
आफैँ खस्छन् उसका आँसुहरु
थाहा छैन मनको कति गहिराइसम्म
उसलाई चोट परेको छ ।
उ सबेरै अजङ्गको भारी बोकेर
उक्लिरहन्छ अक्करका भिरहरु ।
उसको जीवनमा पहिरोहरु खसिरहन्छन्
तथापि उसका यात्राहरु कहिल्यै रोकिएनन्
उसलाई जतिनै ठुलो चट्याङ परे पनि
उसले सपनाहरु देख्न कहिल्यै छाडेन
यात्रामा धेरै पटक म उसको साथी भएको छु
मलाइ थाहा छ उसका कथाहरु जून
आँसुहरुले भरिएका छन् ।
उ एकचिम्टी खुशीका लागि कसैसँग याचना गर्दैन
उ आफ्नो सपना खोज्न
अरुको उज्यालो पनि खोस्दैन्
उसले कसलाई जित्नु पनि छैन
कसैको ताली पिट्नु पनि छैन
उ एक शिल्पी
हुरी, आँधी, असिना र पानी
केहीसँग पनि सम्झौता गर्दैन ।
उ सबेरै अजङ्गको भारी बोकेर
उक्लिरहन्छ अक्करका भिरहरु ।
सिसा झैँ चोइटीएका उसका सपनाहरु
सँगालेर बचेराहरुको खुशीका निम्ति उ एक
स्वभिमानी जीवन बाँच्छ ।
प्रत्येक साँझ उ आफ्नो कटेरोमा
झोलाभरि एकदिनका खुशीहरु बोकेर फर्कन्छ
फेरी सबेरै अजङ्गको भारी बोकेर
उक्लिरहन्छ अक्करका भिरहरु ।
श्री सरस्वती मा वि पानवारी,धरान
वि.सं.२०७७ साउन १७ शनिवार ०८:३५ मा प्रकाशित






























