
विदेश गएका श्रीमान उतै बेपत्ता भएपछि, अर्जुनको बाबु भने पनि आमा भने पनि उनै राधिका मात्र थिइन् । उसलाई जसोतसो गरेर राधिकाले १२ कक्षा सम्म पढाएकी थिइन् ।
‘आमा! आमा !! म उर्मिलालाई धेरै माया गर्छु । म उसैसँग बिहे गर्छु नि है !’
‘कहाँ हुन्छ ? उसले छोएको पानी चल्दैन । तँ क्षत्रीको छोरो, ऊ दलितकी छोरी ।’
‘दलितले बनाएको भाँडाकुँडा र औजारहरू प्रयोग गर्नु हुन्छ । उनीहरूले सिलाएको जुत्ता र कपडाहरू लगाउनु हुन्छ । उनीहरूले बनाएको गरगहना लगाउनु हुन्छ, मूर्तिहरू भगवान मानेर पूजा गर्नु हुन्छ । उनीहरूले छोएको पानी किन नचल्ने ?’ अर्जुनले प्रश्नै प्रश्नको वर्षा गर्यो ।
‘हेर बाबै ! ती सबै बस्तुहरू सुन पानी छर्केर शुद्ध बनाएर मात्र प्रयोग गरिन्छ नि । तँ त देख्नाको दाल, ढिंडोको काल मात्र भइस् । तेरो बुद्धि कहिले आउने खै ?’ राधिकाले दुखेसो पोखिन् ।
‘उसो भए उर्मिलालाई पनि सुन पानी छर्केर चोख्याउँला नि, आमा ! म उसलाई ल्याएर आउँछु है त !’ आमाको जवाफ कुर्दै नकुरी, ऊ उर्मिलाको घर तिर दौड्यो ।
वि.सं.२०७७ असोज १७ शनिवार ०८:४४ मा प्रकाशित






























