साइनो वाङमय प्रतिष्ठान नेपालको आयोजनामा दोस्रो साइनो दिवस साथै प्रथम वार्षिकोत्सव भर्चुअल मिटिङ मार्फत सम्पन्न भएको छ ।
साउन १६ गते शुक्रबार सम्पन्न कार्यक्रमको पहिलो चरणमा दिनको एक बजे साइनो संसार फेसबुक पेजमा झन्डै सयजना सर्जकहरुले आफ्नो साइनो पोस्ट गरेर कार्यक्रमको ढोका उघारिएको थियो ।
साइनो दिवसको अवसरमा सोही दिनमा दिउँसो दुई बजे बाजुराको सदरमुकाममा साइनो वाचन कार्यक्रम आयोजना गरियो सो कार्यक्रममा साइनो अभियन्ता सुरेन्द्र शाहीले साइनो वाचन गर्दै साइनो सिर्जना र विकासक्रमको बारेमा जानकारी दिएका थिए । उक्त कार्यक्रममा साइनो सहित विभिन्न विधाका कविताहरु पनि वाचन गरिएको थियो ।
कार्यक्रमको मुख्य आकर्षण दिनको ठिक चारबजे जुम मार्फत साइनो सारथि र ब्रह्माण्ड साइनो विमोचन समारोह सुरु भएको थियो ।
उक्त कार्यक्रममा विद्वानहरु सहित सात दर्जन स्रस्टाहरुको उपस्थितमा हरिप्रसाद चौलागाईँको ‘ब्रह्माण्ड साइनो सङ्ग्रह’ र ६६ जना साइनोकारका ७८९ थान साइनो रहेको ग्रन्थ ‘साइनो सारथि’ को विमोचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मोहन दुवालले कविताको उपविधा साइनोको विकासमा आफूले पनि सघाउन पाएकोमा खुसी प्रकट गर्दै साइनो अझ निखारिएर अघि बढोस् भन्ने शुभकामना दिएका थिए ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कविता बिशेषज्ञ, समालोचक प्रा.डा. ताराकान्त पाण्डेले-यति छोटो संरचनाको साइनो कविताले पाठकीय जिज्ञासा मेटाउन सक्ला र भनेर प्रश्न गर्दै सिर्जना जीवनलाई गति दिने परिणाममुखी बनाउन सक्नुहोस् भन्ने शुभकामना दिएका थिए ।
यसै कार्यक्रममा साइनो सारथि संयुक्त साइनो सङ्ग्रहका समीक्षक समेत रहेका कवि, समालोचक डा. रामप्रसाद ज्ञवालीले–साइनोको सैद्धान्तिक धारणामा स्पष्ट र परिष्कृत हुँदै नेपाली लोकलयको विधि प्रक्रिया समातेर अघि बढे साइनो नेपाली परिचय लिएर विश्व साहित्यमा प्रवेश गर्ने सम्भावना रहेको भन्दै गम्भीर छलफल र विमर्शबाट अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
यस्तै डा.षडानन्द पौड्यालले छोटो समयमा साइनो कविता व्यापक बन्नुमा वर्तमान प्रविधिले पनि सघाएको छ, प्रबिधिको सदुपयोग गरि साइनोलाई गति दिने साइनो अभियान्ताहरुलाई धन्यवाद दिदै सिद्धान्त र संरचनामा बहस गरी अघि बढ्न सुझाएका थिए ।
यसैगरी कवि मित्रलाल पंज्ञानीले कवित्व ग्रहण गरेर विधिसम्मत भई अघि बढ्न सक्नुहोस् भनेर शुभकामना दिएका थिए भने समालोचक अच्युत पराजुलीले साइनोलाई नेपालीको साझा सम्पदाको रुपमा विकास गर्न भन्दै शुभकामना दिएका थिए ।
साहित्यकार महानन्द ढकालले सानो संरचनामा नवीनता लिएर आएको नेपालीपन दिन सक्ने भएकाले साइनोको संरक्षण र विकासमा जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने अनुरोध गरेका थिए ।
धेरै बिद्वानहरुले शुभकामना मन्तव्य राख्दै साइनोका विशेषता र यसमा रहेका सानातिना सम्पादकीय कमी कमजोरी औल्याएका थिए ।
ब्राह्मण्ड साइनोका समीक्षक साहित्यकार रामसुन्दर देउजाले साइनोहरु सूत्रमा भावपूर्ण अभिव्यक्ति दिन सफल छन् भन्दै साइनो अझ लोकप्रिय बन्न सकोस् भन्ने शुभकामना दिए ।
कार्यक्रमको अध्यक्षता गरिरहेका साइनो प्रणेता साहित्यकार छायादत्त न्यौपाने बगरले अध्यक्षीय मन्तव्य सहित उपस्थित सबैलाई धन्यवाद दिँदै विद्वान्हरुले दिएको सुझावलाई सम्मान गर्दै साइनोको विधि प्रक्रियाका बारेमा स्पष्ट पार्दै छलफल बहसबाट निष्कर्ष पहिल्याएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
साइनोका अभियन्ताहरु केशव ज्ञावलीले स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा खेमलाल पोखरेलले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा साइनो अभियन्ता बालकुमार क्षेत्रीले साइनोको वार्षिक गतिविधिबारे जानकारी गराउदै सहयोग गर्नुहुने विभिन्न व्यक्ति, सस्था र सन्चारकर्मीहरुलाई धन्यवाद दिएका थिए । सोही कार्यक्रममा साइनो अभियन्ताहरु बिष्णु पादुका,सुरेश काफ्ले, कमला भण्डारी ढकाल, शान्ति दीप लगायतले साइनो वाचन गरेका थिए ।
दुई घण्टासम्म चलेको उक्त कार्यक्रमको सन्चालक साइनोकार सीता सुवेदी पन्थीले गरेकी थिइन् भने, प्रविधिमा सहयोग शान्ति दीपको रहेको थियो भने अन्तिममा कृतिकारहरु बिष्णु पादुका,हरिप्रसाद चौलागाईंले कृतिबाट दुई दुई वटा साइनो वाचन गरेका थिए ।
निरन्जना चन्दको अनुपस्थिमा उनकै कृतिबाट साहित्यकार महानन्द ढकालले दुई साइनो वाचन गरेका थिए ।
वि.सं.२०७७ साउन १९ सोमवार १०:२८ मा प्रकाशित






























