
एकदिन स्कुलमा खेल्दै गर्दा मनमायाले ध्वार्र आफ्नो घाँगर च्याती । साथीहरू रनभुल्लमा परे । हेर्दा हेर्दै उसको हातको झुम्राले पुतलीको आकार लियो । सायद देखासिकीमै होला !
प्राणनाथले पनि आफ्नो दौरा ध्वार्र च्यात्यो र बनायो झुम्राकै पुतली । मनमायाले समिज च्यातेर चोलो बनाई र फ्रक च्यातेर फरिया । उसले निधारमा लगाएको टीका झिकी । कपालबाट धागो, हातबाट चुरा अनि गोडामा लगाएको कल्ली पनि फुकाली र सजाई झुम्राको पुतली । पुतलीलाई ओढ्ने पनि ओढाई । भोटो च्यातेर दौरा र जाँगे च्यातेर सुरुवाल बनाएपछि प्राणनाथले पनि आफ्नो टोपी निकाल्यो, जुत्ता फुकाल्यो चस्मा अनि घडी पनि फुकाल्यो र कन्दनीले बाँधेर सजायो झुम्राकै पुतली ।दुवैले हातमा आ–आफ्ना पुतली लिए । मनमायाको हातमा धपक्कै बली पोथी पुतली । उसले आफ्नै माला झिकी र बनाई पुतलीलाई पोते । प्राणनाथको हातमा थपक्क उभियो भाले पुतली । उसले रातो माटो खोज्यो र सिन्दुर बनायो । यसरी उनीहरूले नै गरिदिए पुतलीको बिहे । दुवैले झोलाबाट आआफ्नो टिफिन निकाले र खुवाए बिहेभोज । मानौँ आफ्नै बिहे हुँदै छ मण्डपमा । खुब रमाइलो भयो बिहेको खेल तर झुम्राको पुतली सजाउँदा सजाउँदै आफैँ नाङ्गिएको भने चालै पाएनन् उनीहरूले । दुवैले आआफ्ना पुतली हेरे । खुसीले मन पुलकित भयो । दुवैले एकअर्काको शरीर चिहाए । अचानक् अपशोच, लज्जा र हीनताले छोप्यो उनीहरूलाई । आफू नाङ्गेझार बनेपछि तयार भएको झुम्रेपुतली बोकेर उनीहरू अबेला घर फर्किए ।
मनमायाको दुर्दशा देखेर देखेर आमा उदास बन्नुभयो तर उसका आँखामा नाचिरहेका थिए बालसुलभ चञ्चलता । अवाक् बनेर आमा निक्कैबेर टोलाउनुभयो, टोलाइरहनुभयो । यत्ति मात्र भन्नुभयो, “धत् ! के दशा बनाएकी । अपशकुन हुन्छ बाबै, कहिल्यै ननाङ्गिनू यसरी ।“ उता प्राणनाथको चकचके स्वभावबाट आजित बन्नुभएको बा केही भनौँ नभनौँको भावमा केहीबेर झोक्रिएपछि गर्जिनुभयो, “खुब गरिछस् नाथे ! नाङ्गिइस् आफू र बनाइस् झुम्राको पुतली । याद राखेस् जेठा ! माटोमा मिल्किएको बिउ पनि उम्रन्छ एकदिन तर झुम्रामा बेरिएको पुतली उभिन्न कुनैदिन ।“
आफ्नै शरीरको वस्त्र फुकालेर झुम्राको पुतली बनाउने मनमाया र प्राणनाथहरू आज पनि नाङ्गेझार भेटिन्छन् बस्तीतिर । उनीहरूकै कपडाबाट बनेका झुम्रेपुतलीहरू सहरतिर सजिएका छन् सोकेसमा । तिनै झुम्राका पुतली चिप्ला सडकहरूमा रातोदिन चिप्लिरहन्छन् बाटो ढाकेर । लाग्छ मानिसले पुतली होइन पुतलीले नै बनाएका हुन् मानिसहरू । हेर्दै जाऊ– कुनैदिन यस्तो पनि आउनेछ । उचालेर हातमा घन जुर्मुराउँदै उठ्नेछन् मानिसहरू र फुटाएर सोकेसका सिसा थुत्नेछन् पुतलीको शरीरबाट कपडा । ती कपडा जसमा अझै ताजै छ उनीहरूकै पसिनाको सुगन्ध ।
वि.सं.२०७७ साउन १० शनिवार ०९:३७ मा प्रकाशित






























