स्याङ्जा – फेदीखोला गाउँपालिकाले मकै बिउ उत्पादन गर्ने किसानलाई १५ प्रतिशत अनुदान दिने भएको छ । मकैको बिउ उत्पादन गरेर गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बिउ मकै उत्पादन गर्ने किसानलाई अनुदानमा वृद्धि गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले किसानको आत्मवल नबढाएसम्म कृषि क्षेत्रमा प्रगति गर्न नसकिने भएकाले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताए । अध्यक्ष सुवेदीले भने, “हामी आत्मनिर्भरताको कुरा गर्छौ, आत्मनिर्भर बन्नको लागि आफ्नै उत्पादन गरेर रोजगारी सिर्जना गर्नुपर्छ भन्ने योजनाका साथ गाउँपालिकाले कृषिको क्षेत्रमा लगानी गरिरहेको छ ।”
आर्थिक वर्ष २०७५/७६ देखि मकै बिउ उत्पादन पकेट क्षेत्रमार्फत मकै खेती गर्दै आएका गाउँपालिका-४ आरुखर्क जसैडाँडामा २३० रोपनी क्षेत्रफलमा कृषकले बिउ मकै खेती गर्दै आएको गाउँपालिकाले जनाएको छ । गत वर्षभन्दा यस वर्ष बिउ मकै ४० प्रतिशतले वृद्धि हुने गाउँपालिकाका कृषि प्राविधिक शिशिर पण्डितले बताए । अघिल्लो १६ मेट्रिक टन मकैको बिउ उत्पादन भएकामा यसवर्ष ४० प्रतिशत उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि प्राविधिकको भनाइ छ ।
जैसीडाँडा कृषक समूहमा आवद्ध ४० घरधुरीका कृषकहरु मकै बिउ उत्पादनमा लागेको समूहकी अध्यक्ष कल्पना पौडेलले बताइन । समूहकी अध्यक्ष पौडेलले मनकामना जातको मकैको बिउ उत्पादन गर्दै आएको र उत्पादन भएको मकै भण्डारणका लागि गाउँपालिकाले व्यवस्था गरेको जानकारी दिइन ।
गतवर्ष रु ३० लाखको बिउ मकै उत्पादन भएकामा यसवर्ष समयमै वर्षात्, आवश्यक गोडमेल समेत राम्रो भएकाले उत्पादनमा वृद्धि उनको भनाइ छ । उत्पादन भएको मकैको बिउ स्याङजासँगै गुल्मी, पाल्पा, पर्वत, कास्की, तनहुँलगायतका जिल्लामा गाउँपालिकाले कृषि ज्ञान केन्द्रसँग समन्वय गरेर प्रतिकेजी रु ६५ मा बिक्री गर्दै आएको मकै उत्पादक कृषक समूहकी अध्यक्ष पौडेलले बताइन । -रासस
वि.सं.२०७७ भदौ ८ सोमवार १३:२२ मा प्रकाशित






























