८ भदौ,स्याङ्जा । किसानलाई कृषि तथा पशुपालन व्यवसायमा लाग्न आकर्षित गराउने उद्देश्यले जिल्लाका विभिन्न स्थानीय तहहरुले अनुदानका कार्यक्रमहरु सञ्चालन गरेका छन् । यसले किसानहरुमा व्यावसायिक ढङ्गबाट कृषि तथा पुशपालनतर्फ लाग्न अभिप्रेरित गरेको छ ।
गल्याङ नगरपालिकाले दुध उत्पादन गर्दै आएका किसानलाई रु ४७ लाख बढी रकम अनुदान वितरण गरेको छ । नगरपालिकाभित्र गाई र भैंसीपालन गरेर व्यावसायिक रुपमा दुध उत्पादन गर्दै आएका किसानलाई प्रतिलिटर रु १५ का दरले गत आर्थिक वर्षमा रु ४७ लाख १२ हजार २७७ अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले किसानलाई कृषि पेशामा लाग्न प्रेरणा दिंदै नगरलाई कृषिका माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान वितरण गरिएको नगरपालिकाका प्रमुख भूपराज अधिकारीले बताए । उनले भने, “पशुपालन र कृषिका माध्यमबाट रोजगारीको सिर्जना गर्नुका साथै नगरपालिकालाई आत्मनिर्भर बनाउने योजनाअनुसार नगरपालिका अगाडि बढेकाले पशुपालन र कृषि क्षेत्रमा हामीले विशेष जोड दिएका छौँ ।”
किसानलाई तीन किस्तामा अनुदान रकम वितरण गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले बताए । प्रशासकीय अधिकृत पाण्डेका अनुसार पहिलो किस्ताअन्तर्गत किसानले नगरपालिकाबाट रु १४ लाख ५९ हजार १४० लगेका छन् भने दोस्रो किस्ताअन्तर्गत रु २२ लाख ८७ हजार ५८४ बुझेका छन् । कोभिड१९ को सङ्क्रमणका कारण सरकारले बन्दाबन्दीको घोषणा गरेसँगै किसानले उत्पादन गरेको दुधबिक्रीमा कमी आएकाले तेस्रो किस्तामा किसानले रु नौ लाख ६५ हजार ५५३ लगेका छन् ।
दूग्ध सङ्कलन केन्द्र, सहकारी तथा फर्म सञ्चालक गरी नगरपालिकाबाट ६७६ जना किसानले अनुदान रकम प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेले दुध उत्पादक सिकानलाई प्रतिलिटर १५ रुपैंया अनुदानले दुध उत्पादनमा लाग्न उत्साहित बनाउनुका साथै वास्तविक किसानसामु अनुदान पुगेको बताए ।
नगरपालिकाका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले दुध उत्पादनमा किसानको रुची बढ्दै गएको र यो अनुदान कार्यक्रमले व्यावसायिक किसान उत्पादन गर्न ठूलो सहयोग पुग्ने बताए ।
अर्यालले दुधमा उत्पादन बढाउनका लागि किसानको आवश्यकताअनुसार थुनेलो नियन्त्रणसहितका उपायहरु अपनाइएको बताउँदै २४ सै घण्टा किसानको सम्पर्कमा रहेर आफूहरुले काम गरिरहेको बताए ।-रासस
वि.सं.२०७७ भदौ ८ सोमवार १२:५३ मा प्रकाशित






























