
धेरै कमाउँछु भनी सपना सजाई ।
छोडेर देश सहजै परदेश धाई ।।
ढल्यो उमेर जव ती अनि थक्थकाए ।
के हुन्न यो मुलुकमा पसिना बगाए ।।१।।
झुल्केर सूर्य नभमा प्रकाश छर्छ ।
वर्षेर बादल यहाँ अभिषेक गर्छ ।।
आफै उठेर श्रमले जग यो सजाए ।
के हुन्न यो मुलुकमा पसिना बगाए ।।२।।
पर्खेर बस्छ वनमा नव पालुवा नै ।
फक्रेर रुन्छ नव पुष्प गरा गरा मै ।।
नङ्ग्रा तिखार्न सहजै अव जुर्मुराए ।
के हुन्न यो मुलुकमा पसिना बगाए ।।३।।
आदित्यले क्षितिजमा जव मुस्कुरायो ।
झुम्यो कठै प्रकृतिको रसमा धरा यो ।।
माटो चुमेर सबले शिरमा लगाए ।
के हुन्न यो मुलुकमा पसिना बगाए ।।४।।
पाका र बृद्ध जतिले घर रुङ्न थाल्दा ।
आँखा दुबै नयनको रसले पखाल्दा ।।
फर्केर ती युवकले धरणी भिजाए ।
के हुन्न यो मुलुकमा पसिना बगाए ।।५।।
छन्द बसन्त तिलका
वि.सं.२०७७ साउन २४ शनिवार ०९:१२ मा प्रकाशित






























