पाटनका राजाहरु र तिनको शासन व्यवस्था
पाटन राज्यको राजाहरु र तिनको शासनकालको सम्बन्धमा इतिहासकार र अन्य ऐतिहासिक स्रोतहरुको बीचमा एक रूपता देखिँदैन । कुनै इतिहासकारले पाटनका प्रथम राजा विष्णु सिंह रहेको उल्लेख गरेका छन् भने कुनै इतिहासकारले ललितपुरको पहिलो राजा रत्न मल्ल रहेको उल्लेख गरेका छन् । कुनै कुनै स्रोतले भने पुरन्दर सिंह ललितपुरको पहिलो राजा भनी उल्लेख गरेका छन ।ईतिहासकार श्रीराम प्रसाद उपाध्याय का अनुसार ल लित पुर राज्यमा विष्णु सिंह ले स्वतन्त्र राज्य खडा गरेका र उनी पछी उनका छोराहरु नर सिंह, पुरन्दर सिंह र उद्धव सिंह ले संयुक्त शासन गरेका त्यसपछी पुरन्दर सिंहले शासन गरेको उल्लेख गरेका छन ।उनका अनुसार पुरन्दर सिंह पछी ललितपुर राज्यका राजा सिद्धीनर सिंह मल्ल त्यसपछि श्रीनिवास मल्ल, त्यस पश्चात क्रमशः योगनरेन्द्र मल्ल, लोकप्रकाश मल्ल, इन्द्र मल्ल, महीन्द्र मल्ल, वीरनरसिंह मल्ल, महीन्द्र मल्ल, ऋद्धिनरसिंह मल्ल, भाष्कर मल्ल, योग प्रकाश मल्ल, विष्णु मल्ल, राज्य प्रकाश मल्ल, विश्वजित मल्ल, जय प्रकाश मल्ल, रणजित मल्ल, जय प्रकाश मल्ल, दलमर्दन शाह र तेज नरसिंह मल्ल पाटनका राजा भए ।
नेपाल सरकार, सूचना तथा प्रसारण विभागद्वारा प्रकाशित नेपाल परिचयमा उल्लेख भए अनुसार पाटन राज्यमा क्रमशः
१। रत्न मल्ल
२। विष्णु मल्ल
३। नरसिंह मल्ल/पुरन्दर सिंह/उद्धव सिंह
४। हरिहरसिंह मल्ल
५। सिद्धि नरसिंह मल्ल
६। श्रीनिवास मल्ल
७। योग नरेन्द्र मल्ल
८। लोक प्रकाश मल्ल
९। इन्द्र
१०। महीन्द्र मल्ल
११। वीरनरसिंह मल्ल
१२। ऋद्धिनरसिंह मल्ल
१३। भाष्कर मल्ल
१४। योग प्रकाश मल्ल
१५। विष्णु मल्ल
१६। राज्य प्रकाश मल्ल
१७। विश्वजित मल्ल
१८ं जयप्रकाश मल्ल
१९। रणजित मल्ल र
२०। तेजनरसिंह मल्ल पाटन राज्यको राजा भए भनी उल्लेख गरिएको छ । (नेपाल परिचय, २०७६, पृ.७१)
त्यस्तै कुनै कुनै स्रोतहरुको अनुसार पाटनका राजागद्दीमा क्रमशः
१। पुरन्दर सिंह (सन् १५८०–१६००)
२। हहिर सिंह(१६००–१६०९)
३। शिव सिंह (१६०९–१६२०)
४। सिद्धिनरसिंह मल्ल (१६२०–१६६१)
५। श्रीनिवास मल्ल (१६६१–१६८२)
६। योग नरेन्द्र मल्ल (१६८५–१७०५),
७। लोक प्रकाश मल्ल (१७०५–१७०६),
८। इन्द्र मल्ल(१७०६–१७०९)
९। वीरनरसिंह मल्ल (१७०९)
१०। वीरमहेन्द्र मल्ल (१७०९–१७१५)
११। ऋद्धिनरसिंह मल्ल (१७१५–१७१७)
१२। महीन्द्र मल्ल (१७१७–१७२२)
१३। योग प्रकाश मल्ल (१७२२–१७२९)
१४। विष्णु मल्ल (१७२९–१७४५)
१५। विश्वजित मल्ल (१५६०–१५६३)
१६। जयप्रकाश मल्ल (१७६३–१७६४)
१७। दलमर्दन शाह(१७६४–१७६५) र
१८। तेजनरसिंह मल्ल (१७६५–१७६८) मा पाटन राज्यको राजगद्दीमा बसी शासन चलाएको उल्लेख छ ।
पाटन राज्यका राजाहरु को को भए भन्ने कुरामा इतिहासकार र अन्य ऐतिहासिक स्रोतहरुमा मतैक्यता नभए जस्तै पाटन राज्यका राजाहरुको शासन काल र शासन अवधिका बारेमा पनि फरक फरक तिथि मितिहरु उल्लेख गरिएको पाइन्छन् । भीम राना जिज्ञासुको अनुसार पाटनका राजा ऋद्धिनरसिंह मल्लको शासन काल वि.सं.१६८९/९० देखि १७१४ योग नरेन्द्र मल्लको शासन अवधि वि.सं.१७१४ देखि १७३८/३९ र राज्य प्रकाश मल्लको शासनकाल वि.सं.१७९१ देखि १८२५ रहेको उल्लेख गरेका छन् । त्यस्तै श्रीराम प्रसाद उपाध्यायको अनुसार भने सिद्धिनरसिंह मल्लको शासनकाल वि.सं.१६७५–१७१७, योग नरेन्द्र मल्लको शासन काल वि.सं. १७४१ देखि १७६२ र राज्यप्रकाश मल्लको शासनकालवि.सं. १८०२ देखि वि.सं.१८१५ रहेको उल्लेख गरेका छन् ।
यसरी पाटन राज्यमा करिब तीन दर्जन राजाहरुले शासनभार सम्हाले पनि इतिहासकारहरुले सबै राजाहरुको शासनकालको बारेमा उल्लेख गरेको पाइँदैन केही मुख्य राजाहरुको शासनकालको मात्र चर्चा गरेको पाइन्छ । पाटन राज्यका केही राजाहरुको शासनकालको बारेमा सङ्क्षिप्तमा निम्नानुसार चर्चा गरिएको छ ।
वि.सं.१७१५ भाद्र २० गते कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्ल बीच श्रावण कृष्ण सप्तमीका दिन एउटा धर्म पत्र वा शान्ति सम्झौताको उल्लेख गरिएको पशुपतिनाथको ताम्रपत्रअनुसार कान्तिपुर र पाटन ललितपुरका राजा आजीवन ‘एकान शत्रु, एकान मित्र’ भई बस्ने वानप्रस्य राजा सिद्धिनरसिंह मल्ल र अन्य कुनै भारदारका कुरा नसुन्ने, आफूहरुले थाहापाएका राम्रा नराम्रा कुराहरु एक अर्कालाई बताउनु पर्ने, भक्तपुरसँग दुवै राज्यले मैत्रीभाव नराख्ने र भक्तपुर राज्यका बारेमा दुवै राजाहरुले एक अर्कालाई जानकारी गराउने उल्लेख थियो । यसरी उक्त ताम्रपत्रबाट कान्तिपुर र ललितपुर दुवै राज्यको भक्तपुर राज्यसँग शत्रुता रहेको थाहा पाइन्छ । त्यस्तै भक्तपुर राज्यको विरुद्ध कान्तिपुर र ललितपुरका राज्यका राजा र भारदारहरु पनि मिलेको देखिन्छ ।
विष्णु सिंहको शासनकाल
मध्यकालमा ललितपुर दक्षिण विहार, उत्तर विहार र पूर्वीविहार गरी विभिन्न प्रशासकीय एकाइमा विभाजित हुनुका साथै ती प्रशासकीय एकाइहरुमा महापात्रहरुले वंशानुगत शासन गर्दथे । ललितपुरमा सात परिवार वा सात कुटुम्बजमा आधारित शासन थियो । सात कुटुम्बज मध्ये पनि तीन महापात्रहरु शासनमा बढी सक्रिय थिए । यिनीहरुले जयस्थिति मल्लकै ‘न्याय विकसिनी’ को आधारमा राज्य सञ्चालन गरे पनि यिनीहरुको काममा कुनै हस्तक्षेप थिएन र असीमित अधिकार थियो । यक्ष मल्लको शासनसम्म एकीकृत रहेको काठमाडौँ उपत्यकाको शासन निजको शेषपछि उनका छोरा राय मल्ल भक्तपुर र माइला छोरा रत्न मल्ल कान्तिपुरमा स्वतन्त्र राज्य स्थापना गरी राजा भएपछि विभाजित हुन पुग्यो । त्यही विभाजनको परिणाम स्वरूप ललितपुरका तीन महापात्र मध्ये एक महापात्र जयसिंहका पनाति, कीर्ति सिंहका नाति बुबा कुसुम सिंह आमा जय लक्ष्मीका छोरा विष्णु सिंहले ललितपुरमा स्वतन्त्र राज्य खडा गरे । यिनकी आमा जयलक्ष्मी ललितपुरकै वैश्य वंशकी थिइन ।सुनागुठी भृङ्गारेश्वरको अभिलेख अनुसार । यिनले भृङ्गारेश्वर महादेवको मन्दिरको जीणोद्धार गराएका थिए ।
२. नरसिंह/पुरन्दर सिंह/उद्धव सिंहको संयुक्त शासन काल
विष्णु सिंहको जेठी पत्नी पदमलक्ष्मीबाट नरसिंह, पुरन्दर सिंह र कान्छी पत्नी हृदयलक्ष्मीबाट उद्धवसिंह नामका पुत्रहरु जन्मिएका थिए । विष्णु सिंहको मृत्यु पश्चात यिनका तीनभाइ छोराहरुले पाटनमा संयुक्त शासन चलाउन थाले तर संयुक्त शासन शक्ति सङ्घर्षका कारण धेरै समय टिकेन ।
३.पुरन्दर सिंह
नरसिंह पुरन्दर सिंह र उद्धव सिंहको संयुक्त शासन कायम नरहेपछि ती मध्येका पुरन्दर सिंहले शासनको बागडोर सम्हाली ललितपुरमा स्वतन्त्र राज्य सञ्चालन भएको तत्कालीन कान्तिपुर राज्यलाई मन नपरेकाले तत्कालीन कान्तिपुर राजा शिवसिंह मल्लले ललितपुरमा आक्रमण गरी पुरन्दरसिंहलाई हराए ।
४. हरिहर सिंह
पुरन्दर सिंहको शासन कालमा कान्तिपुरका राजा शिवसिंह मल्लले उनलाई पराजित गरेपछि आफ्नो पुत्र हरिहरसिंहलाई पाटनको राज्य सुम्पिए । हरिहर सिंहको मृत्युपछि यिनकी रानी लालमतिले ललितपुरलाई कान्तिपुरबाट स्वतन्त्र बनाईन् ।
५. सिद्धिनरसिंह मल्ल (वि.सं.१६६३–१७६७)
राजा हरिहरसिंहको देहान्त भएपछि उनकी रानी लालमतिले आफ्ना छोरा सिद्धिनरसिंह मल्ललाई वि.सं.१६७५ मा पाटनको राजा बनाइन् । त्यतिखेर यिनको उमेर बाह्र वर्षको मात्र थियो । सुनागुठी भृङ्गारेश्वरको अभिलेखअनुसार सिद्धिनरसिंह मल्ल पाटनको स्वतन्त्र राजा हुँदा यिनका बाजे शिवसिंह मल्ल जीवित नै रहेका थिए । मङ्गलबजार विश्वेश्वर मन्दिरको सिद्धिनरसिंह अभिलेखअनुसार हरिसिंहदेव नेपाल पसेको कुरा लेखाएको पाइन्छ । त्यस अभिलेख पढ्दा हरिसिंहदेव मिथिलाबाट काठमाडौँ उपत्यका आई धेरै समय शासन गरेको भ्रम पर्छ । त्यस्तै भक्तपुरका जगज्योर्तिमल्ल र कान्तिपुरका प्रताप मल्लहरुले पनि त्यही लेखाएकाले त्यस्तो भ्रम पर्नु स्वाभाविक नै हुन जान्छ । तर गोपाल वंशावलीका अनुसार उक्त कुरा सत्य नरहेको पाइन्छ । उक्त अभिलेखमा वि.सं.१३१८ मा दिल्लीका वादशाह गयासुद्दीन तुगलकको आक्रमण हुन लागेकाले हरिहर सिंह सबै रैतीहरु उठाई लडाइँ गर्न आफ्नो गढ बाहिर निस्केको तर गयासुद्दीन तुलगकको विशाल सैन्यसँग सामना गर्ने क्षमता आफ्नो फौजमा नभएकाले हरिसिंह देवको सेना वन/दुर्गभित्र पसेको तत्पश्चात् तुगलकको सेनाले सिमौनगढ ध्वस्त पारेको र हरिसिंह देव सपरिवार भागी ज्यान जोगाई पहाडी भागमा पसेको र दोलखातिर जाँदा तीन पाटन भन्ने ठाउँमा वि.सं.१३८२ माघमा उनको मृत्यु भएपछि जहान छोरा मन्त्री सबै कैद गरिएको उल्लेख छ । पछि उनीहरुले भक्तपुरका शासक रुद्र मल्लसँग शरण मागी हरिसिंहदेव र रानी देवलदेवीका छोरा जगतसिंह कुम्हर लगायतले रुद्र मल्लको दरबारमा प्रवेश पाएको र जगत सिंहको रुद्र मल्लको छोरी नायकदेवीस्ँग विवाह भई राजल्लदेवीको जन्म भई उनको विवाह स्थिती मल्लसँग भएको र स्थिति मल्लको सन्तान सिद्धिनरसिंह मल्लहरु भएको देखिन्छ । त्यसरी राजल्लदेवीको तर्फबाट मल्लहरुको सम्बन्ध हरसिंह देवसँग रहेकोले अलि कुरा लुकाई आफ्नो वंश हरसिंह देवसँग जोड्न पुगेको देखिन्छ । त्यस्तै उक्त शिलालेखमा हरसिंहदेवको वंशमा महेन्द्र मल्ल भए भनी उल्लेख गरिएको देखिन्छ ।
ललितपुर दरबारको नासल चोकको पश्चिमपट्टि भित्तामा रहेको सिद्धिनरसिंह मल्लको ने.सं.७६१ मा छापिएको शिलालेखको अनुसार आफ्ना छोरा श्री निवास मल्ल १३ वर्षका हुँदा छोराले पनि राजकाजको अनुभव पाउँदै जाओस् भन्ने अभिप्रायले तत्कालीन समयमा मल्ल राजाहरुले आफ्नो छोरालाई संयुक्त शासक गर्ने गरेका र सिद्धिनरसिंह मल्लले पनि राजकाजबाट हटि धार्मिक क्रियाकलापमा संलग्न हुने विचार केही मात्रामा लिएको कुरा सङ्केत गरेको देखिन्छ । चोभारको सिद्धिनरसिंह मल्लको पालाको अभिलेख अनुसार नेपाल सम्वत ७६१ (१६९८) मा ललितपुरमा सिद्धिनरसिंह मल्ल र छोरा श्रीनिवास मल्लको संयुक्त शासन चलिरहेको र त्यस बेला सिद्धिनरसिंह ३५ वर्षका र श्री निवास मल्ल १४ वर्षको मात्र रहेको र सिद्धिनरसिंहले छोरालाई राजकाजको भार सुम्पिसकेको कुरा उल्लेख गरिएको छ । पाटन भण्डारखालको सिद्धिनरसिंहको अभिलेख अनुसार सिद्धिनरसिंहले आफ्नो इष्टदेवीलाई खुसी पार्न ढुङ्गेधारा, पोखरी र फूलबारी निर्माण गरेको उल्लेख गरेका छन् ।
भण्डार खालको सिद्धिनरसिंह मल्लको अभिलेखअनुसार सिद्धिनरसिंहले आफ्नो इष्ट देवीलाई प्रसन्न पार्न निकै खेत गुठी राखेको उल्लेख गरिएको छ । ती खेतको आम्दानीले परमेश्वरीको पूजाको लागि विशेष फूल बन्दोवस्त गर्ने गरिएको र पोखरीको जीर्णोद्वार गर्न पनि आयस्ता छुट्याइएको वर्णन गरिएको छ ।
ललितपुर भण्डारखाल भित्रको पोखरीको उत्तरी किनारामा सिद्धिनरसिंह मल्लले बनाउन लगाएको भूगोलको उत्तरपट्टिको भित्तामा अभिलेख कुँदेर टाँसिएको ने.सं.७९६ को शिलापत्रमा वर्णन गरिएको भण्डारखालको राजर्षि सिद्धिनरसिंह मल्लको अभिलेख अनुसार छोरालाई राज्याधिकार सुम्पेपछि सिद्धिनरसिंह मल्ल राजर्षिका रूपमा रहेको, उनको महाराजधिराज नेपालेश्वर आदि पदवी मात्र प्रसस्तिबाट झिकिएको र उनी पदच्यूत राजा सरह पनि नरहेको र गद्दीनसिन राजाको रूपमा पनि नरही राजर्षिका रूपमा अलि बेग्लै अवस्थामा रहेको भनी उल्लेख गरिएको छ । सिद्धिनरसिंह मल्ल धार्मिक स्वभावको रहेको र राजकाजबाट अलग भएपछि अझ बढी धर्मकर्मतिर लागेको राज्याधिकार छाडेपछि उनी आफ्नो इष्ट देवताको आराधनामा लागेको कुरा थाहा पाइन्छ । त्यस्तै उनले इष्ट देवतालाई फूल चढाउन पुष्पवाटिका, पोखरी पहिल्यै बनाईसकेकोमा भण्डारखाल र धारा बनाई नियम बाधेको कुराबाट तत्कालीन सामाजिक परिवेश थाहा पाउन मद्दत मिल्दछ । उक्त अभिलेखको आधारमा यो अभिलेख लेखेपछि सिद्धिनरसिंह नेपाल छोडी तीर्थ यात्राको लागि भारततिर गएका थिए भन्ने थाहा हुन्छ । ने.सं.८०० को श्री निवास मल्लको छोरी कीर्ति मङ्गलको वंश गोपाल मन्दिरको अभिलेखको अनुसार सिद्धिनरसिंह ने.सं.८०० भन्दा अगाडि नै तीर्थ यात्राको लागि गएको थाहा पाइन्छ । राज्याधिकार छोडेपछि एक पटक तीर्थ यात्रा गएपछि फेरि फर्केर आई पुनः ललितपुरमा धर्मकर्म गरेर बसेका सिद्धिनरसिंह ने.सं.८०० भन्दा अघि फेरि तीर्थ यात्राको लागि गएको र फेरि नफर्केको र ने.सं.८३० ( वि.सं.१७६७) मा उनको १०४ वर्षको उमेरमा मृत्यु भएको कुरा एक थ्यासफूमा उल्लेख गरिएको छ । त्यसबाट सिद्धिनरसिंहको हरेक क्रियाकलाप अरु राजाको भन्दा भिन्न भएको र शरीरलाई सुख सयलमा मात्र नराखी कष्ट पनि उठाउनुपर्छ भन्ने मान्यता राख्ने गरेको र कृच्छचान्द्रायन व्रत बस्नुका साथै गर्मीमा पाञ्चाग्नी ताप्नु र जाडोमा चिसो ढुङ्गामा तपस्या गरी कठिन व्रत बस्ने गरेका कुरा भाषा वंशावलीमा उल्लेख छ ।
सिद्धिनरसिंह मल्लले वि.सं. १६७६ को आश्विन २७ गते विजया दशमीको दिन ललितपुर राज्यको राजाको रुपमा विधिपूर्वक राज्याभिषेक गरेको थिए । तर यिनी यसभन्दा डेढ वर्ष पहिले वि.सं.१६७६ जेठ २ गते देखि नै राज्य सत्तामा आइसकेका देखिन्छन् । यसरी स्वतन्त्र ललितपुर राज्यको राजाको रुपमा सिद्धिनरसिंह मल्लले राज्याभिषेक गरेपछि काठमाडौँ उपत्यकामा कान्तिपुर, ललितपुर (पाटन) र भक्तपुर गरी तीनवटा स्वतन्त्र राज्यहरु अस्तिवमा आएका देखिन्छन् । सिद्धिनरसिंह मल्ल ललितपुरको राजा भएपछि यिनका सौतेनी दाई तत्कालीन कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्लले दुवै देशले एक अर्कामाथि सैन्य हस्तक्षेप नगर्ने र दुइटै देशका राजा तथा भारदारले आपसमा मिलेर बस्ने व्यहोरा उल्लेख भएको धर्मपत्र शान्तिपत्र वि.सं. १६७० माघ १४ गते गरेका थिए । तर उक्त सन्धिपत्र धेरै लामो समयसम्म कायम राखिराख्न सकेन ।
वि.सं.१६७८ को आसपास गोरखा राज्यका तत्कालीन राजा राम शाह ललितपुर राज्यको राजधानी राजा सिद्धिनरसिंह मल्लसँग भेट गरेर फर्किएका थिए । तत्कालीन पाटनका राजा सिद्धिनरसिंह मल्ले वि.सं. १६९३ फागुनमा निर्माण गर्न लगाएको भगवान् श्रीकृष्णको मन्दिरमा सुवर्णका गरुड तथा २१ वटा गजुरहरु चढाएर मन्दिरको प्रतिष्ठा गराइरहँदा कान्तिपुर राज्यका फौजहरुले ललितपुर माथि हमला गरी केही गढी र किल्लाहरु नियन्त्रण गरेकोमा सिद्धिनरसिंह मल्लले तत्काल ती गढी र किल्लाहरु फिर्ता लिएका थिए । राजा लक्ष्मीनरसिंह मल्लकै पालादेखि नै ललितपुर राज्यसँग वैमनष्यता सुरु भइसकेकोमा आफ्ना पिता लक्ष्मीनरसिंहलाई थुनामा राखी शासनको बागडोर सम्हालेका कान्तिपुरका नवनियुक्त राजा प्रताप मल्लको शासन कालमा कान्तिपुर र ललितपुर बीच वैमनष्यता झनै बढ्न पुग्यो । प्रताप मल्लले आफ्नो शासनकालको सुरुमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लसँग मिली भक्तपुरका राजा नरेश मल्लको विरुद्ध भक्तपुर राज्यमा आक्रमण गर्ने प्रयत्न गरेका थिए तर पछि भक्तपुरको राजा नरेश मल्लसँग मिली ललितपुर राज्यमा नै वि.सं.१७०५ फागुन २७ गते आक्रमण गरेका थिए । उक्त आक्रमणका तत्कालीन गोरखाका राजा डम्बर शाहले ललितपुर राज्यलाई सैनिक सहायता गर्न आएकोमा तिनलाई समेत पराजित गरी प्रताप मल्लले ललितपुर राज्यका केही गढी वा किल्लालाई काठमाडौँमा मिलाएका थिए भनि वंशगोपाल (भगवान् श्रीकृष्ण) को मन्दिरको शिलालेखमा उल्लेख गरिएको पाइन्छ ।
सिद्धिनरसिंह मल्ल धार्मिक प्रवृत्तिका भएकाले आफ्ना छोरा श्रीनिवास मल्ललाई आफ्नो प्रतिनिधिको रुपमा नियुक्त गरी वानप्रस्थ भएर यिनी वि.सं. १७०८ को फागुन महिनाको सुरुतिर तीर्थयात्राको निम्ति प्रस्थान गरी दुई वर्षपछि स्वेदश फर्किइ वि.सं.१७१७ माघ ९ गते फेरि तीर्थयात्राका लागि निस्किएका थिए । ललितपुर राज्यमा राजा सिद्धिनरसिंह मल्ल तथा यिनका छोरा श्रीनिवास मल्लको राज्यकाल प्रायः कान्तिपुर तथा भक्तपुर दुवै राज्यका राजाहरुसँग लडाइँ तथा झगडाहरु गर्दैमा बितेको पाइन्छ ।
६. श्रीनिवास मल्ल(वि.सं.१६८४–१७४३)
श्रीनिवास मल्लको जन्म वि.सं.१६८४ मा भएको थियो । यिनलाई सानैदेखि राजकाज सम्बन्धी शिक्षा तथा तालिम दिइएकाले यिनी महत्वाकाङ्क्षी भई आफ्ना बुबा सिद्धिनरसिंह मल्ल गद्दिनासिन हुँदा हुँदै कीर्तिपुरमा समानान्तर सरकारको स्थापना गरी राजा भएका थिए । पछि सिद्धनरसिंह मल्लले नै पाटन बोलाएर वि.सं.१७१७ मा विधिगत राजा बनाई दिए । भण्डारखालको राजर्षि सिद्धिनरसिंह मल्लको अभिलेख अुनसार श्री निवास मल्ललाई नेपालेश्वर भनिन्थ्यो । उनको शासनकालमा कान्तिपुरको राणा प्रताप मल्ल र भक्तपुरको राजा जगतप्रकाश मल्लको मृत्यु भइसकेकाले श्रीनिवास मल्लको प्रमुख तीनै राज्यमा प्रभाव परेको थियो । ने.सं ७८६ तदनुसार वि.सं. १७२३ मा आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन श्रीनिवास मल्लले मूल चोक तयार गरेको र त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्ट देवता यन्ताजुको पूजाको लागि मन्दिर बनाए । बर्षेनी महानवमी पूजा चलाउनको लागि एक ठाउँका जगात अर्थात् करबाट आउने जति रकम पनि उनले छुट्याए । वि.सं.१७१५ भाद्र २० गते कान्तिपुरका राजा प्रताप मल्ल र पाटनका राजा श्रीनिवास मल्ल बीच श्रावण कृष्ण सप्तमीका दिन एउटा धर्म पत्र वा शान्ति सम्झौताको उल्लेख गरिएको पशुपतिनाथको ताम्रपत्रअनुसार कान्तिपुर र पाटन ललितपुरका राजा आजीवन ‘एकान शत्रु, एकान मित्र’ भई बस्ने वानप्रस्य राजा सिद्धिनरसिंह मल्ल र अन्य कुनै भारदारका कुरा नसुन्ने, आफूहरुले थाहापाएका राम्रा नराम्रा कुराहरु एक अर्कालाई बताउनु पर्ने, भक्तपुरसँग दुवै राज्यले मैत्रीभाव नराख्ने र भक्तपुर राज्यका बारेमा दुवै राजाहरुले एक अर्कालाई जानकारी गराउने उल्लेख थियो । यसरी उक्त ताम्रपत्रबाट कान्तिपुर र ललितपुर दुवै राज्यको भक्तपुर राज्यसँग शत्रुता रहेको थाहा पाइन्छ । त्यस्तै भक्तपुर राज्यको विरुद्ध कान्तिपुर र ललितपुरका राज्यका राजा र भारदारहरु पनि मिलेको देखिन्छ । त्यस्तैमा ललितपुर र भक्तपुर राज्य बीच युद्ध भई भक्तपुरको ‘बोडे’ माथि ललितपुरले नियन्त्रण कायम ग¥यो । तर त्यसको केही वर्षपछि ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जगतप्रकाश मल्ल बीच वि.सं.१७२२ वैशाख १९ गते धर्म पत्र अर्थात् शान्ति सम्झौतामा हस्ताक्षर भई कान्तिपुर राज्यका विरुद्ध मोर्चाबन्दी हुन पुग्यो । तर पछि पुनः कान्तिपुर र ललितपुर राज्इ मिली भक्तपुरका ‘नाला’, ‘चौकोट’ र दाप्चा गरी चार इलाका माथि नियन्त्रण स्थापित गराउका र भक्तपुरका राजा जगत प्रकाश मल्लले ती गाउँ र इलाका फिर्ता गरेका थिए । तर क्रान्तिपुर र ललितपुरको यो मित्रता धेरै दिन सम्म टिक्न नसकी ललितपुरका राजा श्रीनिवास मल्लले भक्तपुरसँग मित्रता गाँस्न पुगेपछि कान्तिपुरका राजा प्रताप मल्ल श्री निवास मल्ललाई पक्रने योजना बनाई विष्णु मति नदीको दोभान टेकु दोभानमा बोलाएको तर श्रीनिवास मल्ल त्यहाँ नगएकाले त्यो योजना असफल भई दुई राज्य बीच पुनः वैमनष्यता भएको देखिन्छ । कान्तिपुर राज्यसँग वैमनष्यता भएपछि ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जगत प्रकाश मल्ल बीच वि.सं. १७२२ वैशाख ९ गते पुनः मैत्री सम्बन्ध स्थापित भएको थियो । तर वि.सं.१७२७ मा श्री निवास मल्ल र प्रताप मल्लको सम्बन्ध पुनः स्थापित भई जगतप्रकाश मल्लसँग वैरभाव रहन गयो । त्यसको केही समयपछि वि.सं. १७२५ भाद्र १७ गते ललितपुर र भक्तपुर राज्य आपसमा मिली कान्तिपुर राज्यका केही भू–भाग ललितपुरको अधिनमा ल्याइयो । तर त्यस्तैमा भक्तपुर राज्इले ललितपुरको लुभु र विशङ्खु नामक दुई इलाका आफ्नो राज्यलाई दिनुपर्ने भनी ललितपुर राज्इलाई प्रस्ताव गरेपछि ललितपुरका राजा श्रीनिवास मल्लले त्यो प्रस्ताव स्वीकार गरेनन् । त्यसपछि श्रीनिवास मल्ल र कान्तिपुरका राजा प्रताप मल्ल बीच ‘एकान–शत्रु एकान–मित्र’ को अर्को शान्ति सम्झौता हुन पुग्यो । त्यस्तैमा वि.सं. १७२८ अषाढ १४ गते ललितपुर र भक्तपुर राज्यका राजाका बीच अर्को मैत्री सम्बन्ध स्थापित भई कान्तिपुर राज्य अन्तर्गतको नाला इलाकालाई ललितपुरमा गाभियो ।
वि.सं.१७३१ वैशाख ९ गते कान्तिपुरका राजा प्रताप मल्लको देहान्त भए पश्चात कान्तिपुरमा कसलाई राजा बनाउने भन्ने प्रश्न उठेपछि उक्त विषय उपर छलफल गर्न ललितपुरका राजा श्रीनिवास मल्ल, भक्तपुरका राजा जितामित्र मल्ल, कान्तिपुरका राजकुमार मान्चातासिंह लगायतले बागमती नदी किनारको टेकु दोभानमा वि.सं. १७३१ वैशाख १७ गते एकापसमा छलफल गरे । वि.सं.१७३१ आषाढ ३१ गते ललितपुरका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जितामित्र मल्ल अग्रसर भई कान्तिपुरमा राजकुमार नृपेन्द्र मल्ललाई राजा सिंहासनमा राखियो । इतिहासकार श्रीकृष्ण आचार्यका अनुसार कान्तिपुरका राजा प्रताप मल्लले आफ्नो शेषपछि आफ्ना छोरा महीपतेन्द्र मल्ललाई कान्तिपुरको राजसिंहासनमा राख्ने चाहना गरेका थिए तर उनको मृत्युपछि उनका अर्का छोरा नृपेन्द्र मल्ललाई राजगद्दीमा राख्नुमा तत्कालीन पाटनका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजा जितामित्र मल्लको आ–आफ्नो स्वार्थ थियो । उनीहरुकै चाहना बमोजिम नृपेन्द्र मल्ल कान्तिपुरको राजा बनेपछि आफ्ना भाइ राजकुमार महीपतेन्द्र मल्ललार्य नजरबन्दमा राखिएको थियो । त्यस्तै त्यही स्वार्थ अनुरुप प्रताप मल्लको पालामा पदमुक्त भई ललितपुरमा शरण लिइरहेको कान्तिपुरका भू.पू. चौतारा देवीदास चिकुटीलाई नृपेन्द्र मल्ल राजा बनेपछि कान्तिपुरको चौतारा नियुक्त गरिएको थियो । यस्तै एक वंशावलीका अनुसार वि.सं. १३१ को असोजमा मकवानपुर राज्यका राजाका बीच विवाद भइ त्यहाँका तत्कालीन राजा माणिक्य सेन सैन्य सहायता माग्न ललितपुर राज्यमा आएपछि भक्तपुर, कान्तिपुर र तनहुँ राज्यका सैनिकहरुले मकवानपुर राज्यको तर्फबाट विजयपुर राज्य माथि आक्रमण गरी १० वटा गाउँ नियन्त्रण गरी मकवानपुर राज्यलाई दिलाई दिएका थिए । पाटन दरबारको मूलचोकको धर्म– ताम्रपत्रका अनुसार वि.सं. १७३१ चैत्र २३ गते पाटनका राजा श्रीनिवास मल्ल, कान्तिपुरका राजा नृपेन्द्र मल्ल र भक्तपुरका राजा जितामित्र मल्ल बीच आपसी सम्बन्ध सदैव सुमधुर राखिराख्ने व्यहोरा उल्लेख छ । वि.सं. १७३७ असार १४ गते कान्तिपुरका राजा नृपेन्द्र मल्लको मृत्यु भएपछि उनका सौतेनी भाइ राजकुमार पार्थिवेन्द्र मल्ल राजा भए भने उनलाई पाटनका राजा श्रीनिवास मल्लले राजतिलक लगाई दिएको पाइन्छ ।
राजा श्रीनिवास मल्लले शासन गरिरहेकै बखतमा यिनका पुत्र युवराज योग नरेन्द्र मल्ललाई पाटनका तत्कालीन मुख्य मन्त्री वा चौतारा भगीरथ भैया प्रभावशाली भएको मन परेको थिएन । भगीरथ भैयाकै विषयलाई लिएर राजा श्रीनिवास मल्ल र युवराज योग नरेन्द्र मल्लका बीच मनमुटाव सुरु भएपछि युवराज योग नरेन्द्र मल्ल वि.सं. १७३८ मा एकाएक राजभवनलाई परित्याग गरी बाहिर बस्न गए । एक “ठ्यासफु” मा उल्लेख भएअनुसार वि.सं. १७३९ (ने.सं. ८०२) को साउन महिनातिर कान्तिपुर पाटनका युवराज योग नरेन्द्र मल्ल तत्कालीन कान्तिपुर राज्य अन्तर्गतको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका तर पशुपतिनाथको मन्दिर बन्द रहेकाले उनले पशुपतिनाथको मन्दिर बन्द गर्ने जो जो जिम्मेवार छन् उनीहरु उपर कडा कदम चाल्ने चेतावनी दिएपछि पशुपतिनाथका द्वारहरु खुलेपछि युवराज योग नरेन्द्र मल्ल पशुपतिनाथको दर्शन गरी फर्किएको उल्लेख गरिएको पाइन्छ । त्यस्तै पाटनका राजा श्रीनिवास मल्लकै शासनकालमा तत्कालीन मकवानपुर राज्यका राजा जयसिंह बानियाँलाई मुगल प्रशासकरुले पक्रिई थुनामा राखेका र तत्कालीन तनहुँ राज्यले पनि मुलाल प्रशासकहरुलाई साथ दिएकोमा तत्कालीन ललितपुर, भक्तपुर, कान्तिपुर, गोरखा, लमजुङ, पाल्पा, भीरकोट, रिसिङ घिरिङ राज्यको संयुक्त फौज मकवानपुर राज्यको सहायताको लागि गएका र वि.सं. १७३९ मंसिर २४ गते मुगल प्रशासक र तनहुँ राज्यका सैनिकलाई धपाई बन्धनमा परेका जयसिंह बाँनियालाई मुक्त गराई दिएको कुरा उल्लेख छ । श्रीनिवास मल्लकै शासनकालमा कान्तिपुर राज्यको अन्र्तकलहको कारण सो राज्यका चौतारा देवीदास चिकुटी भागेर ललितपुर राज्य अन्तर्गतको थानकोटमा वि.सं. १७४० कार्तिक १७ गते आश्रय लिन पुगेकोमा त्यसको पाँच दिनपछि श्रीनिवास मल्लले वि.सं. १७४० कार्तिक २१ गते कान्तिपुर राज्यका काजी लक्ष्मीनारायण जोशी लगायतलाई उनका साविकका पदहरुमा थमौती गरी सबैलाई आ–आफ्ना पद अनुसारको पगरी लगाई दिएको उल्लेख गरिएको छ । त्यस लगत्तै कान्तिपुर र भक्तपुरका संयुक्त फौजले वि.सं.१७४० मंसिर ११ गते ललितपुर माथि आक्रमण गरेका थिए । श्रीनिवास मल्ल र यिनका प्रमुख मन्त्री भगीरथ भैयाको ललितपुर (पाटन) राज्यको सुरक्षाका लागि कान्तिपुर राज्यलाई सदैव अनुकूल राख्नु पर्ने मत रहेकोमा युवराज योग नरेन्द्र मल्ललाई उक्त कुरा मन नपर्नाले पिता र पुत्रको अन्तर्विरोध चर्किन गई योग नरेन्द्र मल्ल राजभवन परित्याग गरी हिँडेकोमा वि.सं.१७५१ माघ १७ गते श्रीनिवास मल्लले राज्यभार सुम्पे । ठ्यासफु “ए” को अनुसार नेपाल सम्वत ८०७ माघमा राजा श्रीनिवास मल्लको निधन भएको थियो । उनको अन्त्येष्टीमा उनका नौजना रानीहरु सती गएका थिए । उनको मृत शरीरलाई शङ्खमुलमा जलाईएको थियो । काठमाडौँ र भादगाउँमा कुनै बन्दुक पड्किएको गुञ्जन सुनिएको थिएन । मृत्यु संस्कार सम्बन्धी संस्कार दोस्रो राजकुमारबाट शङ्खमुलमा सम्पन्न गरिएको थियो । श्रीनिवास मल्लको देहावसान बिहान ८ घडी बितेपछि भएको थियो । काठमाडौँबाट पनि शव पेटिका ल्याइएको थियो भने भादगाउँबाट साँझ मात्र शव पेटिका ल्याइएको थियो । दरबारमा गरिने पूजापाठ ४ महिनाका लागि स्थगन गरिएको थियो ।
राजा योग नरेन्द्र मल्ल पुत्र शोकले ब्याकुल भएर सन्यासी जस्तो भई ने.सं ८२६ मा राजकाज त्यागी सम्पूर्ण कार्य आफ्ना मन्त्रीहरुलाई सुम्पी आफ्ना ३१ वटी रानीहरुका साथ चाँगुमा बस्न गए । चाँगु जानुभन्दा अगाडि आफ्ना मन्त्रीहरुलाई बोलाई ‘जबसम्म मेरो शालिक माथि यो चरा त्यही रहिरहन्छ, तबसम्म म जीवित नै रहनेछु भन्ने सम्झी दरबारको झ्याल खुला र कोठामा विछ्यौना तयार पारिराख्नु’ भनेका थिए । त्यस समयदेखि झ्याल ढोका खुलाइ ओछ्यान लगाएर राख्ने प्रचलन अझै छ । योग नरेन्द्र मल्लको मृत्युका सन्दर्भमा दुइथरी मतहरु इतिहासकारहरुले उल्लेख गरेको पाइन्छ तर उनको मृत्यु तमाखुमा विष प्रयोग गरेर भएको भन्नेमा भने इतिहासकारहरु सहमत देखिन्छन् ।
७ योग नरेन्द्र मल्ल
योग नरेन्द्र मल्ललाई राजकीय अधिकार प्रदान गरिँदा उनले १८ वर्ष उमेर मात्र पार गरेका थिए । युवा राजा बुद्धिमतापूर्ण र शक्तिशाली थिए । तथापी उनी उनको शासन प्रशासन सञ्चालन गर्दा असली रुपमा वंशीधरले चलाएका थिए । तर वंशीधर कसरी राज्य शक्ति संचालनको मुख्य पात्र हुन पुगे भन्ने बारे केही थाहा पाउन सकिएको छैन । वंशीधरको उत्थान भगिरथ भैयाको पतन पछि भएको थियो । योग नरेन्द्र मल्लको पालामा पाटनको अन्य राज्यसँग सम्बन्ध राम्रो भएन । त्यतिखेर कान्तिपुरमा पार्थिवेन्द्र मल्ल र भक्तपुरमा जितामित्र मल्लले शासन गरिरहेका थिए । ती तिनवटा राजाहरुको महत्वकांक्षा र प्रतिस्पर्धाले गर्दा यी राज्यहरुमा सधैं तनावको स्थिति रहँदै आयो । पहिलेदेखिको गोरखा राज्यसँगको सम्बन्ध पनि खलबलियो । वि.सं.१७४२ मा गोरखाका राजा पृथ्वी पति शाह कान्तिपुरमा आएर कान्तिपुर र भक्तपुरका राजासँग भेटघाट गरे तर पाटनलाई त्यो भेटमा संलग्न गराइएन । त्यसरी पाटन राज्य एक्लिन पुग्यो । मकवानपुर राज्य सम्बन्धी योग नरेन्द्र मल्लको नीति अन्य राज्यहरु भन्दा भिन्न थियो । मकवानपुरका राजा शुभसेन मकवानपुर विरोधी विजयपुरका राजा विधाता इन्द्र सेनलाई साथ दिएका थिए । पछि त्यसको बदलामा शुभ सेनले पाटनमा आक्रमण गरेका थिए । वि.सं. १४४८ मा उपत्यकाका तिनवटै राज्यले विधाता इन्द्र सेनलाई साथ दिँदा योग नरेन्द्र मल्लले संयुक्त फौजको नेतृत्व आफै गरेका थिए।
वि.सं. १७४४ मा कान्तिपुरका राजा पार्थिवेन्द्र मल्लको विषय प्रयोगबाट मृत्यु भएपछि उनका आठ वर्षका छोरा भूपालेन्द्र मल्ल राजा र लक्ष्मी नारायण मल्ल चौतारा भए । त्यो सत्ता परिवर्तन पछि चौतारा लक्ष्मी नारायण जोशीको कुटनीतिबाट कान्तिपुर र पाटन राज्यको सम्बन्ध राम्रो भयो । भक्तपुरका चौतारा भगीरामलाई आफ्नो पक्षमा मिलाउन नसके पछि कान्तिपुर र पाटन राज्य मिलेर भक्तपुरमाथि आक्रमण गरी संकट पैदा गरिदिए । तर कान्तिपुर राज्यले पाटन राज्यसँगको सम्झौताको शर्त पूरा नगर्दा योग नरेन्द्र मल्ल भक्तपुर राज्यसँग मिली दुईपटक कान्तिपुरमा आक्रमण गरिदिए । पछि योग नरेन्द्र मल्ल पुनः कान्तिपुरसँग मिल्न पुगे । योग नरेन्द्र मल्लको ढुलमुलको नीति निकै समय कायम रह्यो । वि.सं. १७५३ मा भक्तपुरका राजा जितामित्र मल्लको मृत्युपश्चात् भूपतिन्द्र मल्लले राजा भएपछि योग नरेन्द्र मल्लले भक्तपुर राज्यमाथि प्रभुत्व जमाउन प्रयत्न गरे तर त्यसका प्रतिक्रिया स्वरुप भूपतिन्द्र मल्लले वि.सं. १७८५ मा गोर्खा, तनहुँ, मकवानपुर आदि राज्यसँग मिली योग नरेन्द्र मल्ललाई एउटा ताम्रपत्रमा सही गर्न बाध्य बनाए । भक्तपुरको सल्लाह बिना ललितपुरले कान्तिपुरसँग सहायता माग्यो । तर भक्तपुर राज्यले कान्तिपुर राज्यसँग साँठगाँठ गर्न थालेपछि योग नरेन्द्र मल्ल भक्तपुर राज्यसँग क्रुद्ध बन्न पुगे । त्यस्तै राजा योगनरेन्द्र मल्लदेखि भादगाउँका राजा समनी जयजितामित्र मल्ल रिसाएर ललितपुर दरबार माझमा नै निसन्तानेश्वर (भष्मेश्वर) महादेव स्थापना गराइ दिए । त्यसको कारणबाट योग नरेन्द्र मल्लका उत्तराधिकारीको स्वर्गारोहण भयो भन्ने विश्वास गरिन्छ । राजा योग नरेन्द्र मल्ल पुत्र शोकले ब्याकुल भएर सन्यासी जस्तो भई ने.सं ८२६ मा राजकाज त्यागी सम्पूर्ण कार्य आफ्ना मन्त्रीहरुलाई सुम्पी आफ्ना ३१ वटी रानीहरुका साथ चाँगुमा बस्न गए । चाँगु जानुभन्दा अगाडि आफ्ना मन्त्रीहरुलाई बोलाई ‘जबसम्म मेरो शालिक माथि यो चरा त्यही रहिरहन्छ, तबसम्म म जीवित नै रहनेछु भन्ने सम्झी दरबारको झ्याल खुला र कोठामा विछ्यौना तयार पारिराख्नु’ भनेका थिए । त्यस समयदेखि झ्याल ढोका खुलाइ ओछ्यान लगाएर राख्ने प्रचलन अझै छ । योग नरेन्द्र मल्लको मृत्युका सन्दर्भमा दुइथरी मतहरु इतिहासकारहरुले उल्लेख गरेको पाइन्छ तर उनको मृत्यु तमाखुमा विष प्रयोग गरेर भएको भन्नेमा भने इतिहासकारहरु सहमत देखिन्छन् । इतिहासकार वासु पासाले आफ्नो ऐतिहासिक कृति ‘ललितपुर(इतिहास संगालो)’ मा उल्लेख गरे अनुसार, आफनो उत्तराधिकारीको मृत्यु भएपछि सांसारिक जीवनदेखि विरक्तिएर आफ्नामन्त्रीहरुलाई राजकाज सुम्पी आफ्ना ३१ वटी रानीहरुका साथ चांगुमा बस्न गएपछि नेपाल सम्वत् ८२६ कार्तिक शुक्ल एकादशीका दिनमा भादगाउँको एक अपरिचित व्यक्तिले खानेकुरामा विष हाली दिनाले चाँगुमा राजा योग नरेन्द्र मल्लको अल्पायुमा मृत्यु हुन गई शंखमुलमा ल्याई दाहसंस्कार गरियो भन्ने उल्लेख गरेका छन् । त्यस्तै इतिहासकार श्रीराम प्रसाद उपायायले आफ्नो ‘नेपालको प्राचीन र मध्यकालिन इतिहास’ मा उल्लेख गरे अनुसार भक्तपुर राज्यले अन्य राज्यसँग मिली आफूलाई जबर्जस्त ताम्रपत्रमा सही गर्न लगाएपछि र चालिस हजार रुपैयाँ असुल गराउने निर्णय गर्दै कान्तिपुर राज्यसँग साँठगाँठ गर्न थालेपछि योगनरेन्द्र मल्ल भक्तपुरसँग निकै रिसाउन पुगे । वि.सं.१७६२ मा योग नरेन्द्र मल्लले भक्तपुर राज्यको “ओभु” किल्लामा आक्रमण गरे । तर उक्त किल्ला तोड्न नसक्दा त्यो सालको दसैँभरी चाँगुमा बसेर युद्ध सञ्चालन गरिरहे । यस्तैमा कुनै गुप्तचरबाट तमाखुमा विष प्रयोग गराई यिनको हत्या गरियो । यसरी वि.सं. १७६२ कार्तिक १६ गते राति योग नरेन्द्र मल्लको ३८ वर्षको अल्पायुमै अकाल मृत्यु भयो भनी उल्लेख गरिएको छ । योग नरेन्द्र मल्लको मृत्युपश्चात उनको ३१ वटा रानीहरु सती गएकोमा प्रायः सबै इतिहासकारहरुको मतैक्यता देखिन्छ । योग नरेद्र मल्लको सबै धर्म र सम्प्रदायमा समान आस्था र विश्वास थियो । यिनी मच्छिन्द्र नाथ, तलेजु, हरिसिद्धि, बज्रबाराही, पशुपति इत्यादि सबै देवतामा उत्तिकै भक्तिभाव राख्तथे । वि.सं. १७४८ मा यिनले रातो मच्छिन्द्रनाथको रथयात्राको शुभ मुहुर्त निकाल्न ज्योतिषीहरु बस्ने सोह्रखुट्टेपाटी मणिमण्डप निर्माण गर्न लगाएका थिए भने त्यहाँ शक्ति सहितको भैरवको मूर्ति स्थापना गरी कोटी होम गर्न लगाएका थिए । त्यस्तै फर्पिङमा चामुण्डाको मूर्ति प्रतिमा प्रतिष्ठान गर्दा आफैले देवीलाई सिंहासन चलाएका थिए । योग नरेन्द्र मल्लको पालादेखि नै कार्तिक नाचलाई एक महिनासम्म नचाउन थालियो भने भीमसेनले दुःशासनलाई मार्न लगाएको मूर्ति बनाउन लगाई मन्दिर बनाई मूर्तिमा प्राण प्रतिष्ठा गरेर जात्रा चलाउन लगाए । आफू जीवित छँदै आफ्नो मूर्ति र छोराको मूर्ति बनाउन लगाई नेपाल सम्वत् ८१३ माघ शुक्ल दशमी रविवारका दिनमा स्थापना गरे । यिनको धार्मिक भावना उजागर गर्न मुद्राहरुमा ‘लोकनाथ’, ‘तलेजु सहाय’ इत्यादि राखिएको छ । त्यस्तै यिनलाई ऐतिहासिक स्रोतहरुमा साहित्यकार, सङ्गीतकार र नृत्यकारका रुपमा चित्रित गरिएको छ । एक मुद्रामा यिनलाई ‘सङ्गीतार्णव पारंग’ अर्थात् संगीतमा परङ्गत भनी लेखिनुका साथै कीर्तिपुरको एक अभिलेखमा नीतिशास्त्र काव्य, व्याकरण, कोष, अलङ्कार, सङ्गीत आदिमा सिपालु भनी उल्लेख गरिएको छ । यिनी आफै ले आफूलाई ‘नेपाल चूडामणि’, ‘राजराजेश्वर’ आदि लेख्न लगाएका थिए । योग नरेन्द्र मल्लका ल्याइते र २४ ल्याइते गरी ३३ रानी रहे पनि यिनका २ जना छोराछोरी मात्र रहेका थिए । यिनको मृत्युपछि वैधानिक उत्तराधिकारी नहुँदा काजी तथा भारदारहरुको मनपरी शासनले गर्दा तत्कालिन पाटन राज्यमा अस्थिरता उत्पन्न हुन गयो ।
८ काजीहरुको शासनकाल :
राजा योग नरेन्द्र मल्लको अकालमा मृत्यु भएपछि ललितपुरको सम्पूर्ण राज्य त्यहाँका काजी/प्रधानहरुको हातमा प¥यो। आफ्ना हातमा राज्य आउनासाथ उनीहरुले आफ्ना विरोधीहरुलाई थुन्ने र मार्ने गर्न थाले । त्यसरी काजीहरुका अगाडि कसैले पनि उनीहरुको विरोधमा चूँ पनि गर्न नसक्ने स्थिति पैदा हुन गयो । योग नरेन्द्र मल्लकी छोरी योगमती पाटनको राजनीतिबाट टाढा भएपछि पाटनको दरबारका काजि तथा भारदार शक्तिशाली भएका थिए । ती भारदारहरु मध्ये पनि ६ जना राजनीतिमा बढी नै सक्रिय थिए । त्यसैले तिनीहरुलाई समग्रमा भन्नुपर्दा छ प्रधान भनिन्थ्यो । । त्यसरी राजा योग नरेन्द्र मल्लको अकाल मृत्यु पश्चात र उनको छोरी योगमतीको पाटनको राजनीतिबाट वहिर्गमन पश्चात पाटन राज्यका तत्कालिन काजी प्रधानहरुले नै राजा छनोट गर्ने र हटाउने सँगै शासनसत्तामा पनि प्रत्यक्ष हस्तक्षेप गर्न थाले । पाटन राज्यमा काजीको हातमा राज्य अधिकार पुगेपछिका राजाहरुको संक्षिप्त वर्णन निम्नानुसार गर्न सकिन्छ ।
८.१ लोक प्रकाश मल्ल
योग नरेन्द्र मल्लको मृत्युपछि उनको वैधानिक उत्तराधिकारी नहुँदा कसलाई राजा बनाउने भन्ने जटिल प्रश्न खडा भयो । त्यसबेला योग नरेन्द्र मल्लको छोरी योगमती सबभन्दा नजिकको राजगद्दीको हकदार थिइन । काजीहरुको एकमतले योगमतीको छोरा लोक प्रकाश मल्ललाई गद्दीमा राखी नेपाल सम्वत ८२६ कार्तिक कृष्ण एकादशीका दिन राज्याभिषेक गरी लोक प्रकाशलाई गद्दीमा राखी नेपाल सम्वत ८२६ कार्तिक कृष्ण एकादशीका दिन राज्याभिषेक गरी लोक प्रकाश मल्लको नामबाट मुद्रा पनि चलाए । पाटनको अस्थिर राजनीतिक स्थिति र नाबालकराजा लोक प्रकाश राजगद्दीमा बसेको देखेर पाटन राज्यलाई कान्तिपुरमा मिलाउने अभिप्रायका साथ राजमाता भुवनलक्ष्मी लोक प्रकाश मल्ल पाटन राज्यमा गइन । तर योगमती भुवनलक्ष्मीको फकाईमा फसिनन् र कान्तिपुरको षडयन्त्रपूर्ण जालसँग बच्न भक्तपुरसँग सहायता मागिन । त्यतिखेर पाटन र भक्तपुरको सम्बन्ध त्यति राम्रो नभए पनि सङ्कटको घडीमा सहायता गर्नु धर्म सम्झी भक्तपुरले पाटनलाई सहयोग ग¥यो । भक्तपुरको सहायताबाट पाटनका जनताले पाटन राज्यलाई नियन्त्रण गर्न खटिएका कान्तिपुरका मानिसहरुलाई आक्रमण गरे । त्यस आक्रमणमा थुपै कान्तिपुरेहरु हताहत भए भने कान्तिपुरकी राजमाता भुवन लक्ष्मी कैद परिन् । चार दिनपछि भुवन लक्ष्मीलाई कैद मुक्त गरियो ।
वि.सं. १७६२ मंसिर १ गते लोक प्रकाश मल्ल विधिवत रुपमा पाटनका राजा भए र नाबालक छोरालाई काखमा राखेर राजमाता योगमतीले शासन चलाउन थालिन् । तर राजा भएको १ वर्ष पनि नपुग्दै राजा लोक प्रकाशको विफर रोगबाट निधन भयो । लोकप्रकाश मल्ल पछि को राजा भए भन्ने बारेमा इतिहासकारहरुको मतभेद देखिन्छ । इतिहासकार बासु पासाले लोक प्रकाशको मृत्यु पछि जयइन्द्र राजा भए भनी उल्लेख गरेका छन् । इतिहासकार डिल्लीरमण रेग्मीले आफ्नो पुस्तक मध्यकालीन नेपाल भाग २ मा लोकप्रकाश मल्लपछि इन्द्र मल्ल राजा भए भन्ने उल्लेख गर्दछन् । त्यस्तै इतिहासकार श्रीराम प्रसाद उपाध्यायले पनि लोक प्रकाशको निधन पश्चात इन्द्रमल्ल पाटनको राजगद्दीमा गद्दीनसीन भएको उल्लेख गर्दछन् । यसरी जयइन्द्र र इन्द्र मल्ल एउटै व्यक्तिको नाम भएको अनुमान लगाउन सकिन्छ ।
८.२ जयइन्द्र/इन्द्र मल्ल
लोक प्रकाश मल्लको निधनपछि काजीहरुले योग नरेन्द्र मल्लका आफ्ना मानिस (भानिज) जयइन्द्र मल्ललाई गद्दीमा राखी ने.सं ८२९ मा जय इन्द्र नामक टक निकाले । जयइन्द्र वा इन्द्र मल्लको पालामा राजमाताको रुपमा योगमती नै सर्वेसर्वा थिइन । दुईवर्ष पाँच महिना शासन गरेपछि अकस्मात जय इन्द्र वा राजा इन्द्र मल्लको मृत्यु भयो । जयइन्द्र वा इन्द्र मल्लको शासनपछि शासन गर्ने राजा महेन्द्र सिंह हुन वा महीन्द्र मल्ल हुन भन्ने कुरामा पनि इतिहासकारहरुको मतैक्यता देखिँदैन । तर महेन्द्र सिंह वा महीन्द्र मल्ल योग नरेन्द्र मल्लको मठ्याहा छोरा हुन् भन्नेमा इतिहासकारहरु सहमत भएकाले महेन्द्र सिंह र महीन्द्र मल्ल एकै व्यक्ति भएका थाहा लाग्दछ ।
८.३ महेन्द्र सिंह वा महीन्द्र मल्ल
महेन्द्र सिंह वा महीन्द्र मल्ल योग नरेन्द्र मल्लका मठ्याहा छोरा हुन् भन्ने कुरामा इतिहासकारका बीच मतभिन्नता नभए पनि उनी तनहुँका थिए वा गोरखाका थिए भन्ने कुरामा भने मतभेद देखिन्छ । इतिहासकार वासु पासाका अनुसार जयइन्द्र मल्लको मृत्यु भएको खबर पाएपछि तनहुँका राजाले तनहुँमा जन्मेका महेन्द्र सिंहलाई ललितपुरका राजा बनाउनु नबनाए युद्ध गर्ने धम्की दिई महेन्द्र सिंह वा महीन्द्र मल्ललाई गद्दीमा राख्न लगाए भन्ने उल्लेख छ । त्यस्तै इतिहासकार श्रीरामप्रसाद उपाध्यायका अनुसार इन्द्र मल्लको निधनपछि योग नरेन्द्र मल्लका मठ्याहा छोरा महीन्द्र मल्ललाई गोरखाबाट झिकाएर पाटनको राजगद्दीमा राखियो । यसपटक पनि महीन्द्र मल्लको संरक्षिका भइ योगमतीले नै गर्न थालिन् । त्यो कुरा महीन्द्र मल्लकी आमा राजेश्वरीलाई मन परेन किनकी उनी आफै छोराको संरक्षक हुन चाहन्थिन् । त्यसले गर्दा दरबारमा गुटबन्दीको सुरुवात भई दरबार पक्ष र विपक्ष गरी दुई समूहमा विभाजित भयो । वि.सं.१७६६ आश्विन १ गते राजेश्वरी देवीले योगमतीलाई कैद गरी राजमाताको रुपमा शासन शुरु गरिन् ।वि.सं. १७६५ भाद्र ९ गते योगमतीका समर्थकहरुले दरबारमा हमला गरी राजेश्वरी देवीलाई कैद गरी योगमतीलाई कैद मुक्त गरेपछि राजा महीन्द्र मल्ल नौ महिना कान्तिपुरमा शरणार्थीका रुपमा रहे । यिनी कान्तिपुरबाट फर्केपछि पुनः राजा भए । महीन्द्र मल्लको शीतलाको विमारबाट मृत्यु भयो ।
८.४ वीर नरसिंह मल्ल
आफ्ना छोरा महीन्द्र मल्लको नायवी भई उनकी आमा राजेश्वरी देवीले शासन चलाउन थालेपछि योगमती पक्षका मानिसहरुले वीर नरसिंह मल्ललाई पाटनको राजा मानेर समानान्तर शासन चलाउन थाले । उनीहरुले योगमती र वीरनरसिंह मल्लको नाममा संयुक्त मुद्रा पनि चलाए । उनको बारे बाँकी कुरा त्यति उल्लेख भएको पाइँदैन ।
८.५ वीर महेन्द्र मल्ल
कुनै कुनै स्रोतहरुमा वीर नरसिंह मल्लपछि वीर महेन्द्र मल्लले वि.सं. १७०९ देखि १७१५ सम्म पाटनको शासन गरे भन्ने उल्लेख गरिए पनि उनको बारेमा विस्तृत कुराहरु इतिहासमा उल्लेख भएको देखिँदैन ।
८.६ ऋद्धिनरसिंह मल्ल
महीन्द्र मल्लको मृत्युपछि योग नरेन्द्र मल्लको भानिज रुद्रेन्द्र मल्लका छोरा ऋद्धि नरसिंह मल्ललाई पानको राजगद्दीमा राखियो । उनलाई वि.सं. १७७१ मा योगमतीले नै पाटनको राजा बनाएकी थिइन । राजा भएको करिब तिन वर्षपछि ऋद्धिनरसिंह मल्लको मृत्यु हुन पुग्यो । । ऋद्धिनरसिंह मल्लको मृत्युपछि पाटनको राजा को भए भन्नेमा इतिहासकारहरुको मत बाँझिएको पाइन्छ । कुनै इतिहासकारहरुले कान्तिपुरका राजा भाष्कर मल्ललाई पाटनको राजा बनाइयो भनेका छन् भने कुनै इतिहासकारले कान्तिपुरका राजाको दवाबमा महिपतिन्द्र मल्ललाई पाटनको राजा बनाइयो भन्ने उल्लेख गरेको पाइन्छ ।
८.७ भाष्कर मल्ल
राजा ऋद्धि नरसिंह मल्लको मृत्युपछि राजगद्दिको नजिकको हकदार कोही नभएपछि कान्तिपुरका राजा भाष्कर मल्ललाई नै पाटनको पनि राजा बनाइयो । करिब पाँच वर्ष भाष्कर मल्लले पाटनको शासन सम्हाले । भाष्कर मल्लको शासन अवधिमा पनि योगमतीको शासन सञ्चालनमा महत्वपूर्ण भूमिका थियो वा योगमती शक्तिशाली नै थिइन ।
८.८ महिपतिन्द्र मल्ल
इतिहासकार वासु पासाको अनुसार ऋद्धि नरसिंह मल्लको मृत्युपछि पाटनको राजा भाष्कर मल्ल नभै कान्तिपुरका राजाको दवाबमा महिपतिन्द्र मल्ललाई ललितपुरको राजसिंहासनमा वसालियो । तर यिनी पनि शासन सम्हालेको केही वर्षमा मर्न पुगे ।
८,९ योग प्रकाश मल्ल
महिपतिन्द्र मल्लको निधनपछि पाटनका काजीहरुले उनका छोरा योग प्रकाश मल्ललाई गद्दिमा राखे । उनको नाममा ने.सं ८४२ मा ‘योग प्रकाश’ अंकित मुद्रा पनि निकालियो । यो प्रकाश मल्लले कोटी होम र अन्य धार्मिक कार्यहरु गरे । तर यिनको पनि केही वर्षमा निधन भयो ।
८.१० विष्णु मल्ल
योग प्रकाश मल्लको मृत्युपछि पाटनका छ प्रधान/काजीहरुले राजा योग नरेन्द्र मल्लको भान्जी पुण्यवतीकी छोरा विष्णु मल्ललाई पाटनको राजा बनाए । विष्णु मल्ल कान्तिपुरका राजा जगज्जय मल्लका ज्वाई थिए । यिनको अग्रभागमा “श्री श्री श्री जयविष्णुदेव मल्ल”, “श्री श्री श्री लोकनाथ” र चाँदीको ३ आने मुद्राको अग्रभागमा ‘श्रीजय विष्णु मल्ल देव’ र अर्को चाँदीको सिक्काको अग्रभागमा ‘श्री विष्णु’ अंकित छ । विष्णु मल्लले वि.सं. १७८९ मा शंखमुलमा विष्णुको स्थापना गरी ने.सं. ८५७ मा इष्टदेवीलाई ठूलो घण्ट चढाएका थिए । ने.सं ८५७ माघ पञ्चमीमा मूलचोकको अगाडि ठूलो घण्टा र पशुपतिमा जलहरी अनि नेपाल सम्वत ८५५ मा बज्रबाराहीको मन्दिर जिर्णोद्वार गरी सुनको मोलमम भएको भैंसी चढाए । ने.सं. ८६५ श्रावण शुक्लका दिन विष्णु मल्लको मृत्यु नहुँदासम्म योगमती नै पाटन राज्यको शासनमा सक्रिय थिइन । योगमती पाटन राज्यको शासनबाट निष्कृय बनेपछि पाटन दरबारका काजि वा ६ प्रधानहरु झन सक्रिय बन्न थाले ।
८.११ राज्य प्रकाश मल्ल
विष्णु मल्ल निःसन्तान भएकाले विष्णु मल्लको मृत्युपछि वि.सं. १८०२ मा कान्तिपुरका राजा जयप्रकाश मल्लका भाई राज्य प्रकाश मल्ललाई पाटनको गद्दीमा राखे । आफ्ना दाजु जयप्रकाश मल्लको डरले आफ्नो ज्यान जोगाई भागेर राज्यप्रकाश मल्ल पाटनका राजा विष्णु मल्लको शरणमा आएका थिए । नरम, सरल स्वभाव, प्रजाका कुरामा साह्रै ध्यान राख्ने यिनी कान्तिपुरका राजा जगज्जय मल्लका छोरा थिए । कान्तिपुर दरबारभित्र यिनले समर्थन पाए पनि दाजु जयप्रकाश मल्लको कुटनीतिमा टिक्न नसकी यिनले पाटनमा शरण लिनु परेको थियो । यिनको विशेष समय पूजा पाठमै व्यतित हुन्थ्यो । यिनले फर्पिङ्ग नारायणमा पूजा चलाउनका लागि गुठी राख्नुका साथै चोभारमा चन्द्र विनायकको मन्दिरलाई राम्रोसँगै बनाई सुनको गजुर हालिदिए ।
गोरखाका राजा पृथ्वी नारायण शाहले नुवाकोट विजय गरी उपत्यकामा नाकाबन्दी गर्न लागेको देखेर राज्य प्रकाश मल्ल गोरखासँग मित्रता राख्ने प्रयासमा लागे तर यो प्रयास विफल भई तत्कालिन पाटन राज्य अन्तर्गत रहेको कीर्तिपुरमा पृथ्वीनारायण शाहले वि.सं. १८१४ जेठ १९ गते शनिश्चरवार पहिलो पल्ट आक्रमण गरे । तर कान्तिपुरका राजा जयप्रकाश मल्ल र पाटनका राजा राज्य प्रकाश मल्ल मिली गोरखालीहरुलाई हराए । राजा राज्य प्रकाश मल्लको धार्मिक कार्य तथा निमाण कार्यदेखि दुनियाँको आँखामा विश्वासको लहर लच्किँदै आयो जसले गर्दा काजीहरु त्रस्त भए र अर्कै राजाको खोजीमा लाग्न थाले । त्यस्तैमा सैनिकसँग झगडाको फाइदा उठाएर काजीहरुले राजा राज्य प्रकाश मल्लको दुवै आँखा फोडी दुवै आँखा कानो बनाइदिए । आँखाको शोकले दुःखी भई ने.सं. ८७८ आश्विन सुदीमा यिनका प्राणान्त भयो ।
८.१२ विश्वजीत मल्ल
राज्य प्रकाश मल्लको मृत्यु भएकै दिन प्रधान मध्येका शक्तिशाली प्रधान भिख्वाल धनकाजीले अठार वर्षका विश्वजित मल्ललाई पाटनको राजा बनाए । विश्वजित मल्ल विष्णु मल्लकी छोरीका छोरा थिए । उनलाई त्यस अघि नै दरबारभित्र डिठ्ठा दर्जामा भर्ना गरी भित्रै खुवाई पिलाई राखिएको थियो । विश्वजितलाई पाटनका काजिहरुले हातमा खेलाइरहेका थिए । विश्वजित राजा भएपछि उनीमाथि षड्यन्त्र रच्न शुरु गरियो । एक वंशावली अनुसार काजी कालिदासकी छोरी मैजुथकुको विवाह चाकु बहाल काजीको छोरासँग भएको थियो । तिनै मैजुथकुलाई राजा विश्जजितले विवाह गरे । त्यसै रिसमा राजा विश्वजितलाई मैजुथकुको श्रीमान् र सालो मिलेर तलेजुमा लगि काटेका थिए । अर्को एक भनाइ अनुसार विश्वजित मल्लको एक काजीको पत्निसँग विवाह गरेकाले त्यतिखेरको जार काट्ने चलन अनुसार उक्त प्रधानले विश्वजितलाई मारेका थिए । तर राज्यमा हैकम चलाउन र राजा फेर्न सिपालु छ प्रधानहरुले राजा विश्वजितलाई मिथ्या आरोप लगाइ मारेको हुन सक्ने समेत इतिहासकारहरुले अनुमान गर्दछन् ।
८.१३ जय प्रकाश मल्ल
आफ्ना भाइलाई आँखा फुटाएर मारेकाले जयप्रकाश मल्ल पाटनका प्रधानसँग अत्यन्त रिसाएका थिए । त्यसैले ६ प्रधानहरु जयप्रकाश मल्ललाई फकाएर पाटनको राजा वनाउन चाहन्थे । त्यस्तै विश्वजित मल्ललाई काटेको समयतिरै गोरखाको राजा पृथ्वी नारायण शाहले ललितपुर राज्य अन्तर्गतका केही गाउँहरु दखल गरेका थिए । त्यसैले पाटनको ६ प्रधानहरु पनि संकटमा परे । त्यसपछि प्रधान काजीहरुले जयप्रकाश मल्ललाई अनुरोध गरी पाटनका राजा बनाए । जय राजा जय प्रकाश मल्लको कडा स्वभावले ६ प्रधानसँग यिनको सम्बन्ध राम्रो हुन सकेन जय प्रकाश मल्ल पाटनको गद्दिमा बसेको डेढ वर्ष पछि टेकु दोभानमा नुहाउन गएको बखत प्रधानहरुले उनलाई लखेटिदिए ।
८.१४ रणजीत मल्ल
भादगाउकाँका राजा रणजित मल्ललाई राजा जयप्रकाश मल्लपछि पाटनको राजा बनाइयो । उनलाई राजा बनाएपछि उनको नाममा मुद्रा पनि निकालियो । तर राजा रणजीत मल्लले पाटनको समस्यामा भन्दा भक्तपुरकै समस्यामा ध्यान दिन थाले । त्यसलेगर्दा उनको ६ प्रधानहरुसँग मतभेद हुन थाल्यो । त्यस्तै रणजीत मल्लले अनेक प्रशासनिक सुधार गरेर प्रधानहरुको अनियन्त्रित क्रियाकलापमा नियन्त्रण गर्ने प्रयत्न गरे । रणजीत मल्लले जयप्रकाश मल्ललाई अपमानित गरेर बनाएको बदला लिन चाहन्थे । त्यस्तै कान्तिपुरका राजा जय प्रकाश मल्ल, रणजीत मल्ल र पाटन राज्यसँग र प्रधानहरुसँग रणजीत मल्ललाई पाटनको राजा बनाएकाले, कान्तिपुरबाट भागेका भाइ नरेन्द्र प्रकाश मल्ललाई शरण दिएकाले, नुन, तेल र कपासका लागि पाटन राज्यले गोर्खासँग सम्बन्ध राखेकाले, कान्तिपुर केही गाउँ भक्तपुरले हडपेकाले र आफू लाई लखेटी भक्तपुरका राजा रणजीत मल्ललाई पाटनको राजा बनाएकाले निकै रिसाएका थिए । यी यावत कारणहरुबाट क्रुद्धु भएका कान्तिपुरे राजा जय प्रकाश मल्ल कुनै हालतमा चुप नबस्ने देखि पाटनका ६ काजीहरुले राजा रणजीत मल्ल शंखमुलमा स्नान गर्न गएको मौका पारी १ वर्ष राज्य गर्दा नगर्दै शंखमुलबाटै भक्तपुरतिर लखेटि दिइ कान्तिपुरका राजा जयप्रकाश मल्ललाई पुनः राजा बनाए ।
८.१५ जयप्रकाश मल्ल
राजा रणजीत मल्ललाई भक्तपुर तिर धपाई कान्तिपुरका राजा जयप्रकाश मल्ललाई राजा बनाएपछि गोर्खाका राजा पृथ्वी नारायण शाहले उपत्यकामा आर्थिक संकट उत्पन्न गरिदिई चारैतर्फ विजय प्राप्त गर्दै गरेको देखि छ ।प्रधानहरुले राजा जयप्रकाश मल्ललाई हटाई पृथ्वी नारायण शाहलाई पाटनको राजा बनाउने विचार गर्न थाले र जय प्रकाश मल्ललाई लखेट्ने मौका हेर्न थाले । यो कुरा थाहा पाएर जय प्रकाश मल्लले आवश्यक सल्लाह गर्ने निहुँमा ६ प्रधानहरुलाई कान्तिपुर बोलाए । जय प्रकाश मल्ले ६ वटै प्रधानहरुलाई पक्रिई महिलाको फरियाका टुक्राले ६ वटै प्रधानका टाउकामा फेटा गुथाई (बाँधी) फरियानै ओढाएर ललितपुर शहर घुमाए । तिनीहरुका श्रीमतीहरुलाई पनि झुत्राझाम्रा कपडा लगाउन लगाई शहर घुमाइयो । अपमान महशुस गरी काजी भिख्याल धनकाजीले आत्महत्या गरे । । बाँकी ५ प्रधानहरुले राज भक्त हनुमान झै भै वफादारीसाथ नुनको सोझो चिनाउनेछौं भनी जयप्रकाश मल्ललाई माफी मागेको बिन्तिपत्र स्वीकारी जयप्रकाशले पाँचै जना काजीहरुलाई मुक्त गरे । तर तिनीहरुले पुनः षडयन्त्र शुरु गरी गोरखाका राजा पृथ्वीनारायण शाहलाई पाटनको राजा हुन निम्त्याए । उक्त कुरा राजा जय प्रकाश मल्लले थाहा पाई प्रतिकुल परिस्थिति देखि कान्तिपुर राज्यमा फर्के । गोरखाका राजा पृथ्वी नारायण शाहले आफू नआई भाई दलमर्दन शाहलाई पाटनको राजा बनाई पठाए । पाँच प्रधानहरुले सेतो फेटा बाँधी आफैले आफैलाई अविर हाली शहर घुमे ।
८.१६ दलमर्दन शाह
वि.सं.१८२० फागुन ९ गते दलमर्दन शाह पृथ्वीनारायण शाहको प्रतिनिधिको रुपमा पाटनको राजगद्दीमा बसे । यिनको सुरक्षामा पाटनका प्रधानहरुको एक एक जना पुत्र खुटाएको थियो पानमा रहँदा राजा दलमर्दन शाहले उपत्यकाको एक एक गतिविधि पृथ्वी नारायण शाहलाई जानकारी गराउँथे । पाँच प्रधानहरुले जय प्रकाश मल्ललाई धपाउन र जय प्रकाश मल्ल पाटन राज्य छाडेर कान्तिपुरमै जानमा आर्थिक कारण मुख्य थियो । किनकी पृथ्वी नारायण शाहले उपत्यकालाई चारैतिरबाट नाकाबन्दी गरिरहेका थिए । उनी पाटन मात्र नभै सम्पूर्ण उपत्यकालाई आफ्नो अधिनमा पार्न चाहन्थे । त्यही राजनीतिक उद्देश्यबाट निर्देशित भएर उनले उपत्यकाको चारैतिरका स्थानहरुमा अधिकार कायम गरी आर्थिक संकट पारिदिए । पाटनका प्रधानहरुले आफू लाई राजा बन्न निम्त्याए पछि उनले उपत्यकाको समग्र कुरा बुझन आफ्नाभाई दलमर्दन शाहलाई पाटनको राजा बनाई पठाए । पाटनका प्रधानहरुले दलमर्दन शाहको नाममा मुद्रा समेत निष्काशन गराएका थिए । काठमाडौं उपत्यकामा संकट पार्न पृथ्वीनारायण शाहले दैनिक उपभोग्य वस्तुहरु नुन, कपास, तेल आदि बन्द गराइसकेका थिए तर प्रधानहरुले दल मर्दनहरुलाई राजा बनाएपछि पाटनेहरुले दैनिक उपभोग्य वस्तुको संकट झेल्न नपर्ने अनुमान गरेका थिए । तर दलमर्दन शाहले हाल पृथ्वीनारायणको योजना अनुसार पाटने प्रधान र प्रजाहरुलाई दैनिक उपभोग्य वस्तुको निर्वाध निर्यातको लागि दाजु पृथ्वीनारायण शाहसँग कुरा गरी पहल गर्ने भनी आश्वासन दिँदै रहे तर व्यवहारिक रुपमा दैनिक उपभोग्य वस्तु निर्यात हुन सकेन । हुन त पाटन प्रधानहरुले राजा दलमर्दन शाहलाई उनका दाजु पृथ्वी नारायण शाहका विरुद्ध प्रयोग पनि गर्न खोजे तर त्यसमा सफल भने भएनन् । त्यस्तैमा वि.सं. १८२२ चैत्र ३ गते गोरखालीहरुले कीर्तिपुरमा बिजय गरे । कीर्तिपुर बिजयपछि राजा दलमर्दन शाह पाटनमा कैद गरिए । कैद गरिएको केही समयपछि दलमर्दन शाह भागेर दाजु पृथ्वीनारायण शाहसँग मिल्न गए ।
८.१७ तेज नरसिंह मल्ल
दल मर्दन शाहलाई कैद गरेपछि प्रधानहरुले पाटनका एक व्यापारी तेज नरसिंह मल्ललाई राजा बनाए । राजा तेज नरसिंह मल्ल राजा विश्वजित मल्लको सम्धि थिए । उनको नामबाट ने.सं. ८८८ मा मुद्रा पनि निकालियो । ने.सं. ८८८ मा उपत्यकामा एकै सालमा २४ पटक भूइचालोहरु गए । अर्कोतिर गोर्खा राज्यको नाकाबन्दीबाट सृजित नुन, तेल, कपासको हाहाकार कायमै थियो । रातको समयमा गोरखालीहरुले कान्तिपुरलाई तिन ठाउँबाट घेरी पृथ्वी नारायण शाह गद्दीमा बसेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल पाटनका राजा तेजनरसिंह मल्लको शरण पर्न पाटन गए । तर पाटनका पाँच प्रधानहरु पृथ्वी नारायण शाहसँग भित्र भित्रै पहिले नै मिलिसकेको थाहा पाई राजा तेजनरसिंह मल्ल र जय प्रकाश मल्ल त्यहाँबाट पनि भागी भक्तपुरका राजा रणजीत मल्लको शरण पर्न भक्तपुर गए । पाटनका एक प्रधान धनवन्त काजी पृथ्वी नारायण शाहसँग कीर्तिपुर बिजय गर्नु भन्दा अगाडि नै मिलिसकेका थिए भनी इतिहासकार श्रीरामप्रसाद उपाध्यायले उल्लेख गरेको पाइन्छ । पाटनका राजा तेज नरसिंह मल्ल कान्तिपुरका राजा जय प्रकाश मल्लसँग भागी भक्तपुरमा शरण लिन गएको भोलिपल्ट नै पाटनका पाँच प्रधानले पाटन ढोका वरिपरी बसी पृथ्वीनारायण शाह र गोरखाली सेनालाई स्वागत गरी पाटनमा भित्र्याए । तर पाटन ढोकाबाट भित्र पसि २०० कदम बढ्दा नबढ्दै पाटन नबहिलका ज्यापुहरुले पृथ्वीनारायण शाह र उनका फौजलाई छाना छानाबाट इटको टुक्राले प्रहार गर्न थाले । उक्त इट्टा प्रहारबाट छलाई जोगार्ई पाँच प्रधानहरुले पृथ्वी नारायण शाहलाई पाटन राज्यको सिंहासनमा राखी राजा घोषणा गरे । साथै ती प्रधानहरुले राजा पृथ्वी नारायण शाहको ललितपुरमा सिन्दुर यात्रा गराए । त्यसरी स्वतन्त्र पाटन राज्य गोरखा राज्यको अधिनमा परेपछि स्वतन्त्र पाटन राज्यको विधिवत अन्त्य/पतन हुन गयो । इतिहासकार, श्रीरामप्रसाद उपाध्यायका अनुसार लगभग पच्चिस वर्षसम्म मनपरी किसिमबाट शासन गरेर कानून र व्यवस्थालाई आफ्नो हातमा लिएर पाटनको स्वतन्त्र अस्तित्वलाई नामेट पार्न भूमिका खेलेकाले मल्ल वंशको पतन गराउनमा तत्कालिन प्रधानहरुलाई जिम्मेवार रहेका थिए । उनी थप्छन् प्रधानहरुले आफ्नो इच्छाअनुसार राजा फेर्ने, मार्ने शत्रुसँग मिल्ने, छोड्ने नगरेर राष्ट्रलाई सबल बनाउने काममा लागेको भए पाटन राज्यको पतन र दुर्दशा हुने थिएन ।” पाटन राज्यको उत्थान र पतनको इतिहासबाट आधुनिक समयको स्वतन्त्र राज्यहरुले पनि पाठ सिक्न सक्ने थुप्रै कुराहरु देखिन्छन् । त्यस्तै इतिहासकार पासाले पाटन राज्यको पतनको आन्तरिक पक्षबाट वर्तमान समयमा पनि जो कोहीले पाठ सिक्न सक्ने र सिक्नुपर्ने औल्याउँदै लेख्छन् “नेपालको इतिहासमा बेलाबेलामा स्वयम् राजकुमार र प्रधान अर्थात् प्रधानमन्त्रीहरु पनि (बाह्य शक्ति) सँग बिकेका छन् । यसको दृष्टान्त ठाउँ ठाउँमा भेटिएको छ ।
(लेखक इतिहास विषयको अध्ययता एवम् अधिवक्ता हुनुहुन्छ ।)
वि.सं.२०७७ भदौ २५ बिहीवार १६:५१ मा प्रकाशित






























