्तिष्कले सोंचेर छुट्टिए ।
५.
हामी जिन्दगीलाई धिक्कार्दै तक्दिर चढाउछौँ,
पत्थरलाई देवता सम्झि आफ्नै शिर झुकाउँछौँ ।
बाँचुञ्जेल त हाम्री आमा भोकभोकै रुने गर्छिन् ,
मरेपछि बार्षिक पुण्य तिथिमा खिर चढाउछौँ ।
घोडाघोडी नगरपालिका ८, दिपनगर कैलाली
वि.सं.२०७७ साउन ३ शनिवार ०९:३८ मा प्रकाशित
























