१३ असोज, काठमाडौं । यस वर्षको पद्मश्री साधना सम्मान पुरस्कार घोषणा गरिएको केही समयपछि रद्द गरिएको छ ।
खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान द्धरा २०६७ देखि नियमित रुपमा दिइँदै आएको पद्मश्री साधना सम्मान पुरस्कार रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।
केही दिन अघिमात्र समालोचक तथा उपन्यासकार संञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र लामो समयदेखि साहित्यमार्फत् समाज रुपान्तरणको अभियानमा लागेका साहित्यकार मोदनाथ प्रश्रितलाई यसवर्षको पद्मश्री पुरस्कार दिइने घोषणा गरेको प्रतिष्ठानले केही विवाद र असहज परिस्थिति आएपछि अचानक यसवर्षको पुरस्कार रद्द गरिनु परेको प्रेस विज्ञिप्त मार्फत् जानकारी दिएको छ ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानले सोमबार एक विज्ञप्ति जारी गर्दै पुरस्कृत घोषणा गरिएका दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले उनीहरुको इच्छालाई सम्मान गर्दै पूर्वघोषित पुरस्कारको घोषणा प्रतिष्ठानको सोमबार बसेको आकस्मिक बैठकले रद्द गर्ने घोषणा गरेको बताइएको छ ।
‘खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा वि.स.२०६३ सालदेखि प्रत्येक वर्ष कृतिका लागि अर्पण गरिँदै आएको पद्मश्री साहित्य पुरस्कार र वि.सं.२०६७ सालदेखि नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान यस वर्ष पनि मिति २०७७।०६।११ मा घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न गएको असहजताले हामी अत्यन्त दुःखी छौं, तर हाम्रो उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्Þयाउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रस्टा, साहित्यप्रेमी, तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान नेपाली साहित्यको प्रगति र उत्थानमा सदैव समर्पित रहने छ ।’
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष, हालका सल्लाहकार तथा साहित्यकार जीवा लामिछानेले आफ्ना बाबु–आमाको नाममा स्थापना गरेको ‘खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान’ ले साहित्यिक क्षेत्रमा उत्कृष्ठ योगदान दिएका साहित्यकार तथा लेखकहरुको सम्मानमा यो पुरस्कार वितरण गर्दै आएको थियो । पुरस्कारको राशि ३ लाख रुपैयाँ रहेको छ ।
यस्तो छ रद्द गरिनुका कारण
प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन दिइने यो पुरस्कार यसवर्ष पनि दुई दिन अगाडि प्रतिष्ठानले साहित्यकारद्धय उप्रेती र प्रश्रितलाई दिइने घोषणा गरिएको थियो ।
तर, घोषणा गरेको केही समयमै साहित्यकार उप्रेतीले प्रश्रितसँगै बसेर सम्मान नलिने संचारमाध्यममा बताएपछि यो पुरस्कार घोषणा विवादमा आएको थियो ।
उता प्रश्रितले पनि प्रतिष्ठानले पुरस्कार दिने घोषणा गरिसकेपछि अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी आफ्नो चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको भन्दै पुरस्कार नलिने निर्णय गरेको प्रेस वक्तव्य मार्फत् जनाएका थिए ।
उप्रेतीले प्रश्रितसँगै बसेर पुरस्कार नलिने र प्रश्रितले चरित्र हत्या गरिएको भन्दै पुरस्कार नलिने घोषणा गरेपछि प्रतिष्ठानले यसवर्षको पद्मश्री साधना सम्मान रद्द गरिएको जनाएको हो ।
वि.सं.२०७७ असोज १३ मंगलवार ०९:०९ मा प्रकाशित






























