
हाँगामा बसेको चरा हुरुरु उडेर गयो
चराउडे पछि
मैले पनि आफ्नो गुँड सम्झिए
उडेर पुग्न
पखेटा फट्फटाएँ
तर
हात पाखुरामा प्वाँखहरू थिएनन्
साइबेरियन चराले झैं
उडाएर पुर्याउन सकेन मलाई
आफ्नो जन्मभूमि
वरिपरि रेगिस्तानमा
बालुवाका पहाडहरू छन्
हेर्दा पिरामिड जस्तै देखिने बालुवाको थुप्रोमा
उभ्याउँछु सपनाहरू
तर
हावाको झोक्का आउँछ र उडाउँछ
अर्काे ठाउँमा थुपार्छ
देख्छु मरूभूमिमा परिवर्तनशील पहाडहरू
तर
सोचें जस्तै सहज छैन समयको परिवर्तन
मेरो लागि
बालुवामा सिंगो सागर तैरिए झैं
मध्यान्हको गर्मिमा देख्छु मृग तृष्णा
बोतलका केहि थोपा पानीले मेट्छु तिर्खा
पसिना पुछेर सुकाउँछु
आँखा र बिरह घामको रापमा
आँखा चिम्म गरेर फर्कन्छु गाउँमा
शरद ऋतुको समय
नजिकिदै छन् पर्वहरू
सबैको आँगनमा रमाइलो भित्रदै होला
तर
यस पटक पनि
फर्किन सकिन आमा
डालीमा बसेको चरा हेरेर सम्झदैछु
साँझमा बत्ती बालेर
टिका पर्खिरहेकी तिमीलाई
सम्झिरहेकोछु
सानेकी आमा तिमीलाई
आँगनमा नाचिरहेका बचेरालाई
यसपटक पनि दशैंमा
मुछ्न सकिन
दहिमा रातो टिका तिम्रो लागि ।
वि.सं.२०७७ असोज १७ शनिवार ०८:१२ मा प्रकाशित






























