२८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिष्द नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।
एनसिसी नेदरल्याण्ड्सले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेको संघले जानकारी दिएको छ ।
उपाध्यक्ष लामाले सोही वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागिता रहेको थियो ।
चेक हस्तान्तरण गर्दै उपाध्यक्ष लामाले एनआरएनएले यो रकम पहिरो पीडितहरुको जीवीर्कोपार्जनमा खर्च गरियोस् भन्ने उद्देश्यले सहयोग हस्तान्तरण गरिएको बताउँदै यसअघि पनि यही आएर ५ लाख सहयोग गरेको उपाध्यक्ष लामाले बताए ।
उपाध्यक्ष लामाले एनआरएनए एनसिसी नेदरल्याण्ड्सको सराहनीय कार्यको प्रशंसा गर्दै वर्तमान कोभिड–१९ को विषम परिस्थितिमा पनि रकम संकलन गरि पठाएकोमा एनसिसी अध्यक्ष श्रीराम कँडेल लगायत सम्पूर्ण कार्यसमिति तथा सहयोग गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
वडाध्यक्ष प्रताप लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरि पठाउनुहुने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताए ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पु¥याउँदा १६७ भन्दा बढी मानीसहरु प्रभावित भएका छन् ।
वि.सं.२०७७ भदौ २८ आइतवार १०:२५ मा प्रकाशित






























