
यति सुन्दर, शान्त, शालीन बस्तीमा
अन्धो, रतन्धो मुर्कुट्टा आएदेखि
न माटोले स्वास फेर्न सकेको छ
न ढुङ्गाले गाँस निल्न सकेको छ
मध्यरातको मसान घाट जस्तै
निर्जन निर्जन, सुनसान भएको छ
जिउँदालाई मारेर सालिक बनाएका छन्
मुर्दालाई रातारात मालिक बनाएका छन्
काल छिर्दा पनि शीर झुकाउनु पर्ने छाप्रोमा
गिदी बिनाको मुर्कुटा आएदेखि
टाउका बिनाको मुर्कुटा छिरेदेखि
स्तब्ध छन् घरका डाडा भाट भेल्सिहरू
माङ्पाको तीन बाचा, तीन मन्त्र हालेर
चार सुरमा खिलकरूवा ठोके पनि
ऊ भने विध्वंस, ताण्डव देखाईरहन्छ
वैशाखी टेक्दै उकालो चढिरहेको बसन्त
हठात्, त्यसैत्यसै मुर्झ्याईदिन्छ
आँखाबाट सपनाका रङहरू खोसेर
खण्डहर, रंङ्गहीन बनाईदिएको छ
सपनाहरू पानी रङमा बद्लिएका छन्
नियतिको सरङमा छट्पटाईरहेका छन्
मुर्कुटालाई कुनै कुराको चिन्ता छैन
आफ्नो माटोको, हिड्ने बाटोको
आमाको आँशुको टाटोको
घुम्ने मेच माथिको अन्धो मान्छे जस्तै
आज यति निर्दयी, निरङ्कुश भईरहेछ
सर्पले काँचुली फेरे जस्तै
छेपारोले रङ फेरे जस्तै
रङ फेर्न सिपालु मुर्कुटा आएदेखि
बाटोले, बाटो बाटो हिड्न पाएको छैन
माटोले, माटो माटो हिड्न पाएको छैन
अफसोस !
ऊ पनि यही माटोको नश्ल हो
तर किन यति धेरै, अराजक भईरहेछ
आँधी आएको अर्को बिहान जस्तै
तहस नहस छन् विवश गल्लीहरू
भुँईभरि अस्रल्ल छन् सपनाका पत्करहरू
घाँटी निमोठिएर निस्स्वास निस्स्वास छन्
नितान्त निर्जीव बनाईएको छ बस्ती
भड्किएका आत्मा लिएर हिड्ने
राँके भूत बस्तीमा आएदेखि
टाउको बिनाको मुर्कुटा छिरेदेखि
बस्ती, बस्ती जस्तो लाग्दैन अचेल
साँझ नखस्दै मुर्कुटा उकालो लाग्छन्
बस्तीमा एकतमास सन्नाटा छाईदिन्छ
देखिन्दैनन् कोही, केही घर आँगन बस्तीमा
आफ्नै घरमा पनि निर्धक्क सुत्ने अवस्था छैन
बस्तीमा मुर्कुटा आएदेखि
बस्तीमा राँकेभूत छिरेदेखि
सुत्दा वारी, उठ्दा पारी भईन्छ ।।
वि.सं.२०७७ साउन १७ शनिवार ०८:२९ मा प्रकाशित






























