१० भदौँ, काठमाडौँ । कोरोना भाइरसको उच्च जोखिममा पनि अविचलित भई सेवा प्रवाहमा लागि पर्ने आयल निगमका कर्मचारीहरुको कोरोना बीमा गर्न र शतप्रतिशत जोखिम भत्ताको व्यवस्था गर्न माग गरिएको छ ।
नेपाल आयल निगम लिमिटेड अन्तर्गतको आधिकारी ट्रेड युनियन नेपाल आयल निगम कर्मचारी संघले प्रेस विज्ञप्ती जारी गर्दै अग्रपक्तिमा रहेर खटिरहेका कर्मचारीहरु कोरोना भाईरस कोरोनाबाट संक्रमित हुने क्रम बढेको भन्दै संक्रमित कर्मचारीलाई कोरोना बिमा र जोखिम भत्ता दिन माग गरेको हो ।
युनियनका अध्यक्ष गोपालचन्द्र राईद्वारा जारी उक्त विज्ञप्तीमा कोरोना संक्रमणको उच्च जोखिममा काम गरिरहेका निगमका कर्मचारीहरुलाई उत्प्रेरित गर्न कर्मचारीहरुको कर्मचारीहरुको कोरोना बीमा गर्ने कार्य तत्काल कार्यान्वयन गराउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराइएको छ ।
फ्रन्टलाइनमा रहि कार्य गर्ने कर्मचारीलाई शतप्रतिशत जोखिम भत्ताको व्यवस्था गर्नका साथै कर्मचारीहरुलाई स्वास्थ्य सामाग्रीहरुको सहज उपलब्धता गर्न, नियमित स्वास्थ्य चेकजाँचको व्यवस्था गर्न र संक्रमित कर्मचारी तथा निजका परिवारहरुको लागि सुविधा सम्पन्न आइसोलेसनको कक्षको व्यवस्था गराउन समेत सम्बन्धीत निकायको ध्यानाकर्षण गराइएको छ ।
विज्ञप्तीमा आईसोलेसन तथा क्वारेन्टाइनमा बसेका उपचार कर्मचारीहरुको सम्पूर्ण व्यवस्था गर्न/गराउन पनि माग गरिएको छ ।
साथै. संक्रमित कर्मचारीहरुको शीघ्र स्वस्थ्यलाभको कामना गर्दै आफ्ना कर्मचारीहरुलाई सजग र सुरक्षित भई काम गर्न अनुरोध गरिएको छ । कर्मचारीहरुको हकहितमा सदा जुट्दै आएको युनियन जस्तोसुकै समस्याको समाधानमा संगठनले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

वि.सं.२०७७ भदौ १० बुधवार १२:०७ मा प्रकाशित






























