
यहाँ थरिथरिका टाउका छन्
कोही च्याप्टा, कोही गोला
कोही साना, कोही घन टाउका
कुनै टाउकाको मोल तोकिन्छ
कुनै टाउकाले मोल तोक्छन्
स्वार्थ मिल्दा टाँसिन्छन् टाउकाहरू
नमिल्दा जुध्छन् टाउकाहरू
सिङ्ग हुनेले नहुनेलाई न्याक्छन्
सिङ्ग नहुनेले सिङ्ग उमार्न खोज्छन्
थरिथरिका टाउकाहरू ।
जुम्रा पालेर, घुन बोकेर,
उपियाँ र उडुस पालेर टोकाउछन्
आफ्नो टाउकोले उधिन्न सकेनन् भने
टाउकोनै सापटी माग्छन्
जंगलका जन्तुसित,
मान्छे र जन्तुमा फरक भए पो
सापटीको लेनदेन चल्दैन
एउटै छ र पो
भिख माग्छन् टाउकाको–टाउकेहरूले ।
फरक फरक प्रकारको टाउको सजाउन
फरक फरक टोपी लगाउँछन्
कोहीले ढाका टोपी
त्यो पनि ,
पुर्वेली, पाल्पाली, झापाली, पोख्रेली
कुनै टाउकाले-जर्मन क्याप
कुनै टाउकाले-अमेरिकन टोप
कुनै टाउकाले-युरोपेली क्याटोप
मेड इन फरक फरक
टोपी लगाईमा पनि
कडा आलोचना गर्छन् टाउकाहरूले ।
टाउकाको अधिनस्थ बेग्लै
मनको लगाम टाउकोमै,
मस्तिष्कको गहिराई टाउकोमै,
वर र परको दुरी टाउकोमै ।
जुधाई र मिचाई टाउकोमै ।
टाउका हल्लाउने टाउको नै,
ठूला टाउकाको अधिनस्थ
साना टाउका
टाउकाको महिमा अपरम्पार
जुधिरहने बारम्बार
यसलाई बुझिराखौँ गम्भीर ।
वालिङ नगरपालिका-१४ गाएडाँडा
गण्डकी प्रदेश, स्याङ्जा
वि.सं.२०७७ साउन २४ शनिवार ०८:५२ मा प्रकाशित






























