
छोराबुहारी यूके, अमेरिका छन्
छोरी ज्वाइँ अष्ट्रेलिया, जापान छन्
गाउँको घरमा ताल्चा लागेको छ
र बा आमा छतको कुनामा मिल्किएका छन्
नातीनातिना जन्मने बेला
‘आमा’ नामको शेयरको भाउ अकासिन्छ
र ‘तेल भिसा’ जारी हुन्छ ।
यसैले बाा मा अचेल बेलाबेला
उडिरहेका पनि देखिन्छन्
घण्टौ लामा ट्रान्जिटहरुमा
उँघ्दै गरेका पनि भेटिन्छन्
बा आमा
कहिले चौतारीका दौंतरी सम्झन्छन्
कहिले गोठ र पँधेरा सम्झन्छन्
मनमनै लेकबेसी गर्छन्
खोला तर्छन र मेला भर्छन्
प्लेनमा उड्दै गरेका अर्धनिद्रामा
ट्रान्जिटमा अड्किएको दिक्दारीमा
परदेशी भिडमा एक्लिएको बेला
बिरानो मध्यान्हमा अत्तालिएको बेला
बा आमा
कहिले चौतारीका दौंतरी सम्झन्छन्
कहिले गोठ र पँधेरा सम्झन्छन्
मनमनै लेकबेसी गर्छन्
खोला तर्छन र मेला भर्छन्
तर बाको एउटा गोडा चल्न छोडिसक्यो
आमाका आँखा धमिला धमिला भइसके
गाउँ पुग्न बाका गोडाले दिँदैनन्
शहर डुल्न आमाका आँखाले दिँदैनन्
अमेरिकाबाट चन्दा आएको छ
यूकेबाट चन्दा आएको छ
शहरमा नयाँ वृद्धाश्रम बन्दैछ
बाका दुइटै गोडा नचल्ने भइसक्दा
आमाका आँखा पूरै धमिलिइसक्दा
बजारको घर पनि ‘उतै’ बाट बिक्री भइसक्ने छ
र गाउँको घरलाई पनि झाडीले छोपिसक्ने छ
र त्यतिबेला
शायद वृद्धाश्रम पनि पूरै बनीसक्नेछ
वि.सं.२०७७ असोज १० शनिवार १०:०८ मा प्रकाशित




























