
भत्किनु,
नासिनु/बिग्रनु मात्रै होइन रहेछ
न हो रहेछ-केवल कुरुप देखिनु
हेर्नुस् त !
कोपिलामा पुष्पदलहरू भत्केपछि
कति सुन्दर देखिन्छ्न् हरेक फूलहरू
भत्किनु,
विलय पछिको उदय पनि त हो
जसरी,
क्रुर शासक-दरबार भत्के पछि
शासित झुपडीहरूमा छाउँछन् उमङ्ग
जसरी,
भत्केपछि
‘मैँ अग्लो हुँ’ भन्ने बूढो रुखहरू
भुल्नेछन् भुइँ बुट्यानहरूले
होचो-अग्लो हुनुको कुटिल भाष्य
जसरी,
भत्केपछि हरेक जातीय अहंहरू
बन्न सक्छ हरकोही बुद्धकै प्रतिबिम्व
म सोच्थें,
भत्कें भने खण्डहर भई जाउँला
भत्कें भने अश्रु दह भई जाउँला
ए छुत मान्छे !
तिम्रो विभेद र दलनले
भत्किदा भत्किदै
म त भई गएछु-‘आगोको फूल’
भरतपुर-११, चितवन
हाल: आबुधाबी, संयुक्त अरब इमिरेट्स
email-bishwokarma57@gmail.com
वि.सं.२०७७ भदौ ६ शनिवार ०८:३९ मा प्रकाशित






























